१ मंसिर २०८१, शनिबार

सन्दीपले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई गुहारे


सन्दीप लामिछाने

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) लाई कानुनी उपचारमा सहयोग गर्न गुहारेका छन् । जबरजस्ती करणीको आरोप लागेपछि लामिछानेले क्यानलाई गुहारेका हुन् ।

हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेस्ट इन्डिज (जमैका) मा रहेका सन्दीपले क्यानसँग कुराकानी गर्दै कानुनी लडाइँ लड्ने बताएका छन् । क्यान सचिव प्रशान्त विक्रम मल्लले भने, ‘कानुनी उपचारका लागि सहयोग गर्नुस् भनेको छ’ ।

एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् । सन्दीपलाई आरोप लागेको खबर सार्वजनिक भएपछि क्यान अध्यक्ष चतुर बहादुर चन्द हिजो बुधबार बेलुका काठमाडौँ आइपुगेपछि क्यानका पदाधिकारीसंग छलफल गरेका थिए ।

लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा क्यानले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताएका छन् । चन्दले कानुनी रुपमा पुष्टि नभइञ्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने बताएका हुन् ।

महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !