पृष्ठभूमि : ऐतिहासिक लोमान्थाङ दरबार करिब ७ सय वर्ष पुरानो मानिन्छ । सो दरबार १४ औं शताब्दीमा तत्कालीन राजा आङ्देन साङ्वो बिष्टको कार्यकालमा बनेको मानिन्छ । बेग्लै राजकीय परम्परा रहेको यहाँको राजसंस्थामा नेपालमा संघीय गणतान्त्रिक व्यवस्था लागू भएपनि यहाँका स्थानीयले पूर्व राजपरिवारलाई एक अभिभावकका रूपमा स्वीकार गरेको पाइन्छ ।
परिचय
लोमान्थाङ दरबार र गुफा क्षेत्र नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चल अन्तर्गतको मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिकामा अवस्थित छ । लोमान्थाङ मुस्ताङ जिल्लाको उत्तरी भागमा रहेको एक विशेष संरक्षण क्षेत्र हो । यसलाई नेपाल अन्तर्गत एक विशेष अधिराज्यको स्थान प्राप्त छ । यस क्षेत्रमा स्थानीय राजा छन्, जसलाई यहाँको प्रमुख मानिन्छ । लोमान्थाङ क्षेत्रका अन्तिम रजौटा जिग्मे दोर्जे पलवर विष्ट थिए ।
लोमान्थाङमा करीव दुई रोपनी ५ आना क्षेत्रफलमा १०८ कोेठे तथा ५ तले दरबार भएको दरबार मूलद्वार पूर्व मोहडा फर्किएको छ । लोमान्थाङमा धेरै ठाउँमा मानव बसोबास गर्ने गुफा छन् । ती निकै व्यवस्थित र वैज्ञानिक छन् । ती गुफा अग्लो पहाडमा छन् । प्राचीनकालमा सुरक्षाका हिसाबले बसोबासका लागि अग्लो ठाउँ रोजेको अनुमान गरिएको छ । एउटा गुफाभित्र विभिन्न तला छन् । तला चढ्न भयाङ प्रयोग र भयाङमाथि घोप्टेको प्रयोग गरिएको भेटिएको छ ।
धार्मिक तथा सांस्कृतिक महत्व
भौगोलिक हिसाबले तिब्बती पठार र माथिल्लो मुस्ताङको बनावट उस्तै-उस्तै छ । त्यतिमात्र होइन, उनीहरूबीच धर्म, भाषा, वेशभूषा, रहनसहन, संस्कार, संस्कृति आदि पनि मिल्दोजुल्दो छ भने पशुपालनजस्तै घोडा, याक, चौंरी, भेडा, च्याङ्ग्रा पाल्ने तरिका उही, खेती गर्ने तरिका उही छ । माथिल्लो मुस्ताङको तिब्बतभन्दा पृथक् पहिचान के छ भने, माथिल्लो मुस्ताङका विभिन्न स्थानमा प्राचीन गुफाहरू प्रशस्तै छन् ।
जहाँ प्राचीन समयमा मानव बस्ती रहेको भनी विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ । जुन पर्यटकहरूका लागि मात्रै नभएर पर्यटनमा आश्रित व्यवसायी र स्थानीय बासिन्दा एवं देशकै लागि पनि गर्व गर्न लायक कुरा हो । लो घ्याकरमा अवस्थित आजभन्दा १ हजार २ सय वर्ष पुरानो बौद्घ गुम्बाले पनि विदेशी पर्यटकका लागि कौतूहलता र आकर्षण थपेको छ ।
ऐतिहासिक महत्व
छैटौं शताब्दीका सभ्यताको संकेत दिने लोमान्थाङका गुफामा चैत्यहरू पनि फेला परे । अधिकांश पयर्टक गुफा पुग्छन् । गुफामाभित्र भाँडाकुँडा, लत्ताकपडा र धातुका सामग्री भेटिए । करिब २५ सय वर्षअगाडि हजगाभा भन्ने तिब्बतीयन समूहले पटक(पटक आक्रमण गर्न खोजेपछि गाउँलेले झोङ गुफा बनाएर बसोबास गरेको विश्वास गरिन्छ ।
पर्यटकिय महत्व
लोमान्थाङ दरबारको पर्खालमा पाँच कुना र बीचबीचमा नौ मिटरका अग्ला बुर्जा छन् । दरबारको पूर्व्तिर एउटा मात्र प्रवेश गेट छ । १५आंै शताब्दीतिर निर्माण भएका मोन्खर दरबार, थुप्तेन गुम्बा, छयोदेन गुम्बा, झयाम्पाल गुम्बा पर्यटकका लागि अध्ययनीय बन्छन् । स्थानीय भाषामा लोको अर्थ हृदय वा मन हो ।
मनको अर्थ कामना र थाङको अर्थ मैदान वा फाँट हुन्छ । त्यसैले मुस्ताङी राजाको प्रभाव जहाँसम्म हुन्छ, त्यस क्षेत्रलाई लोछोधेन भनिन्छ । तिब्बतमा रहेको साम्दे गुम्बा निर्माणक्रममा पटक–पटक भत्किएपछि गुरु पद्यसम्वाको सल्लाहअनुसार चराङको मराङ भन्ने गाउँमा लोध्याकर गुम्बा निर्माण गरिएको छ ।
पर्यटन प्रर्वद्धन
हिमालपारीको जिल्ला मुस्ताङको ऐतिहासिक तथा पर्यटकीय स्थल लोमान्थाङको पर्यटन प्रर्वद्धन गर्न समय समयमा महोत्सव हुने गरेका छन् । विश्व सम्पदामा सूचीकृत उपल्लो मुस्ताङको लोमान्थाङमा यातायातको पहुँच जोडिएकाले अपेक्षाअनुसार पर्यटक भित्रिने स्थानीयले विश्वास गरेका छन् ।
पर्यटकीय सम्भावना
विश्वकै उत्कृष्ट पदमार्ग अन्नपूर्ण फेरोको पदमार्गले पनि लोमान्थाङ पुग्ने पर्यटकहरूको संख्या बढाएको छ। लमजुङको सदरमुकाम बेंसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङको तिलिचो तालको अवलोकन गर्दै थोराङपास गरेर मुक्तिनाथ भएर पनि पर्यटकहरू लोमान्थाङ पुग्छन् । पदयात्राका सौखिनका लागि ५ हजार ४ सय १६ मिटरको थोराङ भन्ज्याङ पार गर्दा आफूलाई भाग्यमानी ठान्छन् ।
कसरी पुग्ने ?
पोखराबाट दुई दिनको सडक यात्राबाट पुग्न सकिन्छ । पहिलो दिन मुस्ताङको जोमसोममा बास बसेपछि दोस्रो दिन लोमान्थाङ पुग्न सकिन्छ ।