१३ आश्विन २०८१, आइतबार

अन्तत: नेपाल च्याम्पियन बन्दै एसिया कपमा छनोट


भीम सार्की र गुल्सन झा फाइल फोटो

काठमाडौँ । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनल खेलमा अन्तत: युनाइेटड अरब इमिरेटस् (यूएई) लाई हराउँदै नेपाल एसिया कपमा छनोट भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपाल च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको हो ।

नेपालले युएईलाई ७ विकेटले हराउँदै एसिसी मेन्स प्रिमियर कपको उपाधि जितेको हो । एसिसी प्रिमियर कपको च्याम्पियन भएसंगै अव नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने छ ।

नेपालका युवा अलराउन्डर गुलशन झा र भीम सार्कीको उत्कृष्ट साझेदारीमा नेपाल नेपाल एसिया कपमा छनोट हुन सफल भएको हो । गुलशनले एसिसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध आक्रामक अर्धशतक प्रहार गरेका छन् । गुलशनको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो ।

आजको खेलमा कुल ११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुआत खराब रह्यो । नेपालले ८ ओभर खेल्दा सुरुआती ३ विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेल एक, आशिफ शेख आठ तथा कप्तान रोहितकुमार पौडेल मात्र एक रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो ।

यूईएले दिएको ११८ रनको सामान्य लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा गुलशन झा ८३ बलमा ३ चौका र ६ छक्कासहित ६७ रन बनाए भने भीम सार्की ७२ बलमा ४ चौकासहित ३६ रनमा नटआउट रहे ।

संकटमा परेको नेपालको पारी गुलसन झा र भीम सार्कीले उकासे । दुबै जनाबीच ९६ रनको साझेदारी रह्यो । झाले ६७ र सार्कीले ३६ रनको योगदान दिए । यस क्रममा झाले ८४ बल खेल्दै छ छक्का र तीन चौका प्रहार गरे । यस्तै सार्कीले ७१ बल खेल्ने क्रममा चार चौका हाने ।

बलिङतर्फ युएईका लागि रोहन मुस्ताफाले दुई तथा आयान अफ्जल खानले एक विकेट लिए ।

यसअघि सोमबार टस हारेर पहिला ब्याटिङ गरेको युएईले सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो । उसका लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्काको सहयोगमा ४६ रन बनाएका थिए । ओपनर आर्यान लाक्राले २८ बलमा १३ रन बनाए ।

नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए । त्यस्तै करण केसी र सन्दीप लामिछानेले समान दुई–दुई तथा गुलसन झा र सोमपाल कामीले समान एक–एक विकेट लिए । नेपाल युएईलाई पराजित गरेर नेपाल पहिलोपटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ ।

हिजो यूएईले २७ दशमलव ३ ओभरमा नौ विकेटको क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो । फाइनल खेलका लागि रिजर्भ डे राखिएकाले हिजोको खेलको निरन्तरता आज भएको हो ।

आजको फाइनल खेल हेर्न त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा २० हजार भन्दा बढी नेपाली दर्शकहरुको उपस्थिति रहेको थियो । नेपाली घरेलु दर्शकको अपार माया र समर्थनले नेपाली क्रिकेट खेलाडीलाई उर्जा प्रदान गरेको थियो ।

नेपालले युएईलाई पराजित गर्दै पहिलोपटक एसिया कप खेल्ने भएको हो । नेपाल सन् २००२ पछि पहिलो पटक एसिया कपमा खेल्न लागेको हो । नेपालले एसिया कपमा समूह ‘ए’मा रहेका भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपको समूह ‘बी’ मा अफगानिस्तान, श्रीलङ्का र बङ्गलादेश छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !