९ असार २०८१, आइतबार

राष्ट्रिय खेलकुदको सुनिश्चितताका लागि अहिल्यै मिति घोषणा गरिएको हो : खेलकुदमन्त्री गहतराज


महेश्वरजङ्ग गहतराज

कास्की । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित कार्यतालिकामा गर्न सहज बनाउने गरी अहिल नै मिति घोषणा गरिएको बताएका छन् ।

पोखरामा शुक्रबार साँझ पत्रकारहरुसँगको भेटघाटमा उनले कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुद विगतमा जस्तो लामो समयसम्म नहुने अवस्था अब नआउने उल्लेख गरे । हरेक दुई वर्षमा हुने प्रतियोगिता नियमित सञ्चालन हुने उनको भनाइ छ ।

मन्त्री गहतराजले भने, “हामीले दसौँ राष्ट्रिय खेलकुदको मिति अहिले नै तय गरेका छौँ । कर्णालीमा दुई वर्षभित्रमा मात्र भनेका छैनौँ, विसं २०८१ मङ्सिर २ देखि ९ गतेसम्म मिति अहिले नै घोषणा गर्दा यसको तयारीमा समेत सहयोग पुग्नेछ, प्रतियोगिताको सुनिश्चितता हुन्छ ।”

खेलकुदमन्त्री गहतराजले पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद मौसमको प्रतिकूलता, चाडपर्वहरुका बीच र सार्वजनिक खरिदका केही प्रावधानका कारण चुनौती रहे पनि चुनौतीका बीचमा पनि सफल भएको बताए ।

नवौँ राष्ट्रिय खेलकुद आयोजनाले अन्तर्राष्ट्रिय मान्यतासमेत पाइसकेकाले राष्ट्रिय टोली निर्माण र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिताका लागि सहज बनेको उनको भनाइ छ । पोखरामा सात दिनसम्म चलेको भव्य प्रतियोगिता सफल पार्न सहयोग गर्ने सञ्चारजगत्लगायत सबै गण्डकी प्रदेशवासीलाई समेत उहाँले आभार व्यक्त गरे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले नवौँमा पहिलो पटक राष्ट्रिय खेलकुदको ट्रफी निर्माण, राष्ट्रिय खेलकुदको मान्यताअनुसार ‘एन्टी डोपिङ’ परीक्षण लगायतका नवीनतम् कार्य सुरु भएको बताए । उनले खेलाडीहरुको विवरण डिजिटल माध्यमबाट दर्ता गरी अभिलेखीकरण गरिएको समेत बताए ।

प्रतियोगितामा ३६ खेलको तीन सय ९६ इभेन्टस सम्पन्न भएको, खेलाडी ६ हजार एक सय २७, निर्णायक एक हजार ६ सय ४७, प्रशिक्षक सात सय एक, व्यवस्थापक पाँच सय ११ र सञ्चालक समिति एक सय नौजना गरी १० हजारभन्दा बढीको सहभागिता भएको जानकारी दिए । प्रतियोगिता सफल भएकामा उनले सबैप्रति आभार व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !