२३ भाद्र २०८१, आइतबार

प्रचण्ड, देउवा र ओलीद्वारा यु–१९ विश्वकपमा छनोट भएकामा नेपाली टिमलाई बधाई


केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई छुट्टाछुट्टै रुपमा बधाई दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आज सामाजिक सञ्जालमार्फत देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीले पुर्याएको योगदानको उच्च प्रशंसासमेत गरेका छन् ।

उनले भनेका छन्, “श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गर्दछु ।”

कांग्रेसका सभापति देउवाले आज सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका हुन् । उनले भनेका छन्, “श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई तथा शुभकामना ।”

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक संजालमा लेख्दै युएईमाथि रोमाञ्चक जित निकालेर यु-१९ क्रिकेट विश्वकपमा प्रवेश गर्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई दिएका छन् ।

दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा युएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएको हो । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !