२७ मंसिर २०८१, बिहीबार

एनपिएल : जनकपुरले काठमाडौँलाई ५ विकेटले हरायो


काठमाडौँद्वारा जनकपुर सामु १०२ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आज भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गुर्खाजलाई हराएको छ । केहीबेर अघि सम्पन्न खेलमा जनकपुरले काठमाडौँलाई ५ विकेटले पराजित गरेको हो ।

आजको दोस्रो खेलमा काठमाडौंमाथि जितका साथ जनकपुर प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ । जनकपुर एक खेल अगावै प्लेअफमा पुगेको हो । काठमाडौंले दिएको १ सय २ रनको झिनो लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

जनकपुरका लागि हर्ष ठाकरले नट आउट रहेर सर्वाधिक २७ रन जोडे । उनले १७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । जिमी निशम २५ बलमा १ चौका र १ छक्काको सहित २५ रनमा आउट भए ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको काठमाडौँले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर एक सय एक रन बनाएको थियो ।

काठमाडौँका लागि गेरहार्ड इरास्मसले सर्वाधिक २० रन बनाए । सो क्रममा उनले दुई चौकासमेत प्रहार गरे । कप्तान करण केसीले १९ र स्टिफन एस्किनाजी १७ रन बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

काठमाडौँको लागि शाहब आलम र माइकल लेविटले समान आठ/आठ, रासिद खानले सुात, प्रतिक श्रेष्ठले छ, भीम सार्कीले चार र डेन डउथवेटले एक रन बनाए । यो खेलमा काठमाडौँले अतिरिक्त ११ रन पाएको थियो ।

जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले सर्वाधिक समान तीन/तीन विकेट लिए । यस्तै, मोहम्मद मोहसिनले दुई, अर्निको यादव र किशोर महतोले एक/एक विकेट हात पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !