११ पुस २०८१, बिहीबार

कुशलको शतकमा ओमानविरुद्ध नेपालको रोमाञ्चक जित


कुशल भुर्तेल

काठमाडौं । ओनपर कुशल भुर्तेलको शतकको सहयोगमा नेपालले एकदिवसीय विश्वकप छनोटअघिको ‘वार्म अप’ खेलमा ओमानविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।

भुर्तेलको शतक, भीम सार्कीको अर्धशतक र सोमपाल कामीको ५ विकेटको सहयोगमा नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटअघि अभ्यास खेलमा ओमानलाई २ विकेटले पराजित गरेको हो ।

हरारे स्पोर्ट्स क्लबमा ओमानले प्रस्तुत गरेको २६८ रनको लक्ष्य नेपालले ४४.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । नेपाललाई सहज जित दिलाउन ओपनर कुशल भुर्तेलले ९४ बलमा १३ चौका र २ छक्कासहित १०१ रनको शतकीय इनिङ खेले । उनी ३१ औं ओभरमा रिटायर्ट आउट हुँदै दीपेन्द्र सिंह ऐरीलाई ब्याटिङको अवसर दिएका थिए ।

दोस्रो विकेटका लागि कुशल भुर्तेल र भीम सार्कीले १ सय १५ रनको सानदार शतकीय साझेदारी गरेका थिए । उनले ९१ बलमा शतक पूरा गरेका थिए । भीम सार्की ७४ बलमा ९ चौकासहित ५६ रनमा क्याच आउट भए ।

कप्तान रोहितकुमार पौडेल ३१, दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २३, र कुशल मल्ल १७ रनमा आउट भए । पहिले ब्याटिङमा आएको ओमानले ४९.२ ओभरमा सबै विकेट गुमाएर २६७ रनको योगफल खडा गरेको थियो ।

बलिङतर्फ नेपालका सोमपाल कामी एक्लैले पाँच विकेट लिए । साथै सन्दीप लामिछानेले तीन, करण केसी र प्रतिश जिसीले १/१ विकेट लिए । यसअघि पहिलो ‘वार्म अप’ खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग तीन विकेटले पराजित भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !