२१ कार्तिक २०८१, बुधबार

लुम्बिनी भ्रमण वर्षको पोखरामा निम्तो


पोखरा, २४ वैशाख । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँः शान्तिको सन्देश फैलाऔँ’ भन्ने नारासाथ प्रदेश नं ५ को ‘उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा आज पोखरामा लुम्बिनी भ्रमण वर्ष’ विषयक अन्तक्र्रिया गरिएको छ ।

प्रदेश सरकार प्रदेश नं ५ ले बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित बौद्धस्थललाई आकर्षक गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यका साथ लुम्बिनी भ्रमण वर्ष– २०७६ आयोजना गरिएको उक्त अवसरमा जानकारी गराइयो । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले धार्मिक पर्यटनका विविध सम्भावना बोकेको लुम्बिनीको समग्र विकास एवंं प्रवद्र्धनमा लुम्बिनी भ्रमण वर्षले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पर्यटकीयक्षेत्र लुम्बिनी र पोखरालाई जोड्नुपर्ने बताउँदै उहाँले यसका लागि सडक एवं हवाई यातायात सेवालाई प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो । प्रदेश नं ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेलले पोखरा र लुम्बिनीबीचको पर्यटकीय अन्तरसम्बन्ध बढाउन आफूहरू प्रतिबद्ध भएको बताउनुभयो ।

लुम्बिनी भ्रमण वर्षलाई लक्ष्य गरी मन्त्रालयले पर्यटक गाइड तालीमको योजना अघि बढाएको जानकारी दिँदै उहाँले तत्काल १०० जनालाई तालीम दिइने उल्लेख गर्नुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले लुम्बिनीमा पर्यटकको सजिलो हुने गरी बाटो निर्माणका साथै पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

पर्यटन विज्ञ वासु त्रिपाठीले लुम्बिनी र सगरमाथा नेपाललाई अन्तर्राष्ट्रियरुपमा परिचय गराउने महत्वपूर्ण स्थल भएको बताउनुभयो । पोखरा र लुम्बिनीबीचको यातायात सेवा प्रभावकारी बनाउनुपर्नेमा उहाँको जोड थियो । लुम्बिनी भ्रमण वर्ष– २०७६ का प्रचारप्रचार उपसमिति संयोजक भरत केसीले भ्रमण वर्ष सम्बन्धमा जानकारी दिने उद्देश्यका साथ पोखरामा अन्तक्र्रिया गरिएको जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !