१३ आश्विन २०८१, आइतबार

विश्वकप छनोट फुटबल : लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश


नेपाली फुटबल टीम

काठमाडौँ । नेपाल फिफा विश्वकप छनोट फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । नेपालले लाओसलाई उसैको मैदानमा १-० गोलले हराउँदै फिफा विश्वकप छनोट प्रतियोगिताको दोस्रो चरणमा पुगेको हो ।

फिफा विश्वकप-२०२६ तथा एएफसी एसियन कप-२०२७ को पहिलो चरणको छनोटमा नेपालले जित हात पारेको हो । नेपालको जितमा मनिष डाँगीले गरेको गोल निर्णायक बन्यो ।

उनले अञ्जन विष्टको पासमा ५३ मिनेटमा गोल गरेका थिए । यससँगै नेपाल समग्रमा २—१ गोलको अन्तरमा विश्वकप छनोट प्रतियोगिताको दोस्रो चरणमा पुगेको हो ।

गत साता दशरथ रंगशालामा भएको पहिलो चरणको खेलमा नेपाल र लाओसले १-१ गोलको बराबरी खेलेका थिए । पहिलो लेग खेल बराबरीमा सकिएकाले दुबै टोली दोस्रो लेग खेलमा जित्नै पर्ने दबाबमा थिए ।

अन्ततः दोस्रो लेग खेलमा नेपालले लाओसलाई उसैको मैदानमा हराउँदै उत्कृष्ट खेल प्रदर्शन गरेको हो । अब दोस्रो चरणमा नेपालले समूह ‘एच’ मा प्रतिस्पर्धा गर्नेछ । समूहमा नेपालसँगै युएई, यमन र बहराइनसँग प्रतिस्पर्धा हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !