काठमाडौँ । दशैं आम नेपाली महान् चाड हो । सत्यको जीत र असत्यको पराजयमा खुसीयाली स्वरुप मनाईने चाड हो यो दशैं । नेपाल एक भौगोलिक साथै जातीय विविधता भएको मुलुक हो । जातीय विविधतासंगै सांस्कृतिक र मौलिक विविधता भएको संसारकै सुन्दर मुलुक हो नेपाल । २०७८ को जनगणना अनुसार नेपालमा १४२ विभिन्न जात, १२४ मातृभाषा र विभिन्न १० वटा धर्म मान्ने जातजातिहरु नेपालमा बसोबास गर्ने गर्दछन् ।
तराई, पहाड, हिमाल र संसारकै अद्भुत अनि अलौकिक मुलुक हो यो सुन्दर देश नेपाल । भगवान् बुद्धको जन्म भएको देश, देवाधिदेव महादेव जसले अत्यन्तै मन पराएको स्थान कैलाश पर्वत अनि हजारौं शिवालय, मन्दिर, मस्जिद र चर्चहरुले सुसज्जित देश, माता सीताको देश नेपाल । यस्ता अद्भुत, अलौकिक अनि पवित्रभूमि नेपालको बुहारी भएर बस्न अनि यहि पवित्र भूमिमा आफ्नो अन्तिम श्वास लिने गौरव र सोको कारण मेरो जीवनले पाउने अन्तिम मोक्ष प्राप्तिको कामना गरेकी छु ।
म नेपाली अक्षर सामान्य पढ्न सक्छु, सबै साहित्यिक शब्द बुझाईमा मेरो दक्षता नपुग्न सक्छ ? तर सुनेको कुराको अर्थ बुझ्न सक्छु र नबुझेको शब्दको अर्थ खोजेर बुझ्ने प्रयत्न गर्ने गरेकी छु । विजया दशमीको भावना र यो चाड सम्बन्धि उठेका प्रतिप्रश्नहरु पनि मैले केलाउने प्रयत्न गरेकी हुँ तर मेरा खोज अपूर्ण हुनसक्ने अवस्थामा छन किनकी यो चलन निकै पौराणिक र दस्तावेजको रुपमा खासै कँहि नभेटिने हुँदो रहेछ ।
रामले रावणमाथिको विजय वा माता दुर्गाले महिषासुरको बध गरेपछि सत्यको विजय ठानी उत्सवको रुपमा मनाइएको भन्ने महिमा छ दशैंको । रावण र महिषासुरलाई राक्षस कुलको मानिएतापनि स्वयं रावण भने महर्षी पुलस्त्यका नाति हुन् भने महिषासुर महर्षी कश्यपका नाति हुन् । उनीहरु ऋषि कुलका हुँदाहुँदै पनि श्रापको कारण तीन जुनिसम्म राक्षसी जीवन बिताएको कथा पढेकी छु ।
यो समाजमा रावण र महिषासुरलाई राक्षसको रुपमा लिने गरिन्छ । राक्षस भनेको के हो ? के हरेक बाहुन जातको परिवारमा जन्मेकाहरु ब्राह्मण हुन सक्छन् ? के बाहुन जातको परिवारमा जन्मेकाहरु राक्षस बन्न सक्दैनन् ? यो आफैमा अत्यन्तै ठूलो विवादास्पद विषय हो । एक राईको कुलमा जन्मिएका र निकै ठूलो उमेरसम्म अर्काको गोठालो भएर हिडेका काले राई “स्वामी प्रपन्नाचार्य” बने । मेरो घर छेउमा उपाध्य बाहुन ढकालको मासु पसल छ । उनको मासु पसल काठमाडौं उपत्यकामा निकै प्रख्यात बनेको छ । थुप्रै बाहुन जातका भाइहरु मेरो कम्पनीमा फलामको काम गर्छन् तर फलामको काम गर्ने केही दशक अगाडिसम्म केही विशेष समुदाय थियो ।
आज जातजाति केवल सांकेतिक रुपमा लिइनु मनासिव देखिन्छ किनकी व्यक्ति व्यक्तिमा आ-आफनै गुण अनि दोषहरु हुने गर्छन् अनि आफ्नो बाबु-आमा असल वा खराव जे भएपनि उहाँहरु जहिले पनि मेरै बाबू-आमा हुनुहुनेछ भन्ने मान्यता र कोडिङ गर्न सरलता होस् भन्ने हेतुले जातको ट्याग सरकारले भिराएको हुन सक्छ । राक्षस भन्दैमा उ समाजको नराम्रो मानिस वा बर्गमा पर्ने कदापी हुनै सक्दैन । बिध्वत हुँदाहुँदै पनि रिसाहा, बलाहा, कौटिल्य हुनु राक्षसको सामान्य परिभाषा हो । समाज सबै खाले बर्ग र समुदायका व्यक्ति र विशेषताले निर्माण हुने भएको हुँदा एउटा जात विशेषलाई एउटा बर्गमा जोखिनु नै भुल हो । जस्तो कि ढकाल बाजे मासु व्यापारी हुन्, बाहुनको कोखमा जन्मिए तर ब्राह्मण हैनन् तर काले राई एक किराँतको कोखमा जन्मिए तर ब्रह्माण्ड बने ।
म २०५३ साल असोजमा एक बुहारीको रुपमा नेपाल आएकी हुँ । महान् चाड दशैकै संघारमा नेपाल आइईपुगेकी, त्यसमाथि ताप्लेजुङको सिनाममा मेरो श्रीमानको घरमा पुग्दा, धेरै नै नौलो अनुभूति हुनु कुनै नयाँ विषय नै थिएन । हरेक विषय, व्यक्ति र सन्दर्भहरु मेरा लागि नौलो हुन्थे किनकी मेरो माइती लाओस, एक बृहत्तर संख्या बुद्ध धर्ममा आस्था राख्ने भएको र लामो समय आफ्नो पढाईको लागि सोभियत संघमा बिताएर अर्मेनिया भन्ने देशबाट नेपाल आएकी थिए । दशैंको समयमा घरमा जमरा राख्ने कार्य, प्रत्येक दिन जमरा राख्ने ठाउँमा पुजा गर्ने कार्य, फुलपातीको दिन बिहान बलि दिइ घरमा युमा महारानीको पुजा गर्ने कार्य, अष्ठमीको दिन साँझदेखि घरमा भात नपकाउने/भात नखाने, भातको ठाउँमा चिउरा खाने र भोज सुरु गर्ने, नवमीको दिन दुर्गा भवानीलाई कुभिण्डो (रागोको प्रतीक) आदिको बलि दिइ पुजा गर्ने, दशमीको दिन विविध पुजाको साथै कुल यानेकी भिमसेनको पुजा उ बेला हजुरबुबाले बोकाकै बलि चढाउनु भएको थियो । मेरो माईतीमा पशु बलि दिने कार्य नहुने भएतापनि आफ्नो आफ्नो संस्कार संस्कृति अनुरुपले आफ्नो चलन चलाउनु आफैंमा सुन्दर संस्कार भएको मेरो बुझाई हो ।
दशमीको दिन साइत अनुसार, घरको सबै भन्दा जेष्ठ सदस्य हाम्रा हजुरबुवा केवलमान श्रेष्ठले जेष्ठताको आधारमा आशिर्वाद, प्रसाद अनि दक्षिणा दिंदै रातो अक्षताको टीका निधारभरी लगाइदिनु भयो । त्यसपछि मेरो ससुरा-सासुले हामीलाई र मेरो श्रीमान् परिवारको जेठो छोरो भएकोले, उहाँ र मैले भाई बहिनी, छोरो र भान्जा भान्जीलाई टीका आशीर्वाद दिंदै गयौं । पहिलो पटक टीका लगाइदिँदा मेरा हातले अक्षता टिपेर ढंगले निधारमा लगाइदिन सकेको थिइन् । तर यो संस्कार कति पवित्र छ ? जसले परिवार, आफन्त अनि समाजलाई कति अखण्डित बनाइरहेको छ सोको सहज अनुमान हामी लगाउन सक्छौ । जसको ज्वलन्त उदाहरणहरु भनेकै शहर बजार र विदेशबाट समेत दशैंमा परिवारको साथ हुन नेपाल आउनु । समाजमा सेतो टीका र रातो टीकाको विषयमा निकै टिप्पणी गरेको समेत पाएकी छु । दशैंमा सेतो टीका लगाउने चलन आम नेवार समुदायको समेत रहेको बुझिएको छ । अझै पनि केही जात जाती र विशेषत: लिम्बू समुदायले दशैमा र अन्य पर्व, चाड र समारोहमा सेतो टीका नै लगाउने आम चलन रहिआएको छ ।
२०५३ सालदेखि यता एकाध पटक माइती लाओस जानु र केही देशका भ्रमणमा जानु बाहेक सम्पूर्ण रुपमा म यो मुलुक नेपालमै बसिरहेकी छु । हरेक जात जातिका आफ्ना मौलिक चाड पर्वहरु छन । तीमध्ये कति चलनमा छन् भने कतिपय जातजातिका चाड पर्वहरु चलनचल्तीमा आएका नहोलान ? यो मुलुकको जातीय सद्भावलाई सुक्ष्म नियाल्ने हो भने, नेवार जातले मनाएको क्वाटी पर्व, लिम्बू जातको बलिहाङ तङ्नाम, विभिन्न जातजातिको शुभ दिपावली, माघी पर्व, छैठ, उधौली, उभौली, साउने सक्रान्ति, असार १५, साउन १५, तीज आदि सवै पर्वहरु हरेक नेपालीको आफ्नो पर्व बनिसकेका छन् ।
जातिय सद्भाव भनेको कुनै पनि मुलुकको विकास र प्रगतिको लागि चाहिने मुख्य शक्ति हो । यदि एकादेशका जातजाति वीचमा मेरो-तेरो भन्ने पैदा हुन गइ जातीय अखण्डता भंग हुन गएमा हाम्रो जस्तो सुन्दर अनि शान्त मुलुक, हालको इजरायल र प्यालेस्टाइन जस्तो नहोला भन्न सकिन्न । एकले अर्काको अस्तित्व स्वीकार नगरी जसको शक्ति उसको भक्ति हुन गएमा नेपाल जस्तो बहुल जात र बहुल धर्म र बहुल अस्तित्व बोकेको मुलुकको विकास र समृद्धिको सपना तुहिनु मात्र हैन आम नेपालीहरु अहिले गाजा क्षेत्रमा भोक तिर्खा रोगलाई बिर्सिनु परेका आम प्यालेस्टाइन जस्तो अवस्थामा पुग्ने दिन आउन सक्छ ? त्यसैले समस्त नेपाली आम दाजुभाई दिदीबहिनीहरुलाई यस्तो बहुआयामिक चाड हर्षोल्लासका साथ मनाउन, रम्न अनि रमाउन आग्रह गर्दछु । देशविदेशमा रहेका आम नेपालीलाई बडादशै २०८० को मंगलमय शुभकामना अर्पण गर्दै माता भवानीले सबैको कल्याण गरून् भन्ने प्राथना गर्दछु ।
*लाओसमा जन्मिएर सोभियत संघबाट इन्जिनियरिङमा उच्च शिक्षा हाँसिल गरेकी नेपालकी बुहारी “ई. मानोलाक बुफाश्री (श्रेष्ठ)” नेपालको जलविद्युत विकासमा लामो समयदेखि कार्यरत छिन् । प्राकृतिक स्रोतमा अत्यन्तै धनी भएपनि मुलुकका राजनीतिज्ञ असल र दक्ष नहुँदा मुलुकले यथोचित प्रगति गर्न नसकी भ्रष्टाचार र बेथितीको चङ्गुलमा फसेको बताउछिन् । उनी जनता सचेत हुने दिन आएको र चाडैं मुलुकले सकारात्मक परिवर्तनको पाटो देख्नेमा ढुक्क छिन् ।