८ पुस २०८१, सोमबार

बङ्गलादेशलाई साफ यू–१५ फुटबलको उपाधि


foodball

१७ कात्तिक, काठमाडौँ । चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले जितेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा आज भएको फाइनल खेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै बङ्गलादेशले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा एक/एक गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा बङ्गलादेशले बाजी मा¥यो ।

खेलमा शुरुआती अग्रता बङ्गलादेशले लिएको थियो । खेलको २७ औँ मिनेटमा पाकिस्तानका हसिब मोहम्मद खाले आत्मघाती गोल गरेपछि बङ्गलादेशले अग्रता बनाएको थियो । तर, खेलको ५४ औँ मिनेटमा पाकिस्तानले मोहिब उल्लाहको गोलको मद्दतले खेल बराबरीमा ल्याएको थियो ।

प्रतियोगितामा पाकिस्तानका हसिब मोहम्मद खान उत्कृष्ट खेलाडी बने । यस्तै चार गोल गर्दै बङ्गलादेशका मोहम्मद सर्वाधिक गोलकर्ता चुनिए । बङ्गलादेशले फेयरप्ले टोलीको अवार्ड समेत हात परेको छ ।

अन्तिम खेल हेर्न नेपालका लागि बङ्गलादेशी राजदूत मास्फी विन्टे शाम्स पनि एन्फा मैदान सातदोबाटो पुग्नुभएको थियो ।

विजेता टोलीलाई अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापालगायतले पुरस्कार प्रदान गर्नुभयो ।

मनाङ मस्र्याङ्दी क्लबलाई गभर्नस गोल्डकपको उपाधि

यसैगरी मनाङ मस्याङ्दी क्लबले भारतको सिक्किममा भएको गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

आज सिक्किमको पाल्जोर रङ्गशालामा भएको फाइनल खेलमा रेड आर्मी क्लब भारतलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै मनाङले उपाधि जितेको हो । मनाङको जितमा एकमात्र गोल सुजल श्रेष्ठले खेलको ८१ औँ मिनेटमा गरेका थिए ।

क्वार्टरफाइनलमा कोलकाता कस्टम्स क्लबलाई दुईका विरुद्ध चार गोलले हराएको मनाङले सेमिफाइलनमा कोलकाता एटिकेलाई दुईका विरुद्ध छ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनल पुगेको थियो ।

दशैँअघि भएको ए डिभिजन लिगमा पनि मनाङले विजयी शुरुआत गरेको थियो । मनाङ ए डिभिजन लिगको साविक विजेता टोलीसमेत हो । प्रतियोगितामा सहभागी नेपालको अर्को टोली सशस्त्र प्रहरीको एपिएफ क्लब भने पहिलो खेलबाटै बाहिरिएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !