७ मंसिर २०८१, शुक्रबार

सम्झनामा बाल्यकाल र पुष १५ को बनभोज


रामचन्द्र तिम्सिना

सर्वप्रथम त आज परेको उधौली पर्ब, धान्य पूर्णिमा, तमु ल्होसार, योमरी पुन्हि एवम् ज्यापू दिवस तथा अविस्मरणीय दिन पुष १५ बनभोज खाने दिनको एक मुस्ट शुभकामना सबैमा ।

अतीत अतीत नै हुन्छ त्यही माथि अवोध बालापनका यादहरु झन सम्झिन लायक हुन्छन् । जस्तै गुच्चा, चुंगी, डण्डिबियो, कबर्दी, भाले जुधाई वा अन्य खेल र घटना सम्झिन लायकका छन् ।

आज म आफ्नै बाल्यकालको आजैका दिनमा प्रवेश गर्न चाहन्छु । आज भन्दा लगभग ३० बर्ष अघिको घटना २०४५ साल तिरको कुरा हो । त्यतिबेला म भर्खर १० बर्षको चंचले बालक थिए ।

मस्तिष्कमा नयाँ कुरा खाने, नयाँ लाउने र नयाँ कुरा गर्ने बालहठ सबैमा हुन्छ र त्यो म भित्र पनि थियो । अहिलेको जस्तो पैसा, चामल , मासु, चकलेट र बिस्कुट जस्ता यावत कुराहरुको त्यति बेला सहज उपलब्धता थिएन ।

त्यो दिन अचानक खेल्ने क्रममा दिउँसो एकजना साथीले भन्यो ओई आज हामी पनि बनभोज खान जाऊ ? प्रस्ताव निकै रोमाञ्चक थियो।मैले कौतुहलता पस्किदै भने जान त जाने के लाने र कहाँ जाने ? टाढा नजाने यहीँ नजिकै बारिको कुना तिर जाने एउटा साथिले मेरो कौतुहलता मेटायो ।

जान राजी पनि भइयो हामी मध्य कै एकजना १/२ बर्ष जेठो दाई पनि संगै थियो उसैले कस्को घरबाट के ल्याउने भन्ने भाग लगायो।मेरो भागमा चामल र मसला ल्याउने पर्यो । घरमा आए तर सनुस (मधुस) खुल्ला थिएन ।

अहिले जस्तो बोराको चलन खासै थिएन त्यति बेला आमाले चामल डालोमा भरेर मरमसला सहित भित्र राख्नु हुन्थ्यो । जानू त थियो नै त्यो भन्दा ठूलो कुरो लानु पनि थियो । धेरै मिहेनत प्रयत्न गरियो खोल्न सकिन।”पुष फासफुस” भन्ने उखानै छ ५ बज्दा नबज्दै झमक्क साँझ पर्छ।३ बजि सकेको थियो ।

एकाएक अल्लारे बुद्धि पलायो काका बाउले हलो बनाउने गर्नु हुन्थ्यो उनैको रामो र बसिला लिएर आए बुद्धि पनि थियो तत्काल थाहा नपाओस भनेर अगाडी ताला थियो पछाडी पट्टि प्वाल पारेर ३ माना चामल र अलिकति मसला लिएर गएँ।

साथी भाई जम्मा भैयो ढुंगे चुलोमा मकैको ढोंड बालेर जानेको पकाईयो । दालको चलन खासै थिएन रायोको सागमा तन्द्रङ्ग झोल हालेर खाँदा खुब स्वादिलो पनि भयो । रित्तो थाल ठटाएर गित गाईयो, स्याल कराउँदै घर आईयो ।

यता आमा चिन्तित बनेर रिसले आगो हुनुहुन्थ्यो नहोस पनि कसरी रातको आठ बजिसकेको थियो गाउँघर सुनशान भई सकेको थियो । हातमा लिनु भएको गोरु पिट्ने लौरिले पिडौंलामा सुम्ला उठ्ने गरि हान्नु भएको याद आजसम्म पनि ताजै छ ।

सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला यो कथा सिधैं बैकुण्ठ जाला ।

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !