दोलखा, १७ पुस । धार्मिक पर्यटनका लागि महत्वपूर्ण मानिएको दोलखाको भीमसेन मन्दिरमा व्यापारीको इष्टदेवताको रूपमा पूजा हुँदै आएको छ । काठमाडौँबाट करीब १४० किलोमिटर टाढा रहेको दोलखाको सदरमुकाम चरिकोटबाट चार किलोमिटर पूर्वतर्फ रहेको सो मन्दिरमा पूजा गरेमा व्यवासायिक रुपमा सफलता प्राप्त गर्ने मान्यता छ । प्राचीन समयमा व्यापार गर्दा वन्यजन्तु, चोर डाकाको डर हुने हुँदा भीमसेनलाई स्मरण गरेमा भयमुक्त हुने जनविश्वास छ ।
व्यवसाय गर्दा बाधा, अवरोध, विभिन्न प्रकारका सङ्कटबाटमुक्त भई व्यवसाय सञ्चालन गरेमा नाफा प्राप्त हुने आशाकासाथ व्यापारीले भीमसेनलाई इष्टदेवको रूपमा मानेका हुन् । सर्वसाधारणले भीमसेनको सामान्यदेखि ठूला ठूला पञ्चबलिका पूजासमेत गर्ने गरेका छन् । शिवशक्तिको रूपमा उक्त मन्दिरमा भैरव, भीमेश्वर, भीमसेनको पूजा गर्ने प्रचलन छ ।
शिवलाई महादेवका अर्को नामले चिनिन्छ भने भीमसेनलाई भैरवको रूपमा पशुबलिसमेत दिइन्छ । भीमसेन मूर्तिमा शिवशक्तिको रुपमा रुद्रीपूजासमेत गरिन्छ भने मनोकाङ्क्षा पूरा हुने विश्वासले बलि दिइन्छ । दोलखा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेकाअनुसार प्राचीन मन्दिर धार्मिक पर्यटनको विकासका लागि महत्वपूर्ण रहेकाले यसको ऐतिहासिक पक्षलाई संरक्षण गर्न र आसापास क्षेत्रमा पूर्वाधार विकासका लागि प्रयास भइरहेको बताउनुभयो ।
भीमेश्वर नगरपालिकामा रहेको भीमसेनको मूर्ति कहिले कसरी स्थापना गरिएको हो भन्नेबारे प्रष्ट आधार फेला परेको छैन् । किराँतकालीन समयमा स्थापना भएको अनुमान गरिएको छ । चिटिक्क परेको उक्त मूर्ति चिल्लो खरीको प्रस्तरबाट बनेकाले आकर्षित देखिन्छ । यसको विशेषता भनेको मुलुकमा विपत् आउन लागेको समयमा पूर्व सूचनाका रुपमा लिइएको छ । मूर्तिमा पसिना आएपछि विशेष प्रकारको पूजा गर्ने परम्परा छ ।
विसं १९९०, १९९७, २००७, २०१७, २०३६, २०४६ र २०५७ सालमा मूर्तिमा पसिना आएको बताइएको छ । पसिना आएका यी वर्षमा देशमा प्राकृतिक विपत्, राजनीतिक परिवर्तन, दरबार हत्या काण्डजस्ता घट्ना भएकाले पनि पसिनाको सूचना प्राप्त भएपछि विभिन्न प्रकारका पूजा गरी विपतलाई न्यूनीकरण गर्ने चलन छ । विभिन्न समयमा सम्पन्न मानिसले मन्दिरको नाममा नगद, गरगहना, जग्गा जमीन चढाएर गुठी स्थापना गरेको मन्दिरमा दशै, शिवरात्री, जनैपूर्णिमा, भीम एकादशीमा मेला लाग्ने गर्दछ भने कात्तिकमा मूर्तिको महास्नान गरिन्छ ।
हिन्दू धर्मशास्त्रमा रामायण र महाभारतको विषयवस्तुलाई समेटेर तयार गरिएको ग्रन्थलाई ठूलो धार्मिक विश्वास र मान्यता दिइएको छ । त्यसमध्ये महाभारतकालीन समयका महत्वपूर्ण पात्रकारुपमा भीमसेनलाई लिइएको छ । महाभारतको युद्धमा पाण्डुका दोस्रो सन्तानका रुपमा उदय भएका भीमसेनले सामाजिक समानता, न्याय कायम गर्न अन्यायका विरुद्ध युद्ध गरी पाण्डव पक्षलाई विजय बनाउन निर्णायक भूमिका निर्वाह गरेको थियो । त्यसपछि नै भीमसेनको मूर्ति स्थापना गरिएको अनुमान छ । उक्त स्थानमा भीमसेनको मूतिसँगै कुन्ति, द्रौपति, नहकुल र सहदेवको मूर्ति छ । युधिष्ठीर र अर्जुनको मूर्ति राखिएको छैन् । पाँच पाण्डव एकवर्ष गुप्तवास बस्ने समयमा मन्दिरको नजिकै बसेर गौरीशङ्करको प्राथना गरेको किम्बदन्ती पाइन्छ ।
तत्कालीन समयमा पाँच पाण्डवले प्रयोग गर्ने साङ्केतिक भाषापछि दोलखाका नेवार समुदायले बोल्ने गरेको स्थानीयवासी विश्वास गर्छन् । देशका विभिन्न स्थानमा रहेका नेवार समुदायले बोल्ने नेवारी भाषा अर्को स्थानमा केही फरक पाइन्छ । भीमेश्वर मन्दिर ऐतिहासिक, सांस्कृितक, धार्मिक तथा पुरातात्विक रुपमा महत्वपूर्ण रहेकाले यसको स्थापनाका विषयमा थप अध्ययन र अनुसन्धानको जरुरी छ । प्रदेश नं ३ मा पर्ने यस क्षेत्रमा रहेका प्राचीन संस्कृति, ऐतिहासिक विविधता, सम्पदास्थल, धार्मिकस्थलका साथै नयाँ पर्यटकीय गन्तव्य क्षेत्रमा प्रदेश सरकारले हालै सञ्चारकर्मीलाई स्थलगत अवलोकन भ्रमण गराएको थियो । भीमसेन मन्दिरकासाथै कालीञ्चोक मन्दिर पनि धार्मिक पर्यटनका महत्वपूर्ण गन्तव्यका रुपमा विकास हुने सम्भावना देखिएको छ ।