८ माघ २०८१, मंगलबार

आइसीसी विश्वकप क्रिकेटमा नेपाल युएईसँग पराजित


नेपाली क्रिकेट टीम

काठमाडौँ। आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल आयोजक युएइसँग ४८ रनले पराजित भएको हो । युएईले दिएको १६९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२० रनमा समेटियो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । साठी बल खेलेका उनले ४ चौकाको मद्दतमा ४६ रन बनाएका हुन् । त्यसैगरी ज्ञानेन्द्र मल्लले २८ रन बनाए भने कुशल भुर्तेलले ११ रन जोडे । करन केसी ६, आसिफ शेख ७, दीपेन्द्रसिंह ऐरी ४, सोमपाल कामी ६, सन्दीप लामिछाने ७ रन बनाउँदा आरिफ शेख र कमल सिंह ऐरी शून्यमा आउट भए ।

युएईको बसिल हमिद एक्लैले ४ विकेट लिए भने जुनेद सिद्दिकीले ३ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो । युएईका रिजवान सिपी र रोहन मुस्तफाले समान ४०/४० रन बनाए । ओपनर मुहमद वसिमले २१ रन जोड्दा कासिफ दाउदले १८, बसिल हमिदले १४ तथा अहमेद राजाले १३ रन बनाए ।

युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामीले ४ विकेट लिए भने करण केसीले ३ विकेट झारे । सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान १÷१ विकेट लिए । यसअघि बुधबार भएको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई २ विकेटले हराएको थियो । अब नेपालले आफ्नो तेस्रो खेलमा युएईविरुद्ध नै सोमबार प्रतिस्पर्धा गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !