हिजो र आजमा नेपाली जनता धेरै अगाडि बढिसकेको महसुस हुदैछ । पहिले राजनीति नबुझ्नेहरू पनि राजनीति बुझ्न थालेका छन् । यस्तो बनाउनमा राजनीति दलनै सक्रिय छन् भन्दा खासै फरक छैन ।
जब जब अन्याय-अत्यचार हुन थाल्छ तब-तब जनताको आवाज बुलन्द हुन थाल्दछ । जब-जब स्वार्थ बढ्दै जान थाल्दछ त्यसले जनतामा पनि प्रत्यक्ष असर देखिन थाल्दछ । आज हरेकको सोचलाई गलत दिशातर्फ मोड्ने काम नेतृत्वको स्वार्थले गर्दा देखिन थालेको छ ।
घाम पानी सहेर नेतृत्व चुन्ने जनताहरू आज दिन प्रतिदिन आक्रोशित बन्दैछन् । यस्तो अवस्थामा पुर्याउन सहयोग गर्ने नै नेतृत्व हुन भन्दा खासै फरक छैन । उद्योग कलकारखाना बन्द गराउने काममा नेतृत्व नै सक्रिय छन् भन्दा खासै फरक नपर्ने देखिन्छ । उद्योगले देशमा विकास मात्र होइन रोजगार पनि सिर्जना गरेको हुन्छ ।
खाली समय सैतानको घर भन्ने युक्ति नै बेरोजगार पनले निम्ताएको हुन्छ । जब-जब मानिस काममा व्यस्त हुन्छ त्यति बेला के गलत भन्ने जान्न समेत कसलाई फुर्सद हुन्छ । देश सुहाउदो भेष अनुसार काम गर्नुपर्ने समय हो तर यस्तो भएको देखिएको छैन ।
हिजो यिनै जनता थिए, राजसंस्थाले केहि गरेन भन्दै सडक आन्दोलन गरे तर परिवर्तन केहि नदेख्दा आज गलत गरेको महसुस गर्दैछन् यस्तो सोच पैदा गराउन पनि यिनै राजनीति दल हो भन्दा खासै फरक छैन ।
सबै नेपाली जनतालाई सुखी र मुलुकलाई समृद्ध बनाउन पुग्ने प्रकृतिप्रदत्त स्रोत हुँदाहँदै पनि अपेक्षित विकास हुन सकेन । भविष्यको सपना देख्ने र त्यसमा दृढ भएको व्यक्तिको हातमा नेतृत्व नपर्दासम्म देश उँभो लाग्दैन भन्ने विश्व इतिहासले प्रमाणित गरिसकेको छ ।
सगरमाथाको काखमा रहेको हाम्रो देश गौतम बुद्ध र बीर गोर्खालीको देशको रूपमा चिनिँदै आएको नेपालले यतिबेला गरिब देशको परिचय बनाएको छ। विश्वमा प्रचलित विकासका मान्यता नेपालको सन्दर्भमा किन असत्य सावित भए भन्ने अनुसन्धानको विषय हुन पुगेको छ ।
विश्वका कतिपय द्वन्द्वग्रस्त देशमा द्वन्द्व समाप्तिपछि तीव्र गतिमा आर्थिक विकास भएको पाइन्छ । भियतनाम, कम्बोडिया, लिविया, घाना, सुडान र इथियोपिया यसका उदाहरण हुन् । नेपालले भने द्वन्द्व समाप्तिपछि पनि आर्थिक विकासमा फड्को मार्न सकेको छैन ।
मेहनती र इमान्दार जनता भए विकास हुन्छ भन्ने मान्यता पनि छ तर संसारभरी मेहनती, इमानदार र बहादुरीको लागि कहलिएका नेपालीले आफ्नै देशमा केही गर्न सकेका छैनन्। देशभित्रै जीविकोपार्जनको अभावमा काम गर्ने उमेरका झन्डै चालीस लाख युवा देशबाहिर पलायन हुन बाध्य छन् ।
व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको स्वार्थ हेर्ने नेतृत्वको अभाव भई रहेको छ । दक्षिण कोरियामा पार्क चुङ हि, मलेसियामा महाथिर मोहम्मद, सिंगापुरमा लि क्यान यु र चीनमा देङ सियाओ पिङ केही त्यस्ता चर्चित उदाहरण हुन् । यी नेता आफ्नो देशमा मात्र नभई संसारभर नै विकासका रोल मोडलको रूपमा स्थापित भएका छन् ।
तर हाम्रो देशको दशा यस्तो छ । जमिन छ नहर छैन, उत्पादन छ बजार छैन, खानी छ उत्खनन् छैन, शिक्षा छ रोजगार छैन, यावत कुराले देश पछि पर्दैछ । सहि नेतृत्वको अभाव छ । पंचायती कालमा विकास नगरेको भन्न मिल्दैन तर सीमित स्वार्थमा देश डुब्दैछ । देशको विकास गर्न भिजनको खाँचो हुन्छ तर नेपाली नेतृत्वमा यो देखिएन ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।