२६ पुस २०८१, शुक्रबार

एनपिएल : जनकपुर बोल्ट्सले विराटनगर किङ्ग्सलाई ८ विकेटले हरायो


विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्स

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्ग्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपूरमा आज भएको खेलमा विराटनगर किङ्ग्सले दिएको १२८ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५.३ ओभरमा २ विकेट मात्र गुमाएर १३१ रन बनाउदै पूरा गर्यो ।

लाहिरु मिलन्थाको अर्धशतकको सहयोगमा जनकपुर बोल्ट्सले जितका साथ प्रतियोगिता सुरुवात गरेको हो । जनकपुका लागि मिलन्थाले सर्वाधिक ७५ रन बनाए ।

मिलन्थाले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै जनकपुर बोल्ट्सका लागि हर्ष ठाकरले ३३ बलमा २ चौकाको सहयोगमा २९ रन बनाए ।

त्यसअघि जनकपुरले पहिलो ओभरमा नै ओपनर आसिफ शेखलाई पहिलो विकेट रुपमा गुमाएकोमा अर्का ओपनर तथा कप्तान अनिल शाहलाई दोस्रो ओभरमा गुमायो । दोस्रो ओभरको अन्तिम बलमा अनिल ४ बलमा ५ जोड्दै प्रतिस जिशीको बलमा बोल्ड आउट भएका थिए ।

पहिलो ओभरको चौथो बलमा अर्का ओपनर आसिफ ३ बलमा रनको खाता नै नखोलि आउट भएका थिए् । आसिफलाई विराटनगरका क्रिस सोलले पहिलो ओभरको चौथो बलमा बोल्ड आउट गराएका हुन् । विराटनगरका लागि क्रिस सोल र प्रतिस जिशीले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित १९ ओभरमा १२७ रनमा समेटिएको थियो । विराटनगरका लागि न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले अर्धशतक प्रहार गर्दै सर्वाधिक ५५ रन बनाएका थिए ।

गप्टिलले ४३ बलमा एक छक्का र सात चौकाको मद्दतले ५५ रन बनाएका हुन् । यस्तै अकिब इलियासले १५, निकोलस किर्टनले नौ र लोकेश बमले पाँच रनको योगदान दिए । बसिर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान ७/७ रन बनाए ।

त्यस्तै विराटनगरका लागि क्रिस सोलले चार, प्रतिश जिसीले दुई र राजेश पुलामीले एक रन बनाए भने जितेन्द्र मुुखिया शुन्य रनमै आउट भए । विराटनगरले अतिरिक्त १५ रन प्राप्त गर्यो ।

जनकपुर बोल्ट्सका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । यस्तै किशोर महतो र हर्ष ठाकरले समान २/२ विकेट लिए । जनकपुरका मोहम्मद मोहसिन र बेन माइकले समान एक/एक विकेट हात पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !