७ पुस २०८१, आइतबार

एनपिएल : कर्णालीले बिराटनगरलाई ७ रनले हरायो


कर्णाली याक्स

काठमाडौँ । नेपाल प्रिमिगर लिग (एनपिएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले बिराटनगर किङ्ग्सलाई हराएको छ । केहीबेर अघि सम्पन्न खेलमा कर्णालीले बिराटनगरलाई ७ रनले पराजित गरेको हो ।

कर्णाली याक्सले विराटनगर किंग्समाथि रोमाञ्चक जित हासिल गरेको हो । कर्णालीले दिएको १३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रनमा सिमित रह्यो ।

विराटनगरका लागि निकोलस कीर्तनले सर्वाधिक ४० रन जोडे । उनले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । कीर्तन नन्दन यादवबाट बोल्ड आउट भए ।

विराटनगरका लागि लोकेस बमले ९ बलमा १ चौका र २ छक्काको सहयोगमा १९ रन जोडे । ओपनर लोकेस चौथो ओभरको पहिलो बलमा विपिन शर्माबाट बोल्ड आउट भए ।

दिपक बोहोराले १३ बलमा १८ रन बनाए । १८ औं ओभरको पहिलो बलमा दिपक नन्दन यादवको बलमा बोल्ड आउट भए । विराटनगरले पहिलो विकेटका रुपमा ओपनर मार्टिन गप्टिललाई ४ रनमा गुमाएको थियो । उनले ४ बलमा १ चौका प्रहार गरेका थिए । गप्टिल विपिन शर्माको बलमा बोल्ड आउट भएका हुन् ।

अन्तिम ओभरमा १५ रन चाहिएकोमा नन्दन यादवले रन मात्र खर्चिएर टोलीलाई जित दिलाए । कर्णालीका लागि नन्दन यादवले ३, विपिन शर्माले २ तथा सोमपाल कामी, विलियम बोसिस्टो र युनिश बिक्रम सिंहले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३३ रन मात्रै बनाउन सक्यो ।

उसका लागि विलियम बोसिस्टोले ४९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ६६ रन बनाए । साथै ओपनर देव खनालले ४८ बलको सामना गर्ने क्रममा चार चौका र दुई छक्का प्रहार गर्दै ५३ रनको योगदान दिए ।

कर्णालीका पाँच ब्याटरले खाता नै खोल्न सकेनन् । गुलशन झा, सोमपाल कामी, नन्दन यादव, विपीन शर्मा र उनिश ठकुरी शून्य रनमा आउट भए । अघिल्ला दुई वटा खेलमा चम्केका ओपनर शिखर धवनले जम्मा पाँच रन बनाए । अन्य ब्याटर पनि आजको खेलमा चल्न सकेनन् ।

बिराटनगरका लागि प्रतीश जिशीले ह्याट्रिकसहित चार विकेट लिए । उनले खेलको २०औँ ओभर मेडन राख्दै चार विकेट लिए । साथै क्रिस सोल र बसिर अहमदले दसमान दुई विकेट लिए भने अकिब इलायसले एक विकेट लिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !