समग्र मुलुकले परिवर्तन खोजिरहेको छ, विकास, समृद्धि र भ्रष्टचारमुक्त सुशाशनको पखाईका आम नेपाली जनताहरुको झुकाव यो पटक नेकपा एमाले, गठबन्धनमा रहेका नेपाली काँग्रेस र माओवादी केन्द्रको पक्षमा देखिएको छ ।
गफ, भाषण र उखान हैन, जनताको चाहना आफ्नो ठाउँ, आफ्नो गाउँको मुहार फेर्न आतुर छन् । सधै ब्यबस्थालाई दोष दिएर अनेकन प्रपंच रचेर जनताको दुरुपयोग गर्दै मुलुक र जनताको भाग्य र भविष्यमाथि खेलबाड हुन् थालेको तीन दशक भई सकेको छ, अव व्यवस्था हैन अवस्था परिवर्तन गराउनु पर्छ ।
के हामी अहिले नै सबै ठाउमा अवस्था परिवर्तन गर्न सक्छौ ? अवस्था परिवर्तन गराउन के चाहिन्छ ? कहिले सो विषयमा बहस, छलफल भएको छ र ? अवस्था परिवर्तन गर्न गराउन के हामीसँग सोही किसिमको जनशक्ति उत्पादन भएको छ र ? गम्भीर भएर यी मुद्दाहरुमा ठुला दल अव नलाग्ने हो र यसरी नै चुनाव गराउदै बल्जफती गर्दै जाने हो भने संसारकै उत्कृष्टमध्येको शाशन पद्धतिलाई त्याग गर्नुपर्ने दिन धेरै टाढा होला जस्तो लाग्दैन ।
तीन दशक अगाडी पंचायती व्यवस्था र राजतन्त्रको बिरोध गरी कार्यकारीबाट सेरे्मोनियल बनाइएको राजतन्त्र केहि समयमा नेपाली जनताले फेरि इतिहासमै सिमित गरिदिए तर एक दशक कै अन्तरालमा जनता फेरि बैकल्पिक व्यवस्थाको खोजी गरिरहेको पाईन्छ, तर किन ? के साच्चै नै व्यवस्थामा समस्या हो कि व्यवस्था संचालन गर्ने व्यक्तिको छनौटको प्रक्रियामा खरावी वा जनताले अभिमत कसरी राख्ने भन्ने बिषयमा चेतनाको कमि भएर होला ? यो बिषयमा गहन अध्ययन हुन् निकै ढिला भई सकेको छ ।
सांगठनिक राजनीति गर्नु र राजनीतिक पार्टीका प्रतिनिधिले कार्यपालिका, व्यवस्थापिकाको प्रमुख भई संचालन गर्नु फरक विधा हुन् । सवैसँग सबै किसिमको क्षमता हुन् जरुरी हुदैन र सो अपेक्षा गरिए वा राजनीतिमा लाग्ने बित्तिकै सर्वज्ञ हुने नेपाली सिद्धान्तको तत्काल अन्त नभए दुर्घटना निश्चित छ ।
मुलुकलाई कसरि समृद्ध बनाउने र यसको लागी बिकास का मोडल, अर्थनीति आदि प्रत्येक पार्टीका फरक हुन् सक्छन तर विदेश नीति, रक्षा नीति, बिकासको लागी स्वदेशी र बिदेशी लगानीको रणनीति, अनुदान, ऋण आदिका नीतिहरु जो सरकारमा होस् कि नहोस एक हुन् जरुरी छ ।
राजनीति क्षमताले मापन गरिन्छ नकी भावनाले त्यसैले पदीय मर्यादा अनुरुपको योग्यता र क्षमताको कसीमा खरो उत्रन सक्ने व्यक्तिलाई टिकट उपलब्ध गराउने परिपाटी बसाल्न जरुरी छ नकी राजनीतिक लगानीको आधारमा, परिवारको बिरासतको आधारमा कोहि कसैलाई पार्टीले टिकट दिइनु सर्वथा गलत हुनेछ ।
सवैले बुझेका छौ, जानेका छौ, देखेका छौ अनि केहिले भोगेका समेत छौ मन्त्रीलाई, मेयरलाई, पालिका अध्क्षयहरुलाई कर्मचारीले टेरेनन्, काम गराउन सकेनन्, बर्षौ पदमा बसे केहि गर्न सकेनन्, आखिर किन होला ? यस्ता समस्त परिवेशको एउटै उत्तर छ, त्यो व्यक्ति त्यो पदको काविल थिएन, कारण अरु केहि छदै छैन ।
गाउँपालिका, नगरपालिका आफैमा स्वायत्त छन्, नेपालको बिकास बजेट अत्यन्तै न्यून छ त्यसैले यस्ता ठाउँका प्रमुख या मेयरहरु अत्यन्तै काविल हुन् जरुरी छ । केन्द्रले पठाएको बजेटले मात्र विकास असम्भव हुने हुँदा, प्रदेश र केन्द्रमा गई ठुला योजना ल्याउन सक्ने, केन्द्रबाट समेत बजेट आउन नसक्ने अवस्था भए बिदेशी दाताहरुसँग समन्वय गरी बजेट ल्याएर काम गर्न सक्ने र भ्रष्टचार निर्मुल पारी सुशाशन कायम गर्न सक्ने काविल सेवकको खोजी हरेक गाउँमा हुन् जरुरी छ ।
प्राय सवै पार्टीको अहिलेको झुकाव हेर्दा धेरैजसो ठाउँमा आफ्नो प्यानल र पार्टीलाई व्यक्तिले गरेको लगानीलाई बिशेषत केन्द्रमा राखी टिकट दिइएको पाइएको छ, हो यो पटकसम्म एकाध बाहेक अरु तेश्रो शक्तिको त्यति प्रभाव परेको देखिएन तर अर्को चुनावमा पनि जनता यसरी नै पार्टीको यहि रबैयालाई स्वीकार गर्लान ? कथम कदाचित स्वीकार गरे भने पनि देश दुर्घटनातर्फ उन्मुख हुने निश्चित छ ।
सबैलाई लाग्ला यो पंङति्कार असाध्य नकारात्मक उर्जा बोकेको होला भनेर तर अहिलेसम्मको हाम्रो इतिहासलाई चिरेर हेर्नुहोला, हरेक दशक काट्नासाथ मुलुकमा व्यवस्था परिवर्तनको खातिर ठुला आन्दोलन भएका छन् । समय, काल परिस्थिति अनुसारका टाठा, बाठा, ध्रुतहरुको राम्रो बन्दोबस्थी मिलेको छ तर आवाजबिहिन निमुखाहरुको आधारभूत बाँची खाने मेसो कसैले मिलाउन सकेका छैनन्, शहिदहरुलाई हरेक कार्यक्रममा श्रद्धान्जली अर्पण गरिन्छ तर त्यही शहिदका परिवारहरु भोकै नाङ्गै समेतको उपेक्षा गरिएको दृश्य हाम्रो सामु छर्लंग छ ।
मैले जे-जति बृतान्त गरे यो सवको औषधि यस प्रकारका छन् :
१. पद अनुसारको कामको विवरण उल्लेख गरी सो अनुसारको प्रत्येक पार्टीबाट उत्कृष्ट उम्मेद्वारको चयन गर्नुपर्छ
२. प्रत्येक गाउँपालिका वा नगरपालिकामा उम्मेद्वारको बारेमा जनतालाई बुझ्न बुझाउन बिशेषज्ञ सहितको संयुक्त अन्तर्क्रियाको कार्यक्रम, जसमा उम्मेद्वारले हालसम्म भए गरेका कामको समिक्षा, उसको कार्ययोजना, आर्थिक, विकास र समृद्धि हासिल गर्न रणनीतिको प्रष्ट खाका जनतालाई प्रष्ट पार्नु पर्छ ।
३. प्रत्येक टोल र गाउँमा गरिने कार्यक्रमहरु अनिवार्य संयुक्त नै हुनुपर्ने र जनताका प्रश्नहरुलाई प्रष्ट पार्नु पर्छ
४. घरदैलो कार्यक्रम अनिवार्य बन्द गरिनु पर्छ
५. अभिमत खरिद बिक्रि निषेध गर्न गराउन कडा भन्दा कडा दण्ड सजायको व्यवस्था हुनै पर्छ
कम्तिमा यहि पृष्ठभूमिमा रहेर मुलुकको भाग्य र भविष्यलाई अगाडी बढाउदा गन्तब्यमा पुग्ने निश्चित हुन्छ भने क्षमतावान व्यक्तिहरु नेपाली राजनीतिको मैदानमा आउने बाटो खुल्नेछ र चाडै मुलुकले समृद्धिको सहि बाटोलाई आफ्नो गन्तव्य बनाउने छ ।
स्थानिय निर्वाचन २०७९ लाई मध्यनजर गर्दै प्रेषण गरिएको यो सन्देशमार्फत हरेक गाउँ-गाउँका विजयी उम्मेद्वारहरुलाई शाशक हैन सेवक भई काम गर्न ईश्वरले शक्ति प्रदान गरुन्। तपाईहरुको मन आफ्नो गाउँको निमुखाहरुमा केन्द्रित रहोस । वडा कार्यालय सरकारको एक सम्मानित अंश भएपनि तपाईहरु जनताको घरदैलो र मेलोमा पुग्ने हिम्मत राखिदिनु होला ।
तपाई कुनै पार्टी वा समुह विशेषले त्यो ठाउँमा पुग्नु भएको छ, धेरै व्यक्तिहरुको अथक मिहेनत छ तपाईप्रति तर अव तपाई सबैको साझा प्रतिनिधि भई सक्नु भयो, त्यही अनुरुपको साझा व्यवहारको प्रतिक्षामा छन् जनताहरु । केहि व्यक्ति वा समुह निश्चित रुपमै स्वार्थ बोकेर तपाइको सहयोग गरेको हुनुपर्छ र हुन्छन पनि तर यो सवैलाई बिर्सिएर मूल कर्तव्यमा लाग्नु तपाइको जिम्मेवारी हुनेछ ।
मेरो गाउँमा केहि छैन भन्नुभयो भने त्यो तपाइको क्षमताको विकास गरी त्यहाँको सम्भावनालाई खोजी गरेर तपाईको गाउँको दिगो आर्थिक उपार्जनका बाटाहरु खोल्नुहोस् ता कि आगामी दिनमा तपाईको वडा वा गाउँ स्व:निर्भर बनोस् । जनताले आफ्नो घरको मुली बनाएका छन्, अव परिवारको हरेक सदस्यलाई मागेर खाने बनाउने कि स्वावलम्बी बनाउने यो तपाइको हातमा जिम्मेवारी आएको छ । पहिलो दिनबाटै फलदायी र आशाबादी व्यवहारको अपेक्षामा छौ ।
जय मातृभूमि !
यो पनि पढ्नुहोस्
स्थानीय निर्वाचन क्रान्तिको बिगुल कि रोजाइको जनप्रतिनिधि
*नेपालको सुदूर पूर्वी जिल्ला ताप्लेजुङमा जन्मिएका बीरेन्द्र श्रेष्ठ नेपाली संगीत क्षेत्रमा लोक पप विधामा अत्याधिक मात्रामा प्रिय भएर चिनिएका गायक तथा जलविद्युत क्षेत्रका हस्ती बरिष्ठ इन्जिनियर हुन् ।