८ मंसिर २०८१, शनिबार

धार्मिक पर्यटकीय तीर्थस्थल कमलपोखरी


पोखरा

गण्डकी । पोखरा महानगरपालिका– १३ कुँडहरस्थित विश्व रामसार सूचीमा सूचीकृत कमलपोखरी ताल नाग र कमलको फूलका कारण परिचित धार्मिक पर्यटकीय तीर्थस्थल हो ।

पोखराको मुख्य बजार क्षेत्रबाट अत्यन्त छोटो दूरीमा रहेको कमलपोखरीमा ढकमक्क कमल फूल ढाकिनुका साथै नागको बासस्थान रहेको प्राचीन जनविश्वाससमेतले यसको महत्व र गरिमा बढाएको छ । पछिल्ला वर्षमा ताल अवलोकनका लागि दैनिकरुपमा पर्यटक आउने गरेका छन् ।

तालको दृश्यावलोनका साथै यहाँ पाइने विभिन्न प्रजातिका माछा र समयसमयमा टाढाटाढाबाट आउने चराचुरुङ्गीले पर्यटकलाई लोभ्याउने गरेका छन् । यहाँको संरक्षणमा स्थानीय दलित समुदाय झण्डै डेढ दशकयता जुटिरहेकामा पछिल्लो समयमा सङ्घ, प्रदेश तथा स्थानीय तहले पनि उत्तिकै चासो देखाउँदै आएको पाइन्छ ।

तालको संरक्षणका लागि विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) तयार गरी यसको संरक्षण र विकासको प्रयास थालिएको पोखरा महानगरपालिका वडा नं १३ का वडाध्यक्ष दर्शन लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तालको संरक्षणका लागि रु ४० लाखको लागतमा वरपर पर्खाल लगाउने काम थालिएको छ । पर्खाल निर्माणका साथै तालको किनारामा व्यवस्थित बाटो निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

विश्वरामसार सूचीमा सूचिकृत रहेका कारण पछिल्लो समयमा यसको संरक्षण थप चासोको विषय बनेको छ । धार्मिक पर्यटकीयरुपमा पनि उत्तिकै महत्व राख्ने कमलपोखरी परिसरमा प्रत्येक वर्षको नागपञ्चमीमा विशेष मेला लाग्ने गरेको छ । भगवान् विष्णुको प्रतिकका रूपमा मानिने कमल फूल फूल्ने भएका कारण कमलपोखरी ताल नामकरण भएको बताउने यहाँका स्थानीयवासी तालमा झार झागिँदै गएकोतर्फ पनि राज्यको ध्यान पुग्नुपर्ने बताउँछन् ।

कमलपोखरी तालको क्षेत्रफल शुरुमा ३८ रोपनी भए पनि पछिल्ला वर्षमा अतिक्रमणको सिकार बनिरहेको स्थानीयवासीको गुनासो छ । पोखरा बजारको नजिकै रहेका कारण विशेषतः शनिबार र अन्य सार्वजनिक बिदाका दिन यहाँ ठूलो सङ्ख्यामा पर्यटक आउने गरेका छन् ।

तालको संरक्षणका लागि यहाँका स्थानीयवासी २०४५ सालदेखि नै सङ्गठित बन्दै आएकामा २०५१ सालमा कमलपोखरी आमा समूह दर्तागरी औपचारिकरुपमै संरक्षण र विकासको पहल थालिएको थियो । त्यस्तै २०६४ सालमा गठित कमलपोखरी संरक्षण समितिको पहलमा यसको संरक्षण र विकासका कामलाई थप अघि बढाइएको छ ।

विश्वरामसार सूचीमा सूचीकृत कमलपोखरीसहित पोखरा उपत्यकाका नौ तालको व्यवस्थापन योजनासमेत तयार भएको छ । रामसार सूचीमा सूचीकृत ताल पर्यटकीयरुपमा पनि उत्तिकै महत्वको रहेको बताउने नेपान पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारी प्राकृतिक एवं मानवीय अतिक्रमणको चपेटाबाट जोगाउँदै यिनीहरूको संरक्षण र विकास गर्नुपर्ने बताउनुहुन्छ ।

स्थानीयवासीको सक्रियताविना तालको संरक्षण सम्भव नहुने भएकाले संरक्षणसँगै यसलाई पर्यटनसँग जोडेर आर्थिक समृद्धि र विकासका लागि दीर्घकालीन योजनाका साथ अघि बढ्नुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो ।

कमल पोखरी चार दशकअघिसम्म बुडुवा तालका रुपमा परिचित थियो । यहाँ पाइने कमल फूल, विभिन्न प्रजातिका माछा तथा चराचुरुङ्गी आदिले यहाँको सौन्दर्य बढाएका छन् । तालका बीच भागमा रहेका नागको मूर्तिका कारण नाग पञ्चमीको दिनमा यहाँ विशेष मेला लाग्ने गर्दछ । तालमा रहेको कमललाई नागपञ्चमीमा पूजा गरेर कमलको फूलपात घरमा लगेर राखेमा राम्रो हुने जन विश्वासका कारण यस दिन यहाँ आएर कमलको फूल तथा पात घरमा लगेर राख्ने प्रचलन पनि छ । तालको किनारमा रहेका राधाकृष्ण, गणेश, नाग र बाबा विश्कर्माको मन्दिर र सँगै दुई वटा पाटीले यहाँको सौन्दर्य थप बढाएको छ । यहाँको सौन्दर्यतालाई उजागर गर्न सुन्दर पार्क निर्माणका साथै आकर्षक प्रवेशद्वार, तालसम्मको बाटोलाई व्यवस्थित गर्नेलगायतका काम स्थानीय तहका प्राथमिकतामा परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !