१२ पुस २०८१, शुक्रबार

गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम प्रसिद्ध धार्मिक तिर्थस्थल रुरुक्षेत्र


रुरुक्षेत्र

पृष्ठभूमि : हिन्दूहरुको पवित्र नदी कालीगण्डकीको किनारामा अबस्थित रुरुक्षेत्रको महिमा पुराण तथा शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । बराह पुराणमा रुरुक्षेत्रको पौराणिक इतिहासको बर्णन गरिएको छ भने स्वस्थानी कथामा पनि यसै स्थान (भिर्गुतुङेश्वर) मा सतीदेवीको दन्त पतन भएको उल्लेख गरिएको छ । त्यस्तै हिन्दू धार्मिक मान्यता अनुसार नेपालका चार धार्मिक क्षेत्रहरुमध्ये (रुरुक्षेत्र, बराहक्षेत्र, पाशुपतक्षेत्र र मुक्तीक्षेत्र) रुरुक्षेत्र पनि एक हो ।

परिचय

पौराणिक कालदेखि पवित्र तिर्थस्थलको रूपमा परिचित रुरुक्षेत्र (रिडी) गुल्मी, पाल्पा र स्याङ्जा ३ वटा जिल्लाको संगम स्थल हो । पश्चिम नेपालको ब्यापारीक राजधानी बुटवलदेखि करीब ७० किलोमिटर उत्तरमा अबस्थित यो क्षेत्र गुल्मी जिल्लाको मुलद्वार हो । यो सामुन्द्रिक सतहदेिख १८०० फीटको उचाइमा रहेको छ । चारैतिरबाट पहाडै पहाडले घेरी बिचमा समथर जमीन रहेकोले यसको प्राकृतिक बनावट उपत्यका जस्तो देखिन्छ । यो ठाउँलाई नेपालको बनारसको रुपमा पनि चिन्ने गरिन्छ ।

इतिहास

धेरै पहिलेदेखि नै यो ठाउँ उच्च पदस्त ब्यक्तित्वहरुको गन्तब्य रही आएको पाइन्छ । यहाँको इतिहासमा पाल्पाली राजा मणीमुकुन्द सेन, भिमसेन थापा, जंग बहादुर राणा लगायतका राजा महाराजाहरुको प्रमुख गन्तब्य रहेको पाइन्छ । नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाले यो ठाउँमा एउटा मन्दिर (सत्येश्वोर महादेव ) र पौवा (भिमसेन पौवा) बनाएका छन ।

त्यस्तै श्री ३ जुद्ध शम्शेर राणा यहाँ कल्पबास बस्न आएका थिए । त्यही कल्पबास बस्ने प्रयोजनका लागि उनले अर्गलीमा दरवार बनाएका थिए जुन अहिले पनि बिद्यमान छ । साथै यहाँ राजपरिवारको कुनै पनि सद्स्यको देहाबसानपछि तिनीहरुको अस्तु सेलाउने परम्परा समेत रहेको छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

बिदेशी बिद्वान पर्सिवल ल्यान्डनले ‘नेपाल’ नामक पुस्तकमा बनारसमा उपलब्ध सम्पूर्ण बिशेषताहरु रुरुक्षेत्रसँग मेल खाने भएकोले यसलाई बनारससँग तुलना गर्दै ‘नेपालको बनारस’ भनी टिप्पणी गरेका छन । हिन्दूहरुको लागि यो क्षेत्र पवित्र घाट पनि हो । त्यसैले देशका बिभिन्न भुभागहरुबाट मानिसहरु अन्त्येस्टी संस्कारका लागि यहाँ आउने गर्छन् ।

धार्मिक मान्यता अनुसार यस क्षेत्रमा देहत्याग गरीएमा मुक्ती पाइन्छ भन्ने विश्वाश रहेको छ । भगवान बिष्णुको प्रतिक मानिने शालीग्राम पनि यहाँ पाउन सकिन्छ । त्यसैले यो क्षेत्रलाई शालग्राम क्षेत्र पनि भन्ने गरिन्छ । यहाँ चक्र तथा बिभिन्न आक्रिती भएका दुर्लब शालिग्रामहरु पाइन्छ । बर्ष भरीमा यहाँ थुप्रै मेलाहरु लाग्ने गर्दछ ।

मुख्यत माघे संक्रान्ती तीन दिन र ह्रिषीकेश उत्सब २ दिन ठुलो मेला लाग्ने गर्दछ । साथै बर्षभरिको औंशी, पुर्णिमा, ग्रहण तथा बैशाख महिनाको प्रत्येक शनिबार मेला लाग्ने गर्दछ । करीब एक कोषिय परीधीमा रहेर पनि यहाँ करीब ४० भन्दा बढी देबालयहरु रहेका छन जो यस ठाउँको अर्को बिशेषता हो ।

यहाँ रहेका मन्दिरहरु मध्ये ह्रिषीकेश मन्दिर नेपालकै सुप्रशिद्ध मन्दिरहरु मध्येको एक मानिन्छ जुन बिश्व सम्पदा सुचीको लागि मनोनयमा समेत परेको छ । यस क्षेत्रमा पवित्र नदी कालिगन्डकीको बहाव, शालिग्रामको उपलब्धता तथा भगवान ह्रिषीकेशको बिराजमान हुनु जस्ता त्रैआयामिक बिशेषताहरुका कारण रुरुक्षेत्रले विशिष्ट किसिमको धार्मिक पहिचान बनाएको छ ।
रुरुक्षेत्रऐतिहासिक तथा पौराणिक मान्यताहरु

रुरुक्षेत्र यो ठाउँको पौराणिक नाम हो । यसलाई रिडी क्षेत्र पनि भन्ने गरिन्छ । रुरुक्षेत्र यसको नामाङ्कन कसरी भयो भन्ने बारेमा आज धेरै ब्यक्तीहरु बिच मतभेद रहेको पाइन्छ । रुरुक्षेत्र भन्ने नामको सन्दर्भमा रुरु अर्थात मृगले देवदत्त ऋषीकोपुत्रीलाई स्तनपान गराइ हुर्काएको कारणले तिनलाई रुरुकन्या भनियो। पछी तिनै कन्याले यहाँ कठोर तपस्या गरी मुक्ती पाएकोले यो ठाउँ उनै कन्याको नामबाट”रुरुक्षेत्र ” भनी चिनिन थाल्यो भन्ने मत पाइन्छ ।

‘रिडी’क्षेत्रको सन्दर्भमा रुरुक्षेत्र भन्ने शब्द अपभ्रंश भई ‘रिडी’ क्षेत्र बन्न गएको भन्ने मान्यता पाइन्छ । त्यसैगरी धार्मिक मान्यता अनुसार मानिस जन्मदै तीन वटा ऋण स् देव ऋण, पित्री ऋण र ऋषी ऋण लिएर आएको हुन्छ । जो ब्यक्ती हिमालयदेखि बग्दै आएको कालीगण्डकीको सँगम अर्थात दोभान (जुन रुरुक्षेत्रमा पर्छ) मा स्नान गर्छ सो ब्यक्तीको पाप पखालिन्छ भन्ने मान्यता रहेकोले यो स्थानलाई ऋणी भनिन थालियो पछी ऋणी भन्ने शब्द अपभ्रम्श भई ‘रिडी’ बन्न गएको भन्ने धारणा पाइन्छ । त्यस्तै अर्को मान्यता अनुसार ‘रिडी’ भन्ने शब्द मगर भाषाबाट आएको हो । मगर भाषामा ’री’ भन्नाले कालो तथा ‘डी’ भन्नाले पानी भन्ने अर्थ लाग्छ । अर्थात कालो पानी बग्नेक्षेत्र (काली गन्डकी ) भएकोले यसलाई ‘रिडी’ भनिएको हो भन्ने तर्क पाइन्छ ।

पौराणिक गाथा अनुसार धेरै समय पहिले रुरुक्षेत्रमा देवदत्त नाम गरेको एकजना ब्राम्हण बस्दथे। उनलेकालिगन्डकीको किनारमा आश्रम बनाइ तपस्या गर्नथाले। महात्माको तपस्या धेरैसमय सम्म चलिरह्यो । अत्यन्तै कठोर तपस्यामा लागेको देखेर देव्राज ईन्द्रसशंकित भई उनको तपस्या भङ्ग गर्नतर्फ लागे। सोही अनुरुप उनले देवदत्तको आश्रममा प्रह्मलोचा नामको अप्सरालाई तपस्या भङग गर्न पठाए ।

जब देवदत्तउनको ध्यानबाट उपरत भई केही समय यताउती घुम्न थाले तब उनले टाढैबाटभकुन्डो खेली राखेकी अत्यन्तै सुन्दरी प्रह्मालोचालाई देखे । अप्सराको हाउभाउ कटाक्षले मुनी मोहित भये। उनको सुन्दरताप्रतिबसि भुत भई विवाहको प्रस्ताब राखे र दुबै जना विवाह बन्धनमा बाँधीइ संसारिक सुखमा बिलिन भए । केही समयको अन्तरालपछि प्रह्मालोचाले एउटी कन्यालाई जन्म दिइन । ततपस्चात उनले आफ्नो उद्धेश्य पुरा भएको सम्झी ती कन्यालाई त्यही आश्रममा छाडेर स्वर्ग गइन ।

जब देवदत्तले यो कुराको वास्तविकतालाई बुझे तव उनी छाँगाबाट खसे झै भए। उनको हृदयमा तिब्र बैराग जागेर आयो ततपस्चात उनी उत्तरतिरको भ्रिगु आश्रमतिर लागे र भगवान शिवको कठोर तपस्या गर्न थाले । उनको तपस्यादेखि भगवान शिव प्रशन्न भई उनको सामु प्रकट भए र आशिर्बाद दिए ‘जसले गण्डकीको नदीमा स्नान गरी शिवलिङ्ग (भिर्गुतुङेश्वर) को दर्शन गर्ला उसले राम्रो योगफल तथा सिद्धि प्राप्त गर्नेछ’। यति भनी भगवान शिव अन्तरध्यान भए । देवदत्तले पनि शिवजीबाट आशिर्बाद पाइ आफु मुक्त भएको अनुभब गरे ।

प्रह्मालोचाबाट जन्मेकी कन्यालाई पछी मृगले दुध पिलाएर हुर्काए । संस्कृत भाषामा मृगलाई रुरु भनिन्छ । त्यही रुरुले दुध पिलाएर हुर्केकी कारणलेतिनको नाम रुरुकन्या रहनगयो। पछी उनले भगवान नारायणको कठोर तपस्या गर्न थालिन । उनको कठोर तपस्या देखी भगवान नारायण प्रशन्न हुनुभयो र उनकोसामु प्रकट भई बारदान माग्न भन्नु भयो । भगवानको यस्तो वाक्य सुनेर रुरुकन्याले बिन्ती गरिन “हे नाथ यदी मलाई बारदान दिनु हुन्छ भने यही चतुरवाहु श्रीनारायणको रुपले हजुर यही बिराजमान होइबक्सीयोस र मेरो नामबाट यो क्षेत्र प्रसिद्ध होस्” उनको यस्तो प्रार्थना सुनी भगवानले भन्नुभयो” अब उपरान्त यो ठाउँ रुरुक्षेत्र नामले प्रख्यात हुनेछ ।

यो क्षेत्रमा जसले स्नान गरेर तीन दिन यहाँरही चतुरबाहु ह्रिषीकेशको दर्शन गर्छन् त्यो पवित्र हुन्छ भनी भगवान अन्तरध्यान हुनुभयो । (त्यसैले ३ दिन माघे संक्रान्ती मेला लाग्ने गर्छ) । ति रुरुकन्या केही समय त्यही रहिन र पछी उनले देहत्याग गरिन रउनले मुक्ती पाइन । भगवानको आशिर्बादले गर्दा त्यो दिन देखी रुरुक्षेत्र पुण्य क्षेत्र बन्यो । यो क्षेत्र अत्यन्तै पवित्र भयो र रुरुकन्याको नामले रुरुक्षेत्र भनी हिन्दू जगतमा प्रसिद्ध भयो ।

प्राकृतिक सौन्दर्य

चारै तिरबाट पहाडै पहाडले घेरीइ वीचमा समथर जमीन रहेकोले यसको प्राकृतिक बनावट उपत्यका जस्तो देखिन्छ । मन्दिर, पाटी, पौवा तथा बगैचाहरुको निर्माणले यस ठाउँलाई ब्यबस्थित बनाउनुका साथै सौन्दर्यता थपेको छ ।

पर्यटकिय महत्व

धार्मिक पर्यटनको हिसावले प्रसस्त संभावना रहेको यस गाउँपालिकामा ऐतिहासिक महत्वपूर्ण धार्मिक स्थलहरु रहेका छन् । पवित्र काली गण्डकी नदी, ऋषिकेश मन्दिर, भ्रिगुतुन्गेश्वर मन्दिर, देवदत्त पार्कलगायत प्रसस्त मठ मन्दिर रहेको रुरु क्षेत्रमा माघे संक्रान्ति, कार्तिकको ठूली एकादशी ,वैशाखे संक्रान्ति लगायतका पर्वहरुमा श्रद्धालु भक्तजनहरुको भीड लाग्ने गर्दछ ।

ऋषि श्रीनागले तपस्या गरेको लेक गुफा भनेर चिनिने श्रीनागेश्वर तपोभूमि धाम पनि महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको छ । यँहा विषेस गरेर श्रावण औंसी र अन्य समयमा पनि भक्तजन र मनोरम दृश्य हेर्नेहरुको गन्तब्य स्थलको रुपमा रहेको छ ।

बम्घा कोटमा रहेको मन्दिर र रानीले काटेको भनेर चिनिने ढुंगा महत्वपूर्ण रहेका छन् । यो स्थान दृश्यावलोकनका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ । ग्वादीमा सिद्धबाबा, अचमेश्वरको मन्दिर तथा कृष्ण डाँडा गन्तब्य स्थलका रुपमा रहेका छन । थोर्गाको ऐतिहासिक थानपति मन्दिर दर्शन तथा उक्त मन्दिर रहेको स्थानबाट आसपासको मनोरम दृश्यावलोकनको लागि महत्वपूर्ण रहेको छ ।

पर्यटकीय सम्भावना

नेपालका चार धार्मिक क्षेत्रहरू (रुरुक्षेत्र, बराहक्षेत्र, पाशुपतक्षेत्र र मुक्तीक्षेत्र) मध्येको एकक्षेत्र रुरुक्षेत्र पनि हो । यो ठाउँलाई नेपालको बनारसको रूपमा पनि चिन्ने गरिन्छ । यहाको पर्यटकीय सम्भावना बलियो छ ।

कसरी पुग्ने ?

पक्की सडक, संचार, बिद्युत, होटल, शिक्षा तथा मनोरन्जन लगायतका सम्पूर्ण सुबिधाहरूले यो ठाउँ सुगम बनेको छ । बुटवलदेखि करीब ७० किलोमिटर उत्तरमा अबस्थित यो क्षेत्र गुल्मी जिल्लाको मुलद्वार हो । यहाँ सजिलै बुटवल र पोखरावाट पाल्पा हुदै पुग्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

श्रृङले ऋषिले तपस्या गरेको गुल्मीको ऐतिहासिक, पर्यटकीय तथा धार्मिक पुण्य तपोभूमि रेसुङ्गा

वाल्मीकि ऋषिले तपस्या गरेको नवलपुरको प्रसिद्ध धार्मिक स्थल दाउन्ने देवी मन्दिर

सत्ययुगमा सतीदेवीको गलापतन भएको म्याग्दीको धार्मिक तीर्थस्थल गलेश्वर मन्दिर

धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल बागलुङ कालिका भगवती मन्दिर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !