९ असार २०८१, आइतबार

पर्यटकीय स्थलको प्रवद्र्धनका लागि पदयात्रा


पर्यटक

दमौली । तनहुँको भीमाद नगरपालिका–९ मा रहेका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा हुने भएको छ । कोभिड–१९को प्रभावले रोकिएका पर्यटकीय गतिविधिलाई अगाडि बढाउने उद्देश्यले पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिले पदयात्राको तयारी गरेको हो ।

कोभिड–१९ को प्रभावका कारण रोकिएका पर्यटन गतिविधि पुनः सञ्चालन गर्नका लागि पदयात्राको आयोजना गरिएको समितिका अध्यक्ष शिवकुमार आलेले जानकारी दिनुभयो । यसअघि कात्तिक १ गते गर्न लागिएको पदयात्रा अन्तिम समयमा आएर रोकिएको थियो । “कात्तिकमा पदयात्रा गर्ने लक्ष्य राखिए पनि केही कारण समयमा हुन सकेन, सो कार्यक्रम माघ १ गते गर्ने गरी तयारी तीव्र पारिएको छ”, उहाँले भन्नुभयो ।

भीमाद बजारदेखि वडा नं ९ को पाथर्दी पुगेर टुङ्गिने पदयात्रामा करिब १५० जनाको सहभागिता रहने अनुमान गरिएको छ । “कोभिडले पर्यटनका सबै गतिविधि रोकिए, अब विस्तारै पर्यटनका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यस्वरुप वडामा भएका पर्यटकीय गन्तव्यको प्रचारका लागि पदयात्रा गर्न लागेका हौँ”, उहाँले भन्नुभयो,“पदयात्राको मुख्य लक्ष्य वडाभित्र भएका सबै पर्यटकीय गन्तव्य बाहिर ल्याउनु हो ।” पदयात्रा १७ किमी दूरीको रहनेछ ।

पदयात्राका क्रममा सोही वडामा रहेको सिद्धगुफाको पनि भ्रमण गरिनेछ । एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत गुफामा विभिन्न पूर्वाधार निर्माण गरिएको छ । कोभिड–१९ कै समयमा गुफा क्षेत्रमा शौचालय, प्रतीक्षालय र रेलिङ निर्माण गरिएको छ । पूर्वाधार निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु २५ लाख उपलब्ध गराएको थियो ।

पदयात्राको क्रममा इलुङ झरना पुग्ने कार्यक्रम पनि छ । व्यावसायिक क्यानोनिङको तयारीमा रहेको इलुङ झरनामा कोभिड–१९कै कारण क्यानोनिङ रोकिएको छ । “क्यानोनिङ गराउनका लागि तयारी गर्दै थियौँ, कोभिडले सबै कार्यक्रम रोकियो, अब विस्तारै त्यसतर्फ पनि अगाडि बढ्ने सोच बनाएका छौँ,” आलेले भन्नुभयो ।

इलुङ झरना जाने बाटोमा अप्ठ्यारो रहेको ठाउँमा ढुङ्गाले छापेर पदमार्ग निर्माण गरिएको छ भने सोही ठाउँमा रेलिङसमेत हालिएको छ । झरनामा पूर्वाधार विकासका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०७६÷७७ मा रु दश लाख विनियोजन गरेको छ । सो रकमबाट क्यानोनिङका लागि आवश्यक सामग्री खरीद गर्ने तयारी गरिएको छ ।

पदयात्रामा पुग्ने पदयात्रीलाई सोही ठाउँमा रहेको पाथर्दी सामुदायिक घरबासमा बास बस्ने व्यवस्था मिलाइएको छ । पाथर्दी गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषि गाउँ हो । भिमाद नगरपालिका–९ का वडाध्यक्ष इमान थापाले पदयात्राले समग्र वडाको पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको जानकारी दिनुभयो । “पदयात्रामार्फत् पर्यटकीय गन्तव्य चिनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो, “कोभिड सँगसँगै सुरक्षा अपनाएर पर्यटकीय गतिविधि अगाडि बढाउनुको विकल्प छैन ।”

ऋषिङ दौडको तयारी तीव्र

ऋषिङ गाउँपालिकाले आयोजना गरेको दौड प्रतियोगिताको तयारी तीव्र पारिएको छ । खेलमार्फत् पर्यटकीय स्थलको प्रवद्र्धन गर्न गाउँपालिकाले आगामी पुस २७ गते ‘ऋषिङ म्याराथन’ को आयोजना गर्न लागेको छ । गाउँपालिकामा रहेका ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचारप्रसारका लागि आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो । खुल्ला, स्थानीय र महिला गरी तीन वटा दौड प्रतियोगिता आयोजना हुनेछ ।

खुल्ला दौड ऋषिङ गाउँपालिका–८ वा अवस्थित दबुङकोट दृश्यावलोकन स्तम्भसम्मको ४० किमिदूरीमा हुनेछ । ऋषिङ्गे राजाको दरबार रहेको गडीडाँडाबाट शुरु हुने प्रतियोगिता ऋषिङ्गे रानीको नुहाउने पोखरीबाट हतियार भण्डारण गर्ने कोटको काख हुँदै गाउँपालिकाको कार्यालय, गोठादी, ढुङ्गागाडे, चालिसे, थप्रेक, रमुङ, भिरकोट, बगँैचा, तल्लो भिरकोट हुँदै सानो भिरकोटमा रहेको भिरकोटे राजाको भग्नावशेष रहेको ठाउँसम्म पुग्नेछ ।

स्थानीय दौड ऋषिङ गाउँपालिका–८ मा अवस्थित ऐतिहासिक एवं पर्यटकीय स्थल गडिकोतबाट ऋषिङ गाउँपालिका–६ मा अवस्थित ज्यामिरे माई मन्दिरसम्म १० किमी दूरीको हुनेछ । यसैगरी महिला दौड ऋषिङ–८ गडिकोतदेखि ऋषिङ–७ मा अवस्थित दुर्गा भवानी मन्दिरसम्म चार किमी दूरीको हुनेछ । दौड प्रतियोगिताकै अवसर पारेर ऋषिङ–८ मा अवस्थित ऐतिहासिक एवं पर्यटकीय स्थल गडिकोतमा निर्माण हुन लागेको दृश्यावलोकन स्तम्भको शिलान्यास गरिने गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताउनुभयो । दौड सम्पन्न हुने स्थान ऋषिङ–३ मा निर्माण सम्पन्न भएको दबुङ दृश्यावलोकन स्तम्भको उद्घाटन गरिनेछ ।

रोटरीका सहयोगमा खानेपानी योजना शुरु

अमेरिकास्थित रोटरी क्लब अफ होनोलुलु सनसेट र व्यास नगरपालिकाको संयुक्त लगानीमा तनहुँको ब्यास नगरपालिका–५ चुँदेरमा खानेपानी योजना शुरु भएको छ । वर्षौदेखि खोलाको पानी उपयोग गर्दै आएका यहाँका बासिन्दाका घरघरमा खानेपानी पु¥याउने उद्देश्यसहित रोटरी चुँदेर खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । रु एक करोड १६ लाख ४० हजारको लगानीमा खानेपानी योजना निर्माण हुन लागेको हो ।

रोटरी क्लब अफ दमौलीको सक्रियतामा सो ठाउँमा खानेपानी योजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो । “सो ठाउँको खानेपानी समस्या बारेमा जानकारी पाएपछि स्थलगत सम्भाव्यता अध्ययन ग¥याँै, अध्ययनले उक्त ठाउँमा खानेपानी योजना निर्माण गर्न सम्भव रहेको देखिएपछि योजनाको काम थालेका हौँ,” रोटरी क्लब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीले भन्नुभयो ।

खानेपानी योजना निर्माणका लागि अमेरिकास्थित रोटरी क्लब अफ होनोलुलु सनसेटले रु ८४ लाख ८१ हजार ६६७ सहयोग गरेको छ । खानेपानी योजनाको डिपिआर स्मार्ट सिभिल कन्सल्टेन्सीले तयार गरेको थियो । खानेपानी योजनाको आज रोटरी क्लब ३२९२ का निवर्तमान गर्भनर किरणलाल श्रेष्ठ र ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

रोटरीले सन् २०३० सम्म नेपालमा स्वच्छ खानेपानी सुविधा पु¥याउने उद्देश्यसहित सरकारी निकायसँग समन्वय गरेर खानेपानीको क्षेत्रमा काम गर्दै आइरहेको रोटरी क्लब ३२९२ का निवर्तमान गर्भनर श्रेष्ठले बताउनुभयो । नेपालको शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा रोटरी क्लबले सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

ब्यास नगरपालिकाका प्रमुख न्यौपानेले खानेपानी नभएका कारण बेँशी झरेका यहाँका स्थानीयवासी अब गाउँ फर्किने विश्वास व्यक्त गर्दै खानेपानी योजनाका लागि सहयोग गरेकामा रोटरीप्रति आभार व्यक्त गर्नुभयो । नगरप्रमुख न्यौपानेले नगरवासीलाई स्वच्छ खानेपानी सुविधा उपयोग गराउन नगरपालिका पनि लागिपरेको बताउनुभयो ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पोख्रेलले रोटरीले नेपालको विभिन्न क्षेत्रमा पु¥याउँदै आएको सहयोग सकारात्मक रहेको बताउनुभयो । ब्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले डाँडामा बस्ती र मुहान तल रहेका कारण चुँदेरमा वर्षौदेखि खानेपानी समस्या रहँदै आएकामा योजना सम्पन्न भएपछि स्थानीयवासीलाई सहज हुने बताउनुभयो ।

खानेपानी योजनाबाट ब्यास नगरपालिका–५ स्थित चुँदेर, रानीटारी र नेपालटारका २२९ घरका एक हजार १०८ जना लाभान्वित हुनेछन् । सो योजनाबाट २० घर दलित, १२१ घर जनजाति, तीन घर मुस्लिम र ८५ घर अन्य जातजातिका मानिस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । दुई सय ५४ मिटरको दूरीमा रहेको मुहानबाट पानी ल्याई ट्याङ्कीमार्फत् घरघरमा पानी वितरण गर्ने गरी डिजाइन गरिएको छ । एक घण्टामा दश हजार लिटर पानी तानिनेछ । उक्त ठाउँमा दैनिक एक लाख आठ हजार ६२९ लिटर पानी आवश्यक पर्ने अध्ययनबाट देखिएको छ । योजनामा ३० मिटरको ट्रान्समिसन लाइन, ५८० मिटर वितरण लाइन निर्माण गरिनेछ भने तीन वटा मुहानमर्मत गर्नुपर्ने देखिएको छ ।

चुँदेरमा २० घनमिटरको ट्याङ्की निर्माण गरेर सोही ट्याङ्कीबाट रानी टारीमा पानी वितरण गर्ने योजना छ । दुई महिनाभित्र खानेपानी योजना सम्पन्न गरेर घरघरमा धारामार्फत् पानी पु¥याइने इञ्जिनीयर प्रकाश शर्माले जानकारी दिनुभयो ।

ट्राफिक व्यवस्थापन अभियान शुरु

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय कास्कीले प्रदेशस्तरीय ट्राफिक व्यवस्थापन तथा सुधार अभियान शुभारम्भ गरेको छ । दुईपाङ्ग्रे सवारी साधनलाई लक्षित गरी प्रदेश ट्राफिक प्रहरी कार्यालयले तनहुँबाट यस अभियान शुभारम्भ गरेको हो । यस अभियानअन्तर्गत मुख्य शहरी क्षेत्रमा दुईपाङ्ग्रे सवारी चालकलाई सडकमै रोकेर प्रशिक्षण दिइने प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा भएका सवारी दुर्घटना बढी मात्रामा दुईपाङ्ग्रे सवारी साधनका कारण भएकाले ती सवारी चालकलाई प्रशिक्षण कार्यक्रम आवश्यक भएको उहाँले बताउनुभयो । ढकालका अनुसार चालू आर्थिक वर्षमा गण्डकी प्रदेशमा १८६ सवारी दुर्घटना भएकामा ११४ दुर्घटना दुईपाङ्ग्रे सवारीबाट भएका छन् । यस अवधिमा सवारी चालकको लापरवाहीले १३७ दुर्घटना भएका छन् । “नेपालमा हुने दुर्घटनामध्ये दुईपाङ्ग्रेको सङ्ख्या अत्याधिक छ, दुईपाङ्ग्रे सवारी साधनबाट हुने दुर्घटनाको उच्च जोखिम कम गर्न प्रदेशभर प्रशिक्षण अभियान सञ्चालन गर्छौ,” उहाँले भन्नुभयो ।

ट्राफिक व्यवस्थापन तथा सुधार अभियानअन्तर्गत विशेषतः तीनवटा मुख्य कार्यक्रम सञ्चालन गरिनेछ । दुईपाङ्ग्रे सवारीका चालकलाई सडकमै प्रशिक्षण, सवारी दुर्घटना कम हुने उपायका बारेमा सिकाउने, ठूला सवारी साधनका चालकलाई सडक अनुशासनका बारेमा सिकाइने छ ।

सप्ताहव्यापी रुपमा हुने अभियानमा तनहुँ जिल्लाका शहरी ठाउँमा सडकमै पाँच मिनेट मोटरसाइकल र स्कूटर चालकलाई प्रशिक्षण दिइने छ । “एकपटकमा १५ देखि २० वटा दुईपाङ्ग्रे सवारी रोकेर प्रशिक्षण दिन्छौँ”, उहाँले भन्नुभयो, “सवारी चलाउँदा ध्यान दिनुपर्ने कुरा, सडक दुर्घटना न्यूनीकरणका उपायबारे सिकाउछाँै ।” यस अभियान दैनिक रुपमा डेढ घण्टा सञ्चालन गरिने छ ।

अभियानको शुभारम्भ गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले ट्राफिक व्यवस्थापन तथा सुधारका लागि प्रदेश सरकारको सदैव सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । सवारी साधनको सङ्ख्या बढ्दै गएको र सडक संरचनाका कारण दुर्घटना हुने गरेकाले सडक संरचना सुधारको आवश्यकता रहेको मन्त्री चुमानले बताउनुभयो । ट्राफिकलाई उपकरणयुक्त र प्रविधियुक्त बनाउने अभियानमा प्रदेश सरकार लागिपरेको मन्त्री चुमानको भनाइ छ ।

ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ट्राफिक व्यवस्थापन तथा सुधारका लागि नगरपालिका सदैव सहकार्य गर्न तयार रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले ट्राफिक व्यवस्थापन तथा सुधारले शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने बताउनुभयो ।

डिजिटल नागरिक बडापत्र

बन्दीपुर गाउँपालिकाले डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले प्रवाह गर्ने सेवाबारे जनतालाई सहज रुपमा जानकारी दिने उद्देश्यले डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जनताको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले बडापत्रलाई डिजिटल बनाइएको जानकारी दिनुभयो ।

डिजिटल नागरिक बडापत्रमा गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधालगायत विविध विषय समेटिएको छ । गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले डिजिटल नागरिक बडापत्रले जनतालाई सहज हुने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले डिजिटल नागरिक बडापत्रबाट सेवाग्राहीले सेवा प्रवाह सम्बन्धमा जानकारी प्राप्त गर्नुका साथै गुनासोसमेत राख्न सक्ने बताउनुभयो । प्रत्येक वडा कार्यालयबाट प्रवाह गरिने सेवा, गाउँपालिका तथा वडाका कर्मचारीको विवरण पनि समेटिएको छ । “गाउँपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नागरिक बडापत्रलाई डिजिटल बनाइएको हो,” अधिकृत सुवेदीले भन्नुभयो ।

जनयुद्ध अध्ययन प्रतिष्ठानमा कोइराला

जनयुद्ध अध्ययन प्रतिष्ठानको अध्यक्षमा गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला चयन हुनुभएको छ । दमौलीमा भएको पहिलो साधारणसभा तथा अधिवेशनले कोइरालाको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । दुई वर्षअघि तनहुँमा स्थापना भएको प्रतिष्ठानको संस्थापक अध्यक्ष पनि कोइराला नै हुनुहुन्छ । प्रतिष्ठानको उपाध्यक्षमा दिलीप श्रेष्ठ, सचिवमा अतिन्द्रकेशरी न्यौपाने, कोषाध्यक्षमा वीरेन्द्र श्रेष्ठ, सहसचिवमा सूर्यबहादुर र सदस्यमा प्रसाद खनाल (विकल), राजेन्द्र तमु(विजय), भीमबहादुर विश्वकर्मा, राजेन्द्रप्रसाद सुवेदी, अनिल श्रेष्ठ, रजनी चुमान, अस्मिता खनाल, वसन्त दरै, बालहरि अधिकारी र कल्पना पौडेल चयन हुनुभएको छ । नेपालको दश वर्षे जनयुद्धको इतिहास जोगाइराख्न प्रतिष्ठान गठन गरिएको अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !