११ बैशाख २०८१, मंगलबार

को हुन् सागमा ४ स्वर्ण पदक बिजेता गौरिका सिंह ?


गौरिका सिंह

१३ औं सागमा गौरिका एक्लैले ४ स्वर्ण पदक नेपाललाई दिलाएकी गौरिका काठमाडौं पुख्र्यौली घर भएपनि बेलायतमा हुर्किएकी हुन् । उनका बुवा डा. पारस सिंह र आमा गरिमा राणासँग २ वर्षको उमेरमा बेलायती पुगेकी हुन् । ९ वर्षको उमेरदेखि पौडीमा प्रतिस्पर्धा गर्न थालेकी उनले १२ औं सागमा नेपालका लागि खेलेकी थिइन् । उनले गत वैशाखमा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेकी थिइन् ।

१३ औं सागमा नौवटा इभेन्टमा प्रतिस्पर्धा गरेकी गौरिकाले ४ स्वर्ण, २ रजत र ३ कांस्य पदक गरी जम्मा ९ वटा पदक प्राप्त गरिन् । कुल मिलाएर दुईवटा १२ औं र १३ औं सागमा उनको पदक संख्या ४ स्वर्ण, ३ रजत र ६ कास्यसहित १३ वटा पुगेको छ । यति धेरै पदक अहिलेसम्म कुनै पनि नेपाली खेलाडीको नाममा छैन । यद्यपि तेक्वान्दोका लिजेन्ड दीपक विष्टले लगातार ४ वटा सागमा ४ स्वर्ण पदक जितेका छन् ।

गौरिकाकी आमा गरिमा राणा २०५० सालको एसएलसी बोर्ड फर्स्ट हुन् । गरिमाले ग्यालेक्सी पब्लिक स्कुलबाट एसएलसी दिएर बोर्ड फर्स्ट भएकी थिइन् । तत्कालिन युवराज दीपेन्द्र शाहसँग विवाहको कुरा चलेको भनेर उनको नाम चर्चामा आएको थियो । एसएलसी उत्कृष्ट नतिजा ल्याउने मेधावी बोर्ड फर्स्ट विद्यार्थी साइन्स पढ्ने प्रवृत्ति भएपनि गरिमाले कानून विषय रोजेर पढ्दा धेरै मानिसहरु आश्चर्यमा परेका थिए ।

बझाङमा पुर्ख्यौली घर भएका डा. पारस सिंहसँग विवाह गरेकी गरिमाले सन् २०५८ सालमा गौरिकालाई ललितपुरको पाटन अस्पतालमा जन्म दिएकी हुन् । गौरिका २ वर्षकी हुँदा उनलाई लिएर बाबुआमा लण्डन गए र त्यहीँ स्थायी बसोबास गरिरहेका छन् । लण्डनको रोयल फ्री हस्पिटलमा युरोलोजिस्टका रुपमा डा. पारस कार्यरत छन् । गरिमाले भने आफ्ना दुई सन्तानको हेरचाहमै आफूलाई समर्पण गरिन् । गौरिकाका भाइ ११ वर्षका छन् ।

सानो छँदा बाबुआमाले ‘लाइफ स्किल’ सिक्नुपर्छ भनेर गौरिकालाई पौडीको प्रशिक्षणमा राखिदिएका थिए । ९ वर्षमा स्थानीय प्रतियोगितामा भाग लिएपछि गौरिकामा पौडीप्रति लगाव बढ्न थाल्यो । ११ वर्षको उमेरमा छुट्टी मनाउनका लागि गौरिका बाबुआमासँगै नेपाल आइन् र त्यही आगमन उनको खेल करिअरको टर्निङ प्वाइन्ट बन्यो । लण्डनमा बस्ने गौरिकाको नेपाली खेलकुद क्षेत्रमा विशेष परिचय छ । ब्राजिलको रियो ओलिम्पिक्सकी कान्छी खेलाडी बन्दा उनी विश्वव्यापी चर्चामा आएकी थिइन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !