प्रदीप गिरी : ‘अनटेस्टेड, बट रेफ्री’ Nepalpatra प्रदीप गिरी : ‘अनटेस्टेड, बट रेफ्री’
१५ आश्विन २०७९, शनिबार

प्रदीप गिरी : ‘अनटेस्टेड, बट रेफ्री’


प्रदीप गिरी

काठमाडौँ । प्रदीप गिरीको निधनपछि शास्त्रीय चिन्तन र छलफलको एउटा महत्वपूर्ण खम्बा ढलेको महसुस गरिएको छ । यो रिक्तता तत्कालै पूरा होला भन्नेमा कसैको पनि विश्वास देखिँदैन । त्यति मात्र होइन, यो रिक्तता अब कहिल्यै पनि पूर्ति हुँदैन भन्ने विश्वास गर्नेको सङ्ख्या पनि ठूलै छ ।

नेपालको संसद्मा समाजवादी कोणबाट राज्यको नीति, कार्यक्रम र बजेटको समीक्षा गर्ने अनि बिना आग्रह त्यसलाई ठीक बेठीक भन्न सक्ने आत्मविश्वासी स्वर पनि अब कमजोर हुने निश्चित रहेको महसुश गरिएको छ ।

निधन शास्वत नियम हो । ‘मृत्यु नै जीवनको अन्तिम पाना हो’–प्रदीप गिरीले एकपटक कतै भनेको स्मरण छ । उनको दर्शनलाई मान्ने हो भने मृत्यु नै जीवनको पूर्णता हो । तसर्थ, उनको जीवन अब ‘पूर्ण’ भएको छ । ‘पूर्णता’ पाएको उहाँको जीवनको समीक्षा गर्दा उहाँका प्रतिस्पर्धीहरुले पनि उनको सादगी र दार्शनिक पक्षको चर्चा र प्रशंसा गरिरहेका छन् । यसले के देखाउँछ भने उनले सफलतापूर्वक ‘इहलीला’ समाप्त गरेका छन् ।

प्रदीप गिरीले लामो आफ्नो राजनीतिक जीवनमा समाजवादको अध्ययन, विश्लेशण, चर्चा–परिचर्चा र संस्लेषण गर्नुभयो । यसैमा उहाँ रमाउनुभयो । एकपटक विपी कोइरालालाई उहाँले आग्रह गरेका थिए, ‘सान्दाजु अब मेरो सक्रियता समाजवादको अध्ययनमा केन्द्रीत गर्छु । समाजवादीहरुसँग मेरो संसर्ग बढाइदिनु पर्यो ।’ भारतीय समाजवादी नेताहरुलाई विपी कोइरालाले पत्र नै लेखेर गिरीलाई भेट्न र सम्बन्ध बनाउन आग्रह गरेका थिए ।

समाजवादप्रतिको उनको रुचीलाई यो कसीमा राखेर पनि हेर्न सकिन्छ । एकपटक पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले विपीका बारेमा भनेका थिए, –‘युगभन्दा चाँडो जन्मिएका कारण विपीलाई नेपाली समाजले चिन्न सकेन । उहाँ नेपाली समाजको चेतना स्तरभन्दा धेरै माथि हुनुहुन्थ्यो ।’ विपीको आत्मवृतान्तमा पनि कहीँ कतै उहाँले शास्त्रीय छलफल गर्ने समूह नपाएको सन्देश दिएका छन् ।

तर, प्रदीप गिरी विपीका अगाडि देखा पर्ने यस्ता युवा हुन्थे, जसले विपीसँग समाजवादको शास्त्रीय छलफल गर्ने हैसियत राख्दथ्यो र त्यो छलफलप्रति विपीको रुची बढ्थ्यो । विपीलाई प्रश्न सोध्ने उनको हैसियत देख्दा उनका कतिपय सहकर्मीहरुले उनलाई बक्रदृष्टिले हेरेका दृष्टान्तहरु पनि छन् । उनको अध्ययनको ओजले त्यस्ता बक्रदृष्टिहरु धेरै तल नै बिलुप्त हुन पुगे ।

दर्शनप्रतिको अगाध आस्था, त्यसको व्याख्याता र सक्रिय राजनीति । यो दुवैलाई समायोजन गर्दै हिंड्न सक्ने पात्रहरु कमै पाउँछ समाजले । गिरीले त्यो हैसियत बनाउनुभयो भन्न सकिन्छ । उहाँ सक्रिय राजनीतिबाट विश्राम नलिएरै दर्शनको महत्वको प्रचार गर्दै हिडिरहे । कांग्रेसको नेता, सांसद तर कम्युनिष्टहरुलाई माक्र्सवाद र साम्यवाद पढाउँदै हिड्ने पात्र एउटै ! राजनीतिक रुपमा विभक्त नेपाली समाजमा यो कुरा असम्भव लाग्छ ।

तर प्रदीप गिरी त्यस्तो ‘असम्भव पात्र’ बनेर पनि आफ्नो थप परिचय स्थापित गर्न सफल हुनुभयो । समाज विकासको क्रममा माक्र्सवादलाई स्वभाविक दर्शनका रुपमा उहाँले व्याख्या गर्दै हिडे । उनले भने,–‘माक्र्सको दर्शनप्रतिका मेरा असहमतिहरु छन्, तर त्यो एउटा स्वभाविक दर्शन हो ।’ उनको अध्ययन, आत्मविश्वास र स्पष्ट दृष्टिकोणपछिको अभिव्यक्ति थियो यो ।

विपी कोइरालाबाट निकै प्रभावित, दीक्षित उहाँको सबैभन्दा प्रिय कुरा थियो–स्वतन्त्रता । स्वतन्त्रताको अभावमा दर्शन पनि निर्माण हुन सक्दैन र स्वतन्त्रतालाई अस्वीकृत गर्ने दर्शन समाजको लागि उपयोगी पनि हुनै सक्दैन । तुलसी गिरीको परिवारका प्रदीपलाई एकपटक आफ्ना परिवार र शुभेच्छुकहरुबाट पञ्चायतमा प्रवेश गर्न निक्कै दबाब परेको थियो ।

उनले पञ्चायतमा दर्शन देखेनन् र दबाबलाई अस्वीकृत गरी दिए । पारिवारिक दबाब र स्वतन्त्रताको लडाई रोज्दा उनी स्वतन्त्रताको लडाईको कित्तामा उभिए । माक्र्सवादको प्रशिक्षक भएर हिड्दै गरेका उनी कहिल्यै कम्युनिष्ट हुनु भएन । यी दुई सन्दर्भले उनी स्वतन्त्रताको बलिया पक्षधर भएको प्रमाणित हुन्छ ।

‘गाउँले सभ्यताको विकास गर्ने बजेट भएन’ भनेर तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको बजेटमाथि संसदमा उनले गरेको टिप्पणी निकै चर्चित रह्यो । विपीले परिकल्पना गरेको नेपालको सन्दर्भमा प्रजातान्त्रिक समाजवादको व्याख्या गर्न उनी अब्बल थिए । प्रष्ट वक्ता र सरल शब्दचयन उनका विशेषता थिए । यी विषेशताको उचाईबाट उनले सबैलाई ललकार्ने हैसियत राख्थे ।

एउटा सन्दर्भमा कांग्रेसका केही नेताहरुले आफ्नो कार्यकालको उपलब्धिहरु सुनाउने क्रममा भन्दै थिए कि हाम्रो पालामा यति विद्यालय थपिए, यति स्वास्थ्यचौकी थपिए आदि आदि । कार्यक्रमको अन्त्यतिर बोल्दै गिरीले भन्नुभयो, ‘तपाईहरुले थपेको सरकारी स्कूलमा कति विद्यार्थी पढ्छन् आज ? तपाईहरुले थपेका स्वास्थ्य चौकीमा कति बिरामी आउँछन् आज ? तपाईहरुले त्यो हेर्नुभएको छ ? भौतिक संरचनाको निर्माण मात्र समाजवादको पूर्वाधार हैन ।’ उदारवादी अर्थतन्त्रको अभ्यास गर्दै गर्दा राज्य आफ्नो दायित्वबाट बिमुख हुन पाउँदैन भन्ने सन्दर्भमा उनको यो भनाइ आएको थियो ।

तराईको सम्पन्न परिवारमा जन्मिएर पनि विलासी संस्कृतिको अवलम्बन नगर्नु उनको समाजवादप्रतिको सम्मोहको एउटा बलियो उदाहरण हो । दर्शनको व्याख्या गर्नेहरु प्रायः एकाङ्की, सामूहिक गफगाफमा रुचि नदिने स्वभावका हुन्छन् । एकोहोरो बोलिरहन रुचाउँछन् । तर गिरी फरक हुन्थे । गाउँमा गएर सम्बाद गर्ने, सुन्ने उनको रुचि नै थियो । युवाहरुलाई अभिप्रेरित गर्ने उनीहरुसँगको संवादमा जोड दिने उनको क्षमता र स्वभाव थियो ।

गिरी पटकपटक सांसद हुनुभयो तर मन्त्री बन्न चाहनु भएन । मन्त्री किन नभएको भन्ने प्रश्नको मनमौजी जवाफ दिनुहुन्थ्यो, ‘कसैले बनाए पो हुने’ भन्ने जस्तो जवाफ आउँथ्यो । उहाँ आफैँ परीक्षणमा जाने भन्दा परीक्षणमा गएकाहरुको मूल्याङ्कन र खबरदारी गर्ने पात्रका रुपमा आफूलाई उभ्याउन इच्छुक देखिनुभयो । अर्थात उनी ‘अनटेस्टेड वट रेफ्री’को भूमिकामा नेपाली राजनीतिमा रहे ।

उनी सांसद रहँदा अरु बेला नबोले पनि सरकारको नीति तथा कार्यक्रम र बजेटमा अनिवार्य बोल्नुहुन्थ्यो । सरकार उहाँको पार्टीको होस् वा नहोस्, उहाँको समाजवादको आलोकमा त्यसको समीक्षा गर्थे । उनी संसद्मा बोल्दै गर्दा प्रजातान्त्रिक समाजवादको शिविरजस्तै बन्थ्यो संसद् । कार्यकारीहरु त्रसित हुन्थे । संसदले अब त्यो विशिष्ट क्षण प्राप्त गर्ने छैन । नेपाली समाजले प्रजातान्त्रिक समाजवादको कसीमा नेपाली अर्थतन्त्रलाई डोर्याउनका लागि गरिने खबरदारीको उचो स्वर सुन्न पाउने छैनन् । यो रिक्तता हाम्रो लागि अब बाध्यता हो । अलबिदा प्रदीप दाइ ! (लेखक नेपाल पत्रकार महासङ्घका अध्यक्ष हुन् )


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !