३ असार २०८१, आइतबार

भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य


नेपाली क्रिकेट टीम

काठमाडौं । चीनको होङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ ।

चीनको जेझाङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रनको योगफल बनायो ।

भारतका यशस्वी जैसवालले ४९ बलमा ८ चौका र ७ छक्कासहित सर्वाधिक १०० रनको शतकीय इनिङ खेले । ट्वान्टी–२० क्रिकेटमा यशस्वीको यो नै अहिलेसम्मको उच्च स्कोर हो ।

जैसवाल र रुतुराज गाइकवाडले ओपनिङ विकेटका लागि १०३ रनको साझेदारी गरेका थिए । गाइकवाड २५ रन बनाउँदै आउट भए । रिंकु सिंहले ३७ र सिवम दुवे २५ रनमा अविजित रहे । यी दुईले पाँचौ विकेटका लागि ५२ रनको साझेदारी गर्दै भारतलाई बलियो योगफलसम्म पुर्याएका हुन् ।

नेपालका दीपेन्द्रसिंह ऐेरीले २ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान एक विकेट लिए । कप्तान रोहित पौडेलले ३ ओभरमा २६ रन खर्चे । रोहितले १९ औं ओभर बलिङ गरेका थिए । माल्दिभ्सविरुद्ध ६ विकेट लिएका अभिनाशले ४ ओभरमा ५३ रन खर्चिए ।

नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समूह चरणका खेलमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !