७ मंसिर २०८१, शुक्रबार

दुई तिहाईका प्रधानमन्त्री र नेपाल राष्ट्रको भविष्य


केशव प्रसाद भट्टराई

१. कतिखेर पार्टीका वरिष्ट नेता र पूर्व प्रधानमन्त्रीहरूको नौ सदस्यीय क्लबको बहुमतको नाउमा कति पाने पत्र आउँछ भनेर पर्खिएर बस्ने र
साता दस दिन लगाएर त्यसको प्रत्युत्तर लेख्ने वाध्यतामा बाँधिएका र
त्यही नौ सदस्यीय क्लबमा एक सदस्य यताउता हुँदा झन्डै एक वर्षदेखि मुलुकको संसद, सरकार र सत्तारूढ दल बन्धक रहेको,
दुई तिहाई बहुमतको सरकारका प्रधानमन्त्रीलाई उनैका दलका साना ठूला सामन्त, मठाधीश र तिनका ढोके, बैठके र सेवादल अमर्यादित र अनुशासनहीन तरिकाले मिडियाको माध्यमबाट उत्ताउलिएर आज राजिनामा र भोलि राजिनामा मागिने राजनीतिक अभ्यासले निर्माण गरेको राजनीतिक अराजकतामा किम् कर्तव्य विमूढ देखिएका प्रधानमन्त्री !

२. त्यस्तो क्लबमा कतिखेर कुन समीकरण बन्छ, कसको पछि लाग्दा मन्त्री पद जोगिन्छ वा मन्त्री पाइन्छ भनेर र्याल , सिँगान चुहाएर चाकडी बजाउन घरी यो दरवार र घरी ऊ दरवार दौडीरहेका सत्तारूढ दलका मन्त्री र सांसदहरू,
नेपालको नाउ किन नेपाल राख्यौ ?
कसैलाई किन नियुक्ति गर्यौ ?
भनेर प्रश्न गर्ने संसदीय समितिहरू,
आफ्नो रहर, स्वार्थ र आग्रह पुरा गर्न प्रमुख प्रतिपक्षी दल किन सरकारको विरोधमा सडकमा आएन ?
भनेर सडकमा राँको बाल्ने रहर, आग्रह, स्वार्थ, र कुण्ठा पालेर बसेका वौद्धिक र मिडियाहरू,
कुनै पद, कुनै नियुक्ति, र कुनै छ -आठ महिने सरकारमा मन्त्री र प्रधानमन्त्री हुन आफ्नो इतिहास, पहिचान, गौरव , मूल्य र विश्वासलाई बारम्बार लत्याउने तर आफूलाई मुलुकको प्रजातन्त्रको पर्याय बताउने प्रमुख प्रतिपक्षी दलका साथै,

३. प्रचण्ड, बाबुराम, उपेन्द्र यादव, राजेन्द्र महतो, हृदयेश त्रिपाठी, आङ्गकाजीहरूले रोपेको हिंसा, घृणा, द्वेष, सामाजिक, जातीय र क्षेत्रीय शत्रुता, दुर्भाव, असहिष्णुता र अराजकताबाट थिल्थिलो पारिएको यो मुलुकको एकता, अखण्डता, शासकीय र राज्य क्षमतामाथि पूर्व एमाले र काङ्ग्रेसका राजनीतिक अकर्मन्यता र तिनका भातृ र शुभेच्छुक संगठनहरूको अशोभनीय र अमर्यादित राजनीतिक दलालीको विद्यमान परिवेश र आफ्नो पहिचान नै हराइसकेका न्यायपालिकादेखि सवै संवैधानिक अङ्गहरू, सुरक्षा निकायहरू र निजामती कर्मचारी र सार्वजनिक सेवा क्षेत्रहरूको अराजक र अनुत्तरदायी उपस्थितिमा जो आए पनि मुलुकमा शान्ति र स्थिरताको वातावरण निर्माण गरेर यो मुलुकलाई अघि बढाउन सक्लान् भनेर आश्वस्त हुन सकिन्न ।

४. माथिको परिवेश निर्माणमा जिम्मेदार रहेका सवै विरूद्ध कठोरतापूर्वक उभिन सक्ने,
मुलुकको शान्ति, स्थिरता, एकता, अखण्डतालाई सुनिश्चित गर्दै,
मुलुकको आन्तरिक राजनीतिलाई सम्भव भए सम्म वाह्य हस्तक्षेपबाट मुक्त राखी,
जनताको सर्वोच्चता र प्रभुसत्तालाई व्यवहारमा पुन नेपाली जनतामा नै फर्काउन सक्ने शक्ति नेपाल राज्यले जन्माउन सक्ला ?
सम्भव देखिन्न ।
साविकको क्षेत्रीय अन्तर्राष्ट्रिय परिस्थितिमा पनि यो सम्भव देखिन्न ।
त्यसैले मलाई लाग्दछ,नेपाल लामो समय सम्म यस्तै रहने हो ।

५. यिनै राजनीतिक दलहरू, यिनै राजनीतिक सँस्थाहरू, हाम्रा यिनै छिमेकीहरू !
अनि हाम्रो संविधान र हाम्रो चरित्रले नेपाललाई अर्को गन्तव्य दिने सामर्थ्य नराख्ला !

६. देशको लागि हामीले के दिने ?
हामीसँग जे छ, हामीलाई जे जति अधिकार र सुविधा उपलव्ध छ ती सवै केही समयकोलागि राष्ट्रलाई समर्पण गर्ने हाम्रो सङ्कल्प र यो सङ्कल्पलाई पूर्ण निष्ठा र समर्पणका साथ नेतृत्व दिन सक्ने राजनीतिक, सामाजिक, सांगठानिक र वौद्धिक नेतृत्व बेगर मुलुकले यो अवस्थाबाट मुक्ति नपाउला !

७. हाम्रा राजनीतिक दल हरू , हाम्रा राजनीतिक नेत्रित्वहरू र हामी सवै यिनै हौँ ।
राजा महेन्द्र, वीपी कोइराला,कृष्ण प्रसाद गिरिजा प्रसाद, राजा वीरेन्द्र, राजा ज्ञानेन्द्रदेखि कथित जनयुद्ध र जन आन्दोलन हुँदै जनताका प्रतिनिधिहरूले निर्वाचित सम्विधान सभामा बसेर बनाएको भनिएको संविधान र त्यो संविधान अन्तर्गतको दुई तिहाइको गणतान्त्रिक सरकार र मुलुकका अत्यधिक लोकप्रिय भनिएका व्यक्तिको नेतृत्वको सरकारको हालत पनि त यही हो ।

८. सत्तारुढ दलको कार्यकारी अध्यक्षले आफ्नो दलको प्रधानमन्त्री विरूद्ध लगाएको आरोप र प्रधानमन्त्रीले आफ्नो दलको कार्यकारी अध्यक्ष विरूद्ध लगाएको जस्तो आरोप सम्भवत संसारको कुनै प्रधानमन्त्री र पार्टी अध्यक्षले एक अर्कालाई लगाएको र एक अर्काले बेहोरेको नहोला ।
मुलुकको सर्व शक्तिमान प्रधानमन्त्रीले आफ्नो दलका कार्यकारी अध्यक्षलाई जुन आरोप लगाएका छन् – त्यो आरोपको छानवीन गराएर दण्डित गराउने दायित्व प्रधानमन्त्री कै हो,
तर प्रधानमन्त्री त्यसलाई राजनीतिक मोलतोलको रूपमा उक्त विषय उठाइरहेका देखिन्छन् ।
स्पष्ट छ, प्रधानमन्त्रीले लगाएको त्यो आरोप गलत होइन, तर प्रधानमन्त्री नै आफूले लगाएको उक्त आरोपप्रति इमान्दार छैनन्,
त्यो आरोपप्रतिको दायित्व निर्वाह गर्ने राजनीतिक र नैतिक साहस प्रधानमन्त्रीसँग छैन ।

९. अनि आफ्ना ती दुई मालिकको झगडा उनीहरूको जागिर, सुविधा र राज्यको ढुकुटीमाथिको उनीहरूको एक छत्र स्वामित्वको लागि खतरा बन्न सक्दछ भन्ने पिरोलोले छटपटिएका कुनै आत्म-सम्मान, स्वाभिमान र विवेकहीन त्यो दलका कथित नेता र कार्यकर्ता ती दुई वीच सहमति र सम्झौता गराउन लागिपरेकै छन् ।
ती आरोपहरूको छानवीनको माग गर्ने राजनीतिक, नैतिक र सांगठानिक साहश र हैसियत उनीहरूसँग पनि छैन ।

१०. नेपाल झन्डै एकीकरण पूर्बको स्थितिमा छ ।
त्यसैले अर्को पृथ्वी नारायण शाह, अर्को बहादुर शाह, अर्को कालु पांडे र अर्का विराज बखेतीहरू, अर्का झागल गुरुङ र अर्का बिसे नगर्चीहरू बेगर नेपालको भविष्य ???
नेपाली राजनीतिले नेपाली धर्तीलाई नै बाँझो बनाइसकेको लागेकोले म त निराशावादी नै छु ।
तपाइँ आशावादी हुनुहुन्छ भने मेरो सहश्र नमन !
धन्य हुनुहुन्छ तपाइँ !

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !