२३ भाद्र २०८१, आइतबार

इन्जिन फेल भएर आगलागी भएको फ्लाइ दुबईको विमानलाई दिल्लीमा अवतरण गराइने तयारी


फ्लाइ दुबई

काठमाडौं । इन्जिन फेल भएर आगलागी भएको भनिएको फ्लाइ दुबईको विमानलाई भारतको नयाँ दिल्लीमा अवतरण गराइने तयारी गरिएको छ । उक्त जहाजले नेपाल पार गरिसकेको छ ।

काठमाडौंबाट दुबई जान लागेको फ्लाई दुबईको विमानमा उड्नेवित्तिकै अस्वभाविक आवाज आएपछि विमानलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने तयारी गरिएतापनि पाइलटले उक्त विमान गन्तव्यतर्फ नै लागेका थिए ।

काठमाडौं आउन लागेका आन्तरिक र अन्तर्राष्ट्रिय उडान भने डाइभर्ड गरिएको विमानस्थल स्रोतले जनाएको थियो । उक्त विमानमा १६८ जना यात्रु र चालक दलका सदस्य गरी १७५ जना रहेका थिए ।

उक्त विमानलाई धर्दिङ जिल्लामाथि २८ हजार फिटमा केही समय होल्ड गरिएको थियो । तर उक्त विमानलाई होल्ड गरेर पाइलटले अवस्था जाँच गर्दा सामान्य अवस्था रहेकोले उक्त विमान गन्तव्यतर्फ नै गएको नागरिक उड्डयन प्राधिकरण स्रोतले जनाएको छ ।

उक्त विमानलाई पाइलटले मर्मतका लागि भारतको नयाँ दिल्लीमा अवतरण गराउन लागेका हुन् । पाइलटले आफ्नो जहाज सुरक्षित रहेको त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका हुन् ।

जहाजको इन्धन घटाउनुपर्ने भएकाले जहाज दिल्ली पुर्याउने तयारी पाइलटले गरेको हुनसक्ने अनुमान गरिएको छ । जहाजकाे एउटा इन्जिनमा लागेकाे आगाे निभाइसकिएकाे बताइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर गइरहेको सामाजिक संजाल ट्वीटरमार्फत जानकारी दिएका छन् । उनले कोही चिन्ता लिनु नपर्ने पनि स्पष्ट पारेका छन् ।

यो पनि पढ्नुहोस्

इन्जिन फेल भएर आगलागी भएको भनिएको फ्लाइ दुबईको विमान गन्तव्यतर्फ नै लाग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !