२० पुस २०८१, शनिबार

अनुमतिबिनै विमानको ककपिटमै अन्तर्वार्ता दिएपछि पाइलट विजय लामालाई उडानमा रोक


विजय लामा

काठमाडौँ । नेपाल वायुसेवा निगमले वरिष्ठ पाइलट विजय लामालाई उडानमा रोक लगाएको छ । उडिरहेको विमानको ककपिटमै अनुमति नलिई अन्तर्वार्ता दिएपछि पाइलट लामालाई उडानमा रोक लगाइएको हो । नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएको अभियोगमा निगमले पाइलट लामालाई उडानमा रोक लागाएको हो ।

वायुसेवा तथा उड्डयनकर्मीहरूको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागको निर्देशनअनुसार निगमको अपरेसन विभागले पाइलट लामालाई आइतबारदेखि रोक लगाएको हो ।

५८ वर्ष उमेरहदले अवकास पाई हाल करार सेवामा निगमको वाइडबडी विमान उडाउँदै आइरहेका लामालाई दुई दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ । उडिरहेको विमानको ककपिटमा भिडियो वा फोटोग्राफी गर्नुपूर्व महानिर्देशकबाट अनुमति लिनुपर्ने प्राधिकरणको नियममा रहेको छ ।

लामाले दुबईबाट काठमाडौं आउँदै गरेको निगमको विमानमा एभिएसन भ्लगर साम चुईलाई अन्तर्वार्ता दिनुका साथै अनुमति नलिई भिडियोग्राफी गर्न दिएका थिए । कारण पुष्टि नगरी उडिरहेको विमानमा हुने यस्ता क्रियाकलापलाई उडान सुरक्षामा असर पार्न सक्ने गतिविधि मानिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !