८ पुस २०८१, सोमबार

नेपालले आयरल्याण्डलाई ६ विकेटले हरायो


कुशल भुर्तेल र सन्दिप जोरा

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै ट्वान्टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा विजयी सुरुआत गरेको छ ।

आयरल्याण्डले जितका लागि दिएको १२२ रनको चुनौतीलाई नेपालले १६.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले ३२ बल खेल्दै चार चौकाको सहयोगमा ३७ रन बनाए ।

त्यसैगरी सन्दिप जोराले ३५ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३६ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १२ बलमा दुई चौका र एक छक्काको सहयोगमा २० रन बनाए भने आसिफ शेखले ११ बलमा दुई चौका र एक छक्काको सहायताले १६ रन जोडे । गुल्सन झाले ४ रन बनाए ।

बलिङतर्फ आयरल्याण्डका ग्यारेथ डीलेनीले दुई विकेट लिए भने बेन व्हाइट र थोमस माएसले समान एक÷ एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्याण्ड ‘ए’ ले निर्धारित २० ओभरमा अलआउट हुँदै १२१ रनको योगफल बनाएको थियो ।

आयरल्याण्डका लागि स्टेफन डोहेनीले सर्वाधिक ४६ रनको योगदान दिए । त्यसैगरी म्याथ्यु हम्फ्रिज र लियाम मकार्थीले समान १६÷१६ रन जोडे । त्यस्तै फिओन ह्यान्डले ११ रन बटुल्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले समान दुई/दुई विकेट लिए भने करण केसी र कुशल मल्लले समान एक ÷एक विकेट लिए । नेपालले आइरल्याण्डको ए विरुद्धको भोलि दोस्रो खेल खेल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !