८ पुस २०८१, सोमबार

एसीसी प्रिमियर कप : नेपालले मलेसियालाई ६ विकेटले हरायो


मलेसियाले नेपाल

काठमाडौँ । काठमाडौँमा आजदेखि सुरु भएको एसीसी प्रिमियर कपमा नेपालले मलेसियाविरुद्ध सानदार जित हासिल गरेको छ । नेपालले मलेसियाविरुद्धको खेल ६ विकेटले जितेको हो ।

कीर्तिपुरथित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको आजको उद्घाटन खेलमा नेपालले मलेसियालाई पराजित गर्दै विजयी सुरुवात गरेको हो । घरेलु मैदानमा नेपालले मलेसियामाथि सहज जित निकालेको हो ।

युवा अलराउन्डर कुशल मल्ल र भीम सार्कीको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपाल ६ विकेटले विजयी भएको हो । नेपालले जितका लागि पाएको २३६ रनको लक्ष्य ३६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा भीम सार्कीले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ९८ बल खेल्दै ५ चौका प्रहार गरे । त्यस्तै, कुशल मल्लले ४० बलमा ५ छक्का र ५ चौका प्रहार गर्दै अविजित ७० रन बनाए । साथै कप्तान रोहित पौडेलले ४२, कुशल भुर्तेलले ३८ तथा दीपेन्द्र सिंह ऐरीले अविजित ५ रन जोडे ।

बलिङतर्फ मलेसियाका मोहम्मद वाफिक, रिजवान हैदर, विजयी उन्नी र विरनदीप सिहंले समान एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रनको योगफल बनायो ।

मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । ९५ बल खेलेका उनले आठ चौका र एक छक्का प्रहार गरे । त्यस्तै विरन्दीप सिंहले ४६ रन बनाए भने मोहम्मद आमिरले १७ रन जोडे ।

त्यस्तै, खिजार ह्यायातले २२ तथा सैजरुल इद्रुसले २१ रन बनाए । विजय उन्नीले १२ रन जोडे भने सायद अजिज १३ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान ३÷३ विकेट लिँदा ललितनारायण राजवंशी दुई तथा गुल्सन झाले एक विकेट झारे । यस जितसँगै समूह ‘ए’ मा रहेको घरेलु टोली नेपालले दुई अङ्क जोडेको छ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउद अरेविया छन् ।

त्यस्तै, समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई) हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । भोलि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएई र कुवेतबीच खेल हुनेछ भने मूलपानीमा ओमान र कतार आमनेसामने हुनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !