१३ पुस २०८१, शनिबार

सर्वोच्चमा सन्दीपको मुद्दामा सुनुवाइ सकियो, आजै फैसला आउने


सर्वोच्च अदालत र सन्दीप लामिछाने

काठमाडौं । सर्वोच्च अदालतले हिजो हेर्दाहेर्दैमा राखेको क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सकिएको छ । हिजो आइतबार सरकारी वकिल र पीडितका वकिलको बहस सकिएतापनि सन्दीपका वकिलको बहस नसकिएपछि आज सोमबार पनि सुनुवाई भएको थियो ।

लामिछानेको तर्फबाट आज वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरेका साथै सरकारको तर्फबाट सहन्यायधिवक्ता सञ्जीवराज रेग्मीसहितले बहस गरेसँगै सुनुवाइ सकिएकोले सर्वोच्चले आजै आदेश सुनाउने तयारी गरेको हो ।

सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले उक्त मुद्दाको सुनुवाइ हिजो बन्द इजलास गरेको थियो । लामिछानेसँग सम्वन्धित दुई रिटको सर्वोच्चमा सुनुवाइ बन्द इजलासमा भएको थियो ।

लामिछाने विदेश जान पाउने वा नपाउने भन्ने टुंगो आज लाग्ने भएको हो । लामिछानेले आफूलाई विदेश जान अनुमति दिनुपर्नेलगायत माग गर्दै दिएको निवेदन र लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्ने दुवै रिटमाथि सर्वोच्चमा हिजो सुनुवाइ भएको थियो ।

यसअघि शुक्रबार सर्वोच्चले लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएको थिएन । जिल्ला अदालत काठमाडौंले थुनामा पठाएका लामिछानेलाई उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

धरौटी बुझाएर खेलमा फर्किएका सन्दीप राष्ट्रिय टिममा फर्किएतापनि उच्च अदालतले विदेश जान भने प्रतिबन्ध लगाउने आदेश दिएपछि उनी सर्वोच्च अदालत गएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !