१३ आश्विन २०८१, आइतबार

नेपाल महिला फुटबल टीम ओलम्पिक छनोटबाट बाहिरियो


नेपाल महिला फुटबल टीम

काठमाडौँ । नेपाल फ्रान्सको पेरिसमा अर्को वर्ष आयोजना हुने महिला ओलम्पिक फुटबल प्रतियोगिताको एसियाली छनोटको पहिलो चरणबाट बाहिरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको समूह सीअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल भियतनामसँग २-० गोलअन्तरले पराजित भएपछि ओलम्पिक छनोटको पहिलो चरणबाटै बाहिरिएको हो ।

यस जितसँगै भियतनाम भने समूह सीबाट ओलम्पिकको एसियाली छनोटको दोस्रो चरणमा प्रवेश गर्न सफल भयो । यसअघि बुधबार भएको पहिलो खेलमा भियतनामले नेपाललाई ५–१ गोलअन्तरले पराजित गरेको थियो ।

पहिलो खेलभन्दा निकै नै सुधारिएको प्रदर्शन गरेको नेपालले खेलको छैटौँ र सातौँ मिनेटलाई जोगाउन नसक्दा प्रतियोगितामा हार बेहोर्न बाध्य बन्यो । खेलमा भियतानमले खेलको पहिलो हाफमा नै दुई गोल गर्यो । भियतनामका लागि दुबै गोल फाम हाइ यनले गरिन । उनले खेलको छैटौँ मिनेटमा गुएँ थि माइ आङको कर्नरमा गोल गरेकी हुन् । त्यसको एक मिनेट पनि बित्न नपाउँदै भियतनामले अग्रता दोब्बर बनायो । खेलको सातौँ मिनेटमा फामले व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीको अग्रता पनि दोब्बर बनाइन । उनले ट्रान थि थु थाओको लामो पासलाई सदुपयोग गर्दै गोल गरेकी हुन ।

त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र भियतनामले नेपालमाथि २–० को सहज जित निकाल्यो । समूह सिमा रहेको अफगानिस्तान र प्यालेस्टाइनले खेल नखेल्ने भन्दै नाम फिर्ता लिएपछि नेपाल र भियतनामले मात्र समूह सीबाट प्रतिस्पर्धा गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !