चौतारा । विसं २०७५देखि आरोहण खुल्ला गरिएको जुगलअन्तर्गतका अन्य हिमाल आरोहणका लागि खुल्ला गर्ने मन्त्रीपरिषद्को निर्णयले यस क्षेत्रका बासिन्दामा खुसी थपेको छ ।
काठमाडौँबाट तीन दिनमै पुग्न सकिने नजिकको गन्तव्यका रूपमा रहेको जुगल हिमालमा आरोहण खुल्ला गर्ने निर्णय भएसँगै यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।
गत चैत २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त हिमालअन्तर्गत ‘जुगल–१’ देखि ‘जुगल–५’ नामाकरण भएका पाँच चुचुरामा आरोहणका लागि खुल्ला गर्ने तथा पाँच वर्षसम्म शुल्क नलिने निर्णय गरेको थियो । उक्त हिमालअन्तर्गतका आठ हिमालको आधार शिविर नजिक ने–पेमाछाल उपत्यकामा पर्यटन प्रवद्र्धनका विविध कार्यक्रम गरिएका छन् ।
उक्त कार्यक्रमलाई पूर्वसभामुख अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक–१ बाट प्रतिनिधित्व गर्नुभएका प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री, जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो र उपाध्यक्ष हिमालकुमार श्रेष्ठलगायतले सम्बोधन गरेका थिए ।
ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व रहेको ने–पेमाछालमा लामा गुरुले पूजा गरेका थिए । पर्यटन प्रवद्र्धनका लागि यहाँ विभिन्न कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष स्याङ्बोले बताए ।