२२ बैशाख २०८१, शनिबार

सन् २०२३-२०३३ लाई ‘नेपाल भ्रमण दशक’ घोषणा गरिने


संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय

काठमाडौँ । सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक मनाउने घोषणा गरिने भएको छ । सरकारले सन् २०२३-२०३३ लाई पर्यटन भ्रमण दशकको रुपमा मनाउने उद्घोष गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना-२०७९ सार्वजनिक गरेको छ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै उक्त पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेका हुन् ।

यसअघि सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष, २०२०’ घोषणा गरेपनि बीचमै सिर्जना भएको कोभिड-१९ संक्रमणका कारण प्रभावित हुन पुगेको थियो । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरिएको भ्रमण वर्षमा जम्मा २ लाख पनि पर्यटक पनि भित्रिन सकेनन् ।

आगामी २/३ महिनाभित्र यस्तो घोषणा गरिसक्ने गरी मन्त्रालयले समय तोकेको छ । आर्थिक वर्ष शुरु भएसँगै पर्यटन क्षेत्रमा देखिएको सुधारात्मक संकेतपछि यस्तो घोषणा गर्न सकिने मन्त्रालयले जनाएको छ ।

कोभिड-१९ को प्रभाव कम भएसँगै विस्तारै लयमा फर्किदै गरेको विश्व पर्यटन बजारबाट पुनः पर्यटन आकर्षित गर्न सकिने भन्दै कार्ययोजनाले सन् २०२३ देखि २०३३ लाई भ्रमण वर्षको रुपमा अघि बढाउन सकिने बताएको हो ।

काठमाडौं उपत्यकाभित्र रात्रिकालीन पर्यटनको प्रारम्भ र प्रवर्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्रा आगामी दुई वर्षभित्र संचालन हुने समेत मन्त्रालयले जनाएको छ।

मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने भएको छ । यस्तै आगामी तीन महिनाभित्र काठमाडौंमा ‘होप अन होप अफ सिटी बस’ (hop on hop off city bus) संचालनमा ल्याउने घोषणासमेत मन्त्रालयले गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !