१. वर्तमान समयमा आएर युद्धको चरित्र फेरिएको छ ।
आज आएर युद्धको लक्ष भूगोल हुँदैन, हुने गरेको छैन – भूगोल भित्रका धर्म, संस्कृति, परम्परा, राजनीतिक सामाजिक र आर्थिक संरचना, प्रणाली र त्यसलाई प्रतिनिधित्व गर्ने व्यक्ति र सँस्थाहरू हुन्छन् ।
२. युद्ध कुनै नियमित सेनाले गर्दैन, कुनै भूगोल भित्रका मिडिया, सामाजिक सञ्जाल, नागरिक समाज, राजनीतिक दल र तिनका नेता, पेशागत संगठन ट्रेड युनियन जस्ता संरचनाहरूलाई नै आफ्नो सेनाकोरूपमा प्रयोग गरिन्छ ।
युद्धको हतियार भनेको पैसा, विदेश भ्रमणको अवशर, महँगा उपहार, छात्रवृत्तिहरू हुन्छन् ।
युद्धको रणनीति भनेको मिडिया र कथित नागरिक समाज, विभिन्न बर्गीय र पेशागत संगठन मार्फत फरक आस्था, विचार र संस्कृतिलाई प्रतिनिधित्व गर्ने व्यक्ति र सँस्था विरूद्ध घृणा,झूठ, भ्रमहरूको खेती र निर्देशित तथा खास उद्देस्यबाट प्रेरित दुष्प्रचार वाजी ।
३. त्यस्तो युद्धमा प्रहार मूलत: राज्यको सुरक्षा र स्थिरतामाथि हुन्छ, राष्ट्रिय इच्छाशक्ति माथि हुन्छ र जनताको मुलुक प्रतिको सकारात्मक चेत, आस्था र विश्वासमाथि हुन्छ ।
४. सवैले देख्ने बुझ्ने गरी १२ बुँदे र त्यसको पृष्ठभूमिको विद्रोहबाट नेपाल विरूद्धको त्यस्तो युद्ध आरम्भ भयो ।
त्यसको लागि राजा ज्ञानेन्द्रको दानवीकरण गरियो ।
विद्रोहमा संलग्न केही मूख्य नेताहरूलाई थुनामा अन्य प्रमुख नेताहरूलाई सम्पूर्ण सुविधा सहितको विशिष्ट राजनीतिक व्यवहारबाट पनि धेरै कुरा प्रष्ट हुन्छन् ।
एक जना विदेशी कूटनीतिज्ञले तत्कालीन शाही नेपाली सेनाका उच्चतम अधिकारीहरूलाई आत्मसमर्पण गराए ।
युरोपियन मुलुकका राजदुतहरू सामूहिकरूपमा ६२-६३ को जन आन्दोलनका मूख्य नेताको निवासस्थानमा पुगेर एक किसिमको धर्ना दिए – राजसँस्थासँग र राजसँस्थाको स्थायित्वको हकमा कुनै सम्झौता नहोस् भन्ने भद्र चेतावनी पनि दिए ।
५. त्यसपछि नेपाललाई धर्मनिरपेक्ष सङ्घीय गणतन्त्रमा प्रवेश गराइयो ।
नेपाली धर्म, परम्परा र संस्कृतिको दोहोलो काढियो !
राजनीतिक दल र सेनाको प्रतक्ष-परोक्ष बलमा राजा हटाइए, धर्म मासियो ।
समाज भत्काइयो ।
जनतामा आधार भएका हरेक नेतालाई समाप्त पार्ने र कलमी नेतालाई स्थापना गर्ने क्रममा हिजो ओलीलाई पाखा पारियो अव देउवालाई पाखा पार्न भरमग्दुर गरिँदै छ ।
चोलेन्द्र शमशेर त्यसैको शिकार बन्दैछन् ।
संसद र राजनीतिक दलहरू पति-पत्नी, भाई-बुहारी, छोरा-भतिजा र प्रेमिकाहरूको क्रिडास्थल बने ।
लोकसेवा आयोगले लिएको जिल्ला न्यायाधीशहरूको परीक्षामा जो उच्च अङ्क ल्याएर उतीर्ण भए ती आज पनि जिल्ला अदालत मै छन् – उक्त परीक्षामा असफल हुने वकिल सापहरू राजनीतिक दलको बलमा पुनरावेदन र सर्वोच्च अदालतमा पुगिसके ।
दलहरूका कार्यकर्ता बारमा र त्यस्तै कार्यकर्ता सर्वोच्चमा !
अनि आजको अवस्था ।
६. के बाँकी छ अब मुलुकमा ?
के हो मुलुक भनेको ?
भूगोलको एउटा खाका बाहेक नेपाल छैन ।
७. भूगोल नेपाल होइन ।
नेपाल नरहे पनि भूगोल रहिरहन्छ ।
अर्थात् हामीसँग भूगोल छ, नेपाल छैन !
त्यसैले समग्रमा नेपाल भनेको के हो, राष्ट्रिय स्तरमा त्यसको निर्क्योल गरेर समग्रमा नेपाललाई नेपाल बनाउने एउटा वृहत राष्ट्रिय प्रतिवद्धता बेगर नेपाल नेपाल रहँदैन !
*यो लेखकको निजी नितान्त धारणा हो ।
*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुन् ।