९ पुस २०८१, मंगलबार

भारत, भूटान र बङ्गलादेशका नागरिकलाई भ्रमणको निम्तो


भ्रमण वर्ष

भद्रपुर, १३ पुस । भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनाराययण अर्यालले नेपाल भ्रमण वर्ष २०२० मा नेपालको भ्रमण गर्न भारत, भूटान र बङ्गलादेशका नागरिकलाई आह्वान गर्नुभएको छ ।

भारतीय उद्योग परिसंघले पश्चिम बङ्गालको सिलिगुडीमा शनिबार आयोजना गरेको सातौं उत्तर बङ्गाल सम्मेलनको उद्घाटन सभामा महावाणिज्यदूत अर्यालले संसारकै दश उत्कृष्ट गन्तव्यस्थलमा परेको नेपालको प्राकृतिक र सांस्कृतिक सौन्दर्य हेर्न नेपाल भ्रमणमा जान छिमेकी मुलुकका नागरिकलाई अनुरोध गर्नुभएको हो ।

पश्चिम बङ्गालका पर्यटनमन्त्री गौतम देवको उपस्थितिमा भएको सम्मेलनमा नेपाल, भूटान र बङ्गलादेशका उद्योग तथा पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाका उच्च तहका प्रतिनिधि सहभागी थिए । महावाणिज्यदूत अर्यालले नेपाल, भारत, भूटान र बङ्गलादेशले पर्यटन र व्यापारमा सहकार्य गरेर साझा उपलब्धि र आर्थिक समृद्धि हासिल गर्न सक्ने धारणा व्यक्त गर्नुभएको छ ।

उहाँले काँकडभिट्टा र पशुपतिनगर नाकामा नेपालले उच्च सुविधा र प्रविधियुक्त अध्यागमन कार्यालय सञ्चालन गरिसकेको उल्लेख गर्दै सोहीस्तरको अध्यागमन कार्यालय भारतीय नाकामा स्थापना गर्न आग्रह गर्नुभयो ।

पश्चिम बङ्गालका पर्यटनमन्त्री देवले नेपाल र भारत एउटै हिमशृङ्खला र संस्कृति भएका मुलुक भएको हुँदा पर्यटनका साझा लक्ष्य पहिल्याउँदै आर्थिक विकासलाई तीव्र बनाउन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं-१ का पर्यटकीय गन्तव्यको वृत्तचित्र प्रस्तुत गरिएको थियो भने पश्चिम बङ्गालका पर्यटनमन्त्री देवलगायतका भूटान र बङ्गलादेशका प्रतिनिधिलाई नेपाल भ्रमण वर्ष २०२० को लोगो अङ्कित पिन र पर्चा वितरण गरिएको थियो ।

कोलकातास्थित बङ्गलादेशी महावाणिज्यदूत मोहम्मद शमसुल अरिफ, पश्चिम बङ्गाल राज्य सरकारकी पर्यटन सचिव श्रीमती शान्ता प्रधान, कोलकातास्थित नेपाली सह–महावाणिज्यदूत तर्कराज भट्ट, पर्यटन अभियन्ता राज वसुलगायतले एशियाली राजमार्गको निर्माणले नेपाल, भारत, भूटान र बङ्गलादेशले आपसी व्यापार र पर्यटनमा लाभ उठाउने धारणा व्यक्त गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !