१३ आश्विन २०८१, आइतबार

नेपालले जिम्बावेलाई दियो २९१ रनको बलियो लक्ष्य


कुशल भुर्तेल

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बावेविरुद्धको आफ्नो पहिलो खेलमा आज आइतबार नेपालले जिम्बावेलाई २९१ रनको बलियो लक्ष्य दिएको छ ।

ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी ब्याटिङमा नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ को पहिलो खेलमा घरेलु टोली जिम्बावेलाई २९१ रनको बलियो लक्ष्य दिएको हो ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २९० रन बनाएको थियो । नेपालका लागि ओपनर ब्याट्सम्यानद्वय भुर्तेल र आसिफ शेखले १७१ रनको सानदार उच्च शतकीय साझेदारी गरेका थिए ।

भुर्तेलले शतक पुर्याउन १ रनले चुकेका थिए । जिम्बाबेका स्पिनर वेलिङटन मसाकान्डाको ३२ औं ओभरको पाँचौं बलमा बोल्ड आउट भएपछि कुशल घरेलु टोली जिम्बावेविरुद्ध ९९ रनमा आउट भएका हुन् । उनी योर्कर बलमा बोल्ड भएपछि करिअरको दोस्रो शतक पूरा गर्न मात्रै एक रनले चुकेका हुन् ।

कुशल ९५ बलमा १३ चौका र २ छक्कासहित ९९ रनमा आउट भएका हुन् । अर्का ओपनर आसिफ शेख पनि ६६ रनमा पेभेलियन फर्किएका थिए । आसिफले १०० बलको सामना गरी ७ चौका हिर्काएका थिए ।

यस्तै कुशल मल्लले ४१ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका उनले ४२ बलको सामना गरी तीन छक्का र दुई चौका हिर्काएका थिए । कप्तान रोहित पौडेलले पनि ३१ रन बनाए । पौडेलले २९ बलमा पाँच चौका प्रहार गरे ।

आरिफ शेखले १० र गुल्सन झाले १३ रन जोडे । भीम सार्की भने शून्य रनमै पेभेलियन फर्किए । दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए । करण केसीले अविजित दुई रन जोडे ।

जिम्बाबेका बलर रिचर्ड नागाराभाले चार विकेट लिए । वेलिङ्टन मासाकाद्जाले पनि दुई विकेट हात पारे । टेन्डाई चाटाराले एक विकेट लिए । नेपालले अतिरिक्त रुपमा २२ रन पाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !