काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्री भण्डारी ‘साम्बा’ले उपचारको लागि सहयोग मागेकी छन्। चोटको कारण पछिल्लो सात सातादेखि मैदान बाहिर रहेकी साम्बाले सोमबार सामाजिक सञ्जालमार्फत सहयोगको याचना गरेकी हुन्।
साम्बाले घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको भन्दै उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्। यसअघि एन्फा नेतृत्वको पहलमा उपचार व्यवस्थापन र आर्थिक सहयोग प्राप्त भएकाले आफू समयमै पुनरागमन गर्न सफल भएको उनले स्मरण गरेकी छन्।
तर यसपटक भने एन्फाबाट वाचा गरिएअनुसार सहयोग नपाएको उनको गुनासो छ। चोट लागेको तीन सातापछि क्लबको पहलमा शल्यक्रियाको मिति तय भए पनि एन्फाले आफ्नै तर्फबाट पहल गर्ने बताउँदै प्रक्रिया अघि नबढाएको उनले बताएकी छन्।
अघिल्लो साता एन्फा अध्यक्षले प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिँदै अधिकतम पाँच लाख रुपैयाँ नगद सहयोग गर्ने प्रस्ताव गरेको उनले खुलाएकी छन्। यसबीचमा अघिल्लो प्रक्रिया रोकिँदा झण्डै दुई महिनापछि मात्र पुनः शल्यक्रियाको मिति तय गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।













