
सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी तीब्र पारिएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल डाक्टर’को दश जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले जनाएको छ ।
एसपीसीसीको व्यवस्थापनमा खुम्बु आइसफल क्षेत्रको बाटो निर्माण तथा मर्मतको काम गरिँदै आएको अध्यक्ष लामाकाजी शेर्पाले बताए । उनका अनुसार वसन्त ऋतु हिमाल आरोहणका लागि सबैभन्दा अनुकूल समय भएकाले अनुभवी ‘आइसफल डाक्टर’ टोली आवश्यक उपकरण तथा सामग्रीसहित नाम्चेबाट आधार शिविरतर्फअघि बढेको छ ।
टोलीमा आधार शिविर व्यवस्थापक छिरिङतेन्जिङ शेर्पासहित आठजना अनुभवी ‘आइसफल डाक्टर’ छन् । दुईटा छुट्टा–छुट्टै टोली गठन गरिएको छ, जसको नेतृत्व आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाले गरेका छन् ।
टोलीमा दाबानुरु शेर्पा, निमतेन्जी शेर्पा, मिङ्माग्याल्जेन शेर्पा, दाबाछिरी शेर्पा, लाक्पासोना शेर्पा र तेन्डु शेर्पा रहेका छन् । सन् १९९७ देखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले एसपिसिसीलाई खुम्बु आइसफल मार्ग निर्माण तथा मर्मतको जिम्मेवारी दिँदै आएको छ । हिमाल आरोहण मार्ग बनाउन अत्यन्त जोखिमपूर्ण मानिन्छ ।
खुम्बु आइसफल क्षेत्र सबैभन्दा खतरनाक भागहरूमध्ये एक हो, जहाँ हिउँको विशाल ढिस्को, भ्वाङ, अनि हिमपहिरोको खतरा रहन्छ । टोलीले सगरमाथाको दोस्रो आधार शिविरसम्म जाने बाटो निर्माण गर्नुपर्ने हुन्छ, जसका लागि डोरी टाँग्ने, जोखिमपूर्ण स्थानमा भर्याङ राख्ने, हिउँ तथा बरफको अस्थिर संरचनाहरूलाई स्थिर बनाउनेजस्ता कार्य गर्नुपर्ने हुन्छ ।
यसैबीच, सगरमाथा आरोहणको मार्ग निर्माण कार्य परम्परागत विधि तथा साइत हेराइ पूरा गरेपछि मात्र अघि बढाइने गरिएको छ । एसपिसिसीका अनुसार आरोहण मार्ग निर्माण कार्य सुरु गर्न बौद्ध परम्पराअनुसार विशेष पूजा गरिन्छ । यस क्रममा स्थानीय लामा गुरुहरूले पूजाआजा गरी पर्वत देवतालाई खुसी पार्ने प्रयास गर्छन् । पर्वत देवताको कृपा प्राप्त गरेपछि मात्र आइसफल क्षेत्रजस्तो जोखिमयुक्त क्षेत्रमा पाइला राख्ने चलन रहेको अध्यक्ष शेर्पाले बताए ।
मार्ग निर्माणअघि बढाउन परम्परागत विधिअनुसार साइत हेरिन्छ । त्यसपछि मात्रै बाटो निर्माणको काम अगाडि बढाइन्छ । अध्यक्ष शेर्पाअनुसार यस विधिले आरोहीहरूको सुरक्षालाई सुनिश्चित गर्ने विश्वास रहँदै आएको छ । दोस्रो आधार शिविरसम्मको बाटो बनाउन झन्डै २० दिन लाग्ने अनुमान गरिएको छ तर मौसम प्रतिकूल भएमा यो अवधि लम्बिनसक्ने अनुमान गरिएको छ । आधार शिविरदेखि माथिल्लो भागसम्मको बाटो बनिसकेपछि मात्र व्यावसायिक आरोही टोलीहरूलाई आरोहणको अनुमति दिइनेछ ।