२२ भाद्र २०८१, शनिबार

नैन बहादुर स्वाँरको निधन र नेपाली मिडिया


नैनबहादुर स्वाँर
प्रेमबहादुर सिंह
प्रेमबहादुर सिंह

नैन बहादुर स्वाँर संसदको माथिल्लो सदन (महासभा) को सदस्य, ४ पटक राष्ट्रिय पञ्चायत सदस्य, भुमिसुधार राज्यमन्त्री, राष्ट्रिय पञ्चायतको अध्यक्ष, खाद्य तथा कृषि मन्त्री, कानून तथा न्याय मन्त्री, पटक-पटक गृहमन्त्री र नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य लगायत अनेकौं महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु भएका वरिष्ट राजनीतिज्ञ एबं जेष्ट नागरिकको २०७७ साल मंसिर १८ गते ९४ बर्षको उमेरमा (जन्म : बि.सं. १९८४।०८।०९ मृत्यु : २०७७।०८।१८) दु:खद निधन भयो ।

९४ बर्षसम्म जीवित रहेर इतिहासको बिभिन्न कालखण्डमा अनेकौं महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु एउटा ऐतिहासिक परिघटना हो । कुनै पनि ब्यक्तिको मूल्यांकन समय सापेक्ष रूपमा हुने गरिने कुरा आफ्नो ठाउँमा छदैछ तर यति लामो इतिहास बोकेको ब्यक्तिको निधनमा एकाध अनलाइन बाहेक सम्पूर्ण मिडियाको उदासिनता अत्यन्त खेदजनक छ । यो सत्तासिनताको पछि मात्र दौडिने प्रवृतिको ज्वलन्त नमुना हो भन्न करै लाग्छ ।

मिडिया लोकतन्त्रको पहरेदार हो । यसैले लोकतान्त्रिक शासन प्रणालीमा प्रेसलाई पूर्ण स्वतन्त्रता प्राप्त हुन्छ र यसलाई राज्यको चौथो अंग मानिन्छ । तथ्यमा आधारित, तटस्थता र निष्पक्षता प्रेसको विश्वसनियताको मूल आधार मानिन्छ । सत्ताधारीको गुण गाउनु, सत्ता र शक्ति पछि मात्र दौडिनु र अरू सबै पक्षलाई वेवास्ता गर्नु मिडियाको धर्म होईन । विगतमा पनि देखा परेका यस्ता नकारात्क प्रवृतिका बिरुद्ध प्रेस जगतले सम्झौताहीन संघर्ष गरेको गौरबपूर्ण इतिहास साक्षी छ । के नेपाली मिडियाले आफ्नो गौरबपूर्ण इतिहास बिर्सनु बांछनिय हुन्छ ?

अर्को रोचक तर खेदजनक पक्ष । नैन बहादुर स्वाँर गिरिजा प्रसाद कोइराला सभापति हुँदा केन्द्रीय आमन्त्रित सदस्य हुनुहुन्थ्यो । पक्षधरताको कुरा गर्ने हो नेपाली कांग्रेसका नेता तथा नेपाली कांग्रेस पक्षधर मिडियाले पनि आफ्नो पूर्ब केन्द्रीय आमन्त्रित सदस्यलाई सम्झिएको देखिएन । यो पनि बलेकै आगो ताप्ने प्रवृति होईन र ? नेपाली कांग्रेसमा आमन्त्रित केन्द्रीय सदस्यको के नै हैसियत रहेछ भन्ने प्रश्न उठ्दैन र ?

अन्तमा ‘नेपालपत्र डट कम’ (www.nepalpatra.com) का प्रधान-सम्पादक गोपाल भण्डारीले यसबारे सम्पादकीय लेखेर आफ्नो स्वतन्त्र पत्रकारिताको धर्म निर्बाह गर्नु भएकोमा धन्यवाद !

*प्रेमबहादुर सिंह पूर्व मन्त्री एवं समाजवादी जनता पार्टीका अध्यक्ष हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

सवै सत्ता र शक्तिको पछि दगुर्ने, पञ्चायत कालका शक्तिशाली पूर्व गृहमन्त्री स्वाँरको निधन छायाँमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !