६ बैशाख २०८१, बिहिबार

नवनिर्वाचित एन्फा अध्यक्ष नेम्वाङले लिए पद तथा गोपनीयताको सपथ


नेम्वाङद्वारा पदभार ग्रहण

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का नवनिर्वाचित पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सङ्घका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यले शपथ लिएका हुन् ।

एन्फा निर्वाचन कमिटीको संयोजक श्रीराम दवाडीले नवनिर्वाचित अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित पदाधिकारीलाई शपथ गराएका हुन् । शपथ ग्रहणको कार्यक्रम सकिएलगतै नवनियुक्त अध्यक्ष नेम्वाङले आजै पदभार ग्रहण गरे ।

नवनिर्वाचित अध्यक्ष नेम्वाङले निर्वाचनमा हार जितभन्दा पनि जिम्मेवारी बदलिएको बताए । उनले नेपाली फुटबलमा योगदान गर्ने सबैलाई सम्मान गर्दै जाने र सबैको सल्लाह र सहयोगको साथ अगाडि बढ्ने बताए ।

यही असार ६ गते भएको एन्फाको २१ औं साधारणसभाको निर्वाचनमा नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । अध्यक्ष नेम्वाङसहित वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षमा दावा लामा, दीपक खतिवडा, विराटजङ्ग शाही र दीर्घबहादुर केसी निर्वाचित भएका थिए ।

त्यस्तै सदस्यमा मनिष जोशी, अनिल मल्ल, रवीन्द्र चन्द, विकासनारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश व्यञ्जनकार, मनिराज विष्ट, टीका लामा, भरतबुढ थापा, सरला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !