७ बैशाख २०८१, शुक्रबार

देशमा केहि नगरी मुल्यवृद्धि गर्ने बाध्यता मात्र समाधान हो त ?


डा. राम बहादुर बोहरा

पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्नु कति जायज कति नाजायज भन्ने कुरा वर्तमान अवस्थालाई नियालेर हेर्नु पर्छ । गरिबीको रेखामुनि रहेका कमजोर व्यक्तिलाई सवैभन्दा ठूलो मार पर्ने देखिन्छ । एकातिर सरकार धान्न कर र मुल्यवृद्धि जस्ता काम गर्न पर्ने वाध्यात्मक परिस्थिति खडा भएको छ भने अर्कोतर्फ तेलको भाउ घट्नुको सट्टा बढी रहनुले दिक्दारी भएको छ ।

हुन पनि हो देशमा आय स्रोत हुने खालका सबै उद्योग रिसरागमा समाप्त पारेर नया उद्योगतर्फ सरकारको ध्यान पुग्न सकिरहेको छैन । नेपालको राजनीति विकासतर्फ भन्दा पनि जात र जाति एक आपसमा लडाउन, धर्म संस्कृति न्याय कानुन जस्ता स्थानमा राजनीति घुसाउने एक आपसमा नेपाली-नेपालीवीच लडाउने जस्ता काममा लागेको देखिन थालेको वर्तमान अवस्थाले देखाएको छ ।

आज युवाले देशमा धर्म संस्कृति र संस्कार भएन भन्दै राजा गुहार्ने गरेको हामी देख्न सक्छौं । नेपालमा जसरी धर्म संस्कृतिमाथि प्रहार गरिएको छ यो नितान्त गलत छ । विदेशीको चाहनामा लाग्ने हाम्रा नेतृत्व वर्गले धर्म मास्दै गर्दा यसको सवैभन्दा ठूलो असर युवाहरुमा पर्न गएको सहज अनुमान लगाउन सकिन्छ ।

लोकतन्त्रले जनताको भावनालाई समेट्न नसकेको देखिन्छ । राजसंस्था फालेर देशले फट्को मार्न सक्छ भन्ने हरेकको सोचलाई गलत सावित गरेको छ । देशलाई जसरी राजसंस्थाले उद्योग स्थापना गराएर बेरोजगार हटाउन सफल भएको थियो तर त्यसरी नै राजनीति दलले सवै मिलेर काम गर्दै गएको भए आज असफलाको मुख देख्नु पर्ने थिएन । परिवर्तन भयो भ्रष्टाचार गर्नेहरुको नत कानुन छ नत कानुनले राजनीति दललाई कारबाही नै गर्न सक्छ ।

कानुन राजनीतिबाट पृथक रहेर काम गर्नुपर्नेमा कानुन नै राजनीतिक दाउपेचमा लागेको हामी देख्न सक्छौं । जनताले न्यायको आशा मार्न थाल्नु भनेकै देशमा अशान्ति मचिनु हो भन्दा खासै फरक देखिएको छैन । अब देश असफलतातर्फ उन्मुख भएको देखिन्छ । यस्तो घडिमा सवैभन्दा धेरै यो देश बनाउने साह बंशका सन्ततिलाई पिर पर्नु स्वाभाविक हो यसमा दुईमत छैन ।

आज राजा ज्ञानेन्द्रले मुख खोल्दा डराउनु पर्ने जस्तो मलाई लाग्दैन किनकी जब-जब देशमा आपत आइलाग्छ तब-तब राजाहरूले नै देशको रक्षा गरेका थुप्रै इतिहास छन् । देशले विकासमा फड्को मारेको भए शायद राजालाई हजुर नबोल्नुस हानीले विकास गर्दैछौं भन्न सुहाउने थियो तर यसो नभई चुनाव लड्न आब्हान गर्नु भनेको कमजोर सोचको उपज हो भन्दा खासै फरक छैन ।

नत राजा चुनाव लड्छन् नत राजाले राजनीति गर्छन् । राजनीति भनेको नै कमाउने थलो हो यहाँ विकासको एजेण्डा लिएर कोही गएको देखिएको छैन । जसले पैसा खर्च गरेर जितेको हुन्छ उसले खर्च गरेको पैसा उठाउने काममा लागेको हुन्छ । यो नै कटु सत्य हो । भ्रष्चार गर्नेले विकास आफ्नो गर्छ । कमजोर मान्छेले चाडै नै आफ्नो औकात देखाउने थलोलाई राजनीति थलो भन्दछन् ।

कुनैपनि देशले देश बनाउन सवैभन्दा ठूलो सहयोग जनताबाट लिन सक्नुपर्छ । आज जनताका छोरा बेरोजगार छन् देशमा सवैभन्दा ठूलो समस्या केछ भन्ने तर्फ लागेर कामगर्ने वातावरण तयार पारेर अघि बढ्न सक्नुपर्ने ठाउमा फिजुल खर्च तर्फ लागेर देशलाई ठूलो रिणको भार बोकाउन तर्फ लाग्नुले नै देश असफलता तर्फ लागेको सहज अनुमान लगाउन सकिन्छ ।

सामान्य घर चलाउन जति गारो छ त्यो भन्दा धेरै देशको बागडोर समाल्न लागेको हुन्छ। संघीयताले देशलाई टुक्रा टुक्रामा बाड्ने काममालागेको हामी देख्न सक्छौं । सवैलाई राजा बन्ने इच्छा नहोला भन्न सकिदैन यदि यही तरिकाले देश अघि बढ्दै जाने हो भने देश विखण्डमा नपुग्ला भन्न सकिदैन । सायद यही बुझेर होला युवाहरुले आउराजा देश बचाउ भन्दैछन् ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !