८ पुस २०८१, सोमबार

जोमसोम मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार


पोखरा, २६ साउन । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले हिमालपारिको जिल्ला मुस्ताङस्थित जोमसोम मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ ।

वर्षेनी ठूलो सङ्ख्यामा स्वदेशीका साथै भारतीय दर्शनार्थीको चाप लाग्ने मुक्तिनाथमा रानीपौवादेखि मन्दिरसम्म पुग्ने बाटोमा कमजोर शारीरिक अवस्था भएका जोकोही तीर्थयात्री पुग्न सकुन् भन्ने उद्देश्यका साथ अपाङ्गमैत्री पदयात्रा मार्ग बनाउने तयारी गरिएको हो ।

मन्दिरसम्मको अपाङ्गमैत्री पदमार्ग निर्माणका लागि बारागुङ मुक्तिक्षेत्रका प्रमुख एवं पदाधिकारीसँग छलफल एवं अन्तक्र्रिया गर्दै त्यसबारे सम्भाव्यता अध्ययन गरिने बोर्डका पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले जानकारी दिनुभयो ।

बोर्डले मुक्तिनाथ दर्शनका क्रममा तर्पण एवं श्राद्ध गरिने स्थल कागबेनीमा पनि यसै आर्थिक वर्षमा स्नानपछि कपडा परिवर्तन गर्ने कक्ष (चेन्जिङ रुम) का साथै पूजा सामग्री राख्ने भवन निर्माण गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।

यार्तुङ महोत्सवसहित पर्यटकीयस्थलको प्रवद्र्धन

यसैगरी पर्यटन बोर्डले बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको रानीपौवामा हुने ऐतिहासिक यार्तुङ महोत्सवसहित त्यहाँका पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने भएको छ । यही सोमबारदेखि रानीपौवामा हुने यार्तुङ महोत्सव एवं घरपझोङ गाउँपालिकामा पर्ने ढुम्बाताल, ऐतिहासिक ठिनीगाउँ र त्यहाँ सञ्चालित घरवासलगायतको प्रवद्र्धन गर्न लागिएको प्रबन्धक थपलियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बोर्डका प्रतिनिधिसहित विभिन्न सञ्चारकर्मीको टोलीले महोत्सव एवं त्यहाँस्थित पर्यटकीयस्थलको आइतबारदेखि स्थलगत अवलोकन गर्नेछ । उक्त क्रममा ऐतिहासिक ठिनी र ढुम्बातालको समग्र पर्यटकीय विकासका लागि घरपजोङ गाउँपालिकाका प्रमुख एवं पदाधिकारी र सरोकारवालाबीच छलफल गरिनेछ ।

प्रवद्र्धनात्मक भ्रमणकै क्रममा ठिनी हुँदै तिलिचो जाने पदमार्गको विद्यमान अवस्था एवं सुधारका आवश्यकता सम्बन्धमा पनि जानकारी लिइने उहाँले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !