८ मंसिर २०८१, शनिबार

बन्दाबन्दीमा रोकिएन पोखरा विमानस्थलको काम


Pokhara_International_Airport

पोखरा, २८ वैशाख । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न सरकारले देशव्यापी बन्दाबन्दी (लकडाउन) गरेको छ । कोरोनाको यस कहरले सङ्घ, प्रदेश तथा स्थानीय सरकारका पूर्वाधार निर्माणका आयोजनासमेत प्रत्यक्षरुपमा प्रभावित भएका छन् । काममा आंशिक प्रभाव पारे पनि पोखरामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य भने यो विषम परिस्थितिमा पनि जारी नै छ ।

पर्यटनको राजधानी शहर पोखरालाई विश्वका अन्य शहरसँग सिधा हवाई सम्पर्क जोड्ने लक्ष्यसहित निर्माणाधीन विमानस्थलमा अहिले कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानदिँदै आवश्यक सम्पूर्ण सुरक्षाका उपाय अवलम्बन गरी जोखिम रोकथामसहित काम अघि बढाइएको हो ।

नेपाल सरकारले देशव्यापी आह्वान गरेको हालको बन्दाबन्दीका अवस्थामा समेत विमानस्थलको निर्माणमा १०० नेपाली र २५० चिनियाँ गरी ३५० जना कामदार दैनिक काममा खटिएका छन् । यसअघि विमानस्थल निर्माणमा २६२ नेपाली खटिएकामा १६२ जना मजदुर लकडाउनको एक÷दुई दिनअघि घर फर्किएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र चीनको चाइना सिएएमसी इन्जिनीयरिङ कम्पनीबीच सन् २०१४ मा पोखरा विमानस्थल निर्माणको सम्झौता भएको थियो । रु २२ अर्ब लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्नेगरी विसं २०७४ असार मसान्तदेखि विमानस्थलको काम शुरु भएको थियो ।

सम्झौताअनुसार इपिस (इन्जिनीयरिङ प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन (आइकायो) मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल निर्माण गर्ने सम्झौतामा भएको थियो । निर्माणाधीन आयोजनाको हालसम्म धावनमार्ग, आन्तरिक र बाह्य टर्मिनल भवन, ह्याङ्गर गरी ५७ प्रतिशत काम सम्पन्न भइसकेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले बताउनुभयो ।

उहाँका अनुसार मुख्यगरी अहिलेसम्म दुई हजार ५०० मिटर लामो र ४५ मिटर चौडाइको धावनमार्ग (रनवे) तयार भएको छ । नेपालमै पहिलो पटक ढलान प्रविधिबाट निर्माण गरिएको सो रनवेमा अहिले पनि आपत्कालीन अवस्थामा विमानलाई अवतरण गराउन सकिने बताइन्छ । रनवेसँगै, ह्याङ्गर, पार्किङ, ट्याक्सी वे तथा ड्रेनका काम सकिएको बताउँदै उहाँले विमानस्थलमा निर्माण गरिने विभिन्न १४ वटा भवनमध्ये हालसम्म अधिकांश भवनको ‘सिभिल वर्क’ को काम सम्पन्न भएको जानकारी दिनुभयो ।

विमानस्थलमा आइसोलेडेट पार्किङको ‘सववेश’ तथा भित्री पहुँचमार्ग निर्माण, सिँचाइका नाला निर्माण तथा सबै भवनको छाना छाउने काम र ‘हाइ मास्ट फ्लड लाइट’ र ट्रान्सफर्मर बक्स जडान सकिएको छ । विमानस्थलबाट बाहिर निस्कने प्रमुख सडक, कार पार्किङ र टर्मिनल भवनको वरिपरिको सडक पक्की गर्ने काम सकिएको छ ।

त्यसैगरी मुख्य टर्मिनल भवनमा स्टिल संरचनाको काम भइरहेको तथा अन्य भवनमा डेकोरेशन, फिनिसिङ र विद्युतीकरणको काम भइरहेको छ । पोखरा विमानस्थल निर्माण सम्पन्न भएपछि बोइङ ७५७ र एयरबस २१९ मोडलका न्यारोबडी विमानहरु मात्र अवतरण गर्न मिल्ने बताइएको छ । “अहिलेको विषम् परिस्थितिमा सुरक्षाका लागि एयरपोर्टलाई सम्पूर्ण हिसाबले वन्द गरेर निर्माण कार्य अघि बढाइरहेका छौँ”, आयोजना प्रमुख मुनकर्मीले भन्नुभयो, “लकडाउनका अवधिमा एक दिन पनि काम रोकिने अवस्था आएको छैन ।” उहाँले टर्मिनल भवन, एटिसी टावर तथा ह्याङ्गरलगायतका सबै १४ वटा भवनको कङ्क्रिट, स्टिल र स्ट्रक्चर तथा छाना छाउने काम तथा सबै भवनको रुफ स्लाबमा वाटर प्रुफिङको कामसमेत सकिएको जानकारी दिनुभयो ।

आयोजनाको सिभिलतर्फको अधिकांश काम सकिएकाले डेकोरेशन र अन्य उपकरण जडानलगायत काम बाँकी रहेको बताइन्छ । यसअघि विमानस्थल तोकिएको मितिभन्दा ६ महिनाअगावै निर्माण गरिसक्ने तयारी गरिएकामा जारी लकडाउनका कारणले काममा आंशिक प्रभाव परेको छ । धावनमार्गको ढलानपछि अङ्ग्रेजी नयाँ वर्ष मनाउन चीन गएका ४० जना चिनियाँ कामदार घर निर्माणस्थलमा फर्किन नसक्दासमेत मुख्य गरी पहुँचमार्ग, कार पार्किङलगायतको निर्माण कार्यमा असर परेको थियो । लकडाउनअघि पोखरा आएका चिनियाँ मजदुरले आफ्नो देशबाट स्वास्थ्य जाँचको सर्टिफिकेट तथा आयोजनामा फर्किएपछि समेत १४ दिन क्वारेन्टाइन बसेर स्वास्थ्य परीक्षणपछि उनीहरु काममा फर्किएका थिए ।

आयोजना निर्माणका लागि चीनबाट आउनुपर्ने सामग्री हाल कलकत्ता बन्दरगाहा तथा नेपाल÷चीन सीमा केरुङ तथा केही सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा रोकिँदा काम प्रभावित हुने अवस्था आएको आयोजना प्रमुख मुनकर्मी बताउनुहुन्छ । हाल निर्माणस्थलमा डेढ महिनालाई पुग्ने गरी सिमेन्टलगायत निर्माण सामग्री मौज्दात रहेको र सोही सामग्रीले हाल काम भइरहे पनि रोकिएका सामग्री नेपाल ल्याउन नसकेको खण्डमा विमानस्थलको काम रोकिने अवस्था आउनसक्ने उहाँको भनाइ छ ।

“यस आयोजनालाई निर्धारित समयभन्दा ६ महिनाअघि सम्पन्न गर्नेगरी हामीले कामको गति बढाएका थियौँ, तर अहिलेको अवस्थाले काम प्रभावित बनेको छ । अब हाम्रो प्रयास तोकिएको समयसीमाभित्रमा नै सम्पन्न गर्ने गरी लागेका छौँ, त्यहीअनुसार निर्माण कम्पनीलाई निर्देशन दिइएको छ ।” आयोजना प्रमुख मुनकर्मीले भन्नुभयो । विमानस्थलको अधिकांश सिभिलतर्फको काम सकिएको तथा डिजाइन र डेकोरेशनको काम बाँकी रहेकाले तोकिएको मितिभित्र निर्माण सम्पन्न गर्न सकिने आयोजनाको लक्ष्य रहेको छ ।

पछिल्लो पटक विमानस्थलका लागि अपुग थप १०४ रोपनी जमिन अधिग्रहणको तयारी गरिएको छ । जहाज अवतरणको सही दिशानिर्देशका लागि र कम ‘भिजिविलिटी’ मासमेत अवतरणमा सघाउ पु¥याउन अत्यावश्यक उपकरण राख्ने प्रयोजनका लागि थप जग्गा आवश्यक परेको बताइन्छ । विमानस्थल निर्माणका लागि साविक छिनेडाँडा हाल पोखरा–१४ मा विसं २०३२ मा तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो । आयोजनाको काम शुरु भएसँगै पहिलो चरणमा ५२१ रोपनी जमिन अधिग्रहण गरिएकामा पछिल्लोपटक थप १०४ रोपनी जमिन अधिग्रहण गर्न लागिएसँगै विमानस्थलले कूल तीन हजार ७२५ रोपनी क्षेत्रफल ओगट्ने छ ।

वर्षाैंसम्म चर्चामा रहँदै आए पनि लामो समय विमानस्थल निर्माणको काम अघि बढ्न सकेन । चार दशकसम्मसमेत काम शुरु नभएपछि पोखरेलीले निर्माण शुरु गर्न पटक÷पटक सरकारलाई दबाब दिएकामा विसं २०७४ असार मसान्तमा आएर बल्ल निर्माण कार्य शुरु भएको हो । विसं २०७३ वैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु उपस्थिति भएर विमानस्थल निर्माण कार्यको सामूहिक शिलान्यास गर्नुभएको थियो ।

विमानस्थलको काम निर्धारित समयसीमाभित्र सम्पन्न गर्नका लागि मुख्यगरी अहिलेको लडकाउन चुनौती रहेको आयोजनाले जनाएको छ । चीनबाट भारतको बाटो हुँदै आउनुपर्ने अधिकांश उपकरण तथा निर्माण सामग्री समयमै आपूर्ति गर्न नसकेको खण्डमा निर्माण कार्य प्रभावित हुने मुनकर्मीले बताउनुभयो ।

त्यसैगरी विमानस्थलको पूर्व दक्षिणतर्फको रिठेपानी डाँडा कटिङका लागि स्थानीयवासीले अग्रसरता देखाए पनि हालसम्म काम अघि नबढेकाले आयोजनाले पहल गर्ने उहाँको भनाइ छ । विमान अवतरणका लागि सो डाँडा बाधक रहेकाले कम्तीमा २५ मिटर कटान गर्नु आवश्यक रहेकाले त्यसका लागि नापी विभाग र वन कार्यालयसँग समन्वय भइरहेको बताइन्छ । “आयोजना निर्धारित समयभित्र सम्पन्न गर्नका लागि अहिलेको मुख्य चुनौती आवश्यक निर्माण सामग्रीको आपूर्ति नै रहेको छ । अहिले रोकिएका सामान लामो समय ल्याउन नसकिएमा समग्र आयोजना प्रभावित हुन सक्छ”, मुनकर्मीले भन्नुभयो ।

पर्यटकीय शहर पोखरामा निर्माणाधीन राष्ट्रिय गौरवको सो आयोजना निर्धारित समयभित्र सम्पन्न गर्नका लागि प्रदेश तथा स्थानीय सरकारले समेत निरन्तर चासो दिँदै आएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको समेत गौरवका रुपमा रहेको विमानस्थल समयमै सम्पन्न गर्नका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । जारी बन्दाबन्दीमा समेत निर्माण कार्य निरन्तर भइरहेकाले आगामी दिनमा समेत यसलाई सञ्चालन गर्न स्थानीयस्तरमा निर्माण सामग्री अभाव हुन नदिइने र भारत तथा चीनमा रोकिएका उपकरणलगायत निर्माण सामग्री ल्याउनका लागि सङ्घीय सरकारसँग पहल गरिने उहाँले जानकारी दिनुभयो ।

“विमानस्थल हाम्रो गौरव हो, निर्धारित समयसीमाभित्र सम्पूर्ण काम सम्पन्न गरेर पर्यटकीय शहर पोखरालाई अन्तर्राष्ट्रिय सिटीका रुपमा विकास गर्नका लागि आवश्यक सबैखालको सहयोग गर्न सरकार तत्पर छ”, मुख्यमन्त्री गुरुङले भन्नुभयो । कठिन अवस्थामा समेत विमानस्थल निर्माण कार्यले निरन्तरता पाएकामा यहाँका पर्यटन व्यवसायीसमेत उत्साहित छन् । विमानस्थल यहाँको पर्यटन प्रवद्र्धनको आधारशीलाका रुपमा व्यवसायीले लिएका छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल यसवर्ष मुख्य पर्यटकीय याममा कोरोनाले गर्दा पर्यटन व्यवसाय मारमा परे पनि आगामी दिनमा विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय शहरसँग पोखराको सम्पर्क विस्तारले पर्यटन व्यवसाय फस्टाउनेमा आशावादी हुनुहुन्छ । उहाँले भन्नुभयो, “पर्यटन व्यवसायको आधारशीलाका रुपमा रहेको विमानस्थल तोकिएको समयभित्र सम्पन्न गरी सञ्चालन गर्न सरकारले विशेष ध्यान दिनुपर्छ, निर्माणका क्रममा आउने चुनौतीलाई सरकारले समाधान गरी सहज बनाउनु आवश्यक छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !