२ मंसिर २०८१, आइतबार

पक्राउ परेपछि सन्दीपले भने- निर्दोष छु, अनुसन्धानमा सहयोग गर्छु


सन्दीप लामिछाने

काठमाडौँ । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतार एयरवेजको विमानबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

बलात्कारको आरोपमा पक्राउ परेका लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले दिएको जानकारीअनुसार सन्दीपले लगातार आफू निर्दोष रहेको दाबी गरिरहेका छन् ।

गौशाला प्रहरी कार्यालयमा पुगेका कानुन व्यवसायी घिमिरले संचारकर्मीहरुसँग कुरा गर्दै सन्दीपले अनुसन्धानमा सहयोग गर्ने र कानुनी लडाइँ लड्ने बताएको उनले जानकारी दिए । घिमिरेका अनुसार प्रहरी र आफूलाई सन्दीपले इमेल लेखेर आत्मसमर्पणका लागि तयार भएको बताएका थिए ।

काठमाडौँ प्रहरी वृत्तका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार अहिले लामिछानेलाई प्रहरी वृत्त, गौशालामा राखिएको छ । पीडित बालिकाले प्रहरी वृत्त, गौशालामा बलात्कारको जाहेरी दिएकाले उनलाई त्यहीँ लगिएको हो ।

लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइने बताइएको छ । लामिछाने विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले आफुलाई लामिछानेले बलात्कार गरेको जाहेरी दर्ता गराएकी थिइन् । उजुरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न नेपाल बाहिर गएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !