१२ असार २०८१, बुधबार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल र भारतबीचको दोस्रो खेल आज हुँदै


नेपाल र भारत अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल फाइल फोटो

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो खेल हुँदैछ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज आइतबार साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु हुनेछ ।

साफ च्याम्पियनसिपको तयारीमा रहेका दुई मित्र राष्ट्र नेपाल र भारतवीच बिहीबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा टुंगिएको थियो । खेलको पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा नेपाल पहिलो खेलमा बराबरीका रोकिएको हो ।

बिहीबार भएको खेलमा घरेलु मैदानमा पहिलो हाफमा अञ्जन विष्टले खेलको ३६ औं मिनेटमा नेपालको लागि पहिलो गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए । यस्तै भारतका अनिरुद्र थापाले दोस्रो हाफमा खेलको ६० औं मिनेटमा भारतको लागि पहिलो गोल गरेर खेललाई बराबरीमा फर्काएका थिए ।

आज हुने खेलमा नेपाल जित निकाल्ने रणनीतिका साथ मैदान उत्रने भएको छ । खेलपछि दुवै टोलीका प्रशिक्षकले स्तरअनुसारको खेल नभएको प्रतिक्रिया दिएका थिए । आजको खेल थप रोमाञ्‍चक हुने अपेक्षा गरिएको छ ।

आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिप फुटबलको तयारीस्वरुप यी दुई टोलीले मैत्रीपूर्ण खेल खेलिरहेका हुन् । यस्तै आज हुने दोस्रो मैत्रीपूर्ण खेलमा नेपालका कप्तान किरण चेम्जोङले राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान कायम गर्नेछन् ।

नेपाल र भारतबीच हालसम्म २० खेल भएकोमा १३ पटक भारतले बाजी मारेको छ भने २ खेलमा नेपाल विजयी रहँदा दुवै टोलीले ५ खेल बराबरी खेलेका छन् । विश्व फुटबल महासङ्घको (फिफा) वरियतानुसार भारत १०५ औँ स्थानमा छ भने नेपाल १६८ स्थानमा रहेको छ ।

आज हुने खेलको हिमालयन टेलिभिजन तथा ओएसआर स्पोर्ट्स युट्युब च्यानल र हाम्रो पात्रोबाट प्रत्यक्ष प्रसारण हुने छ । पहिलो मैत्रीपूर्ण खेल जसरी नै यस खेलमा पनि ५१०० दर्शकले मैदानमा गएर खेल हेर्न पाउनेछन् ।

यो पनि पढ्नुहोस्

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : नेपाल र भारत १-१ गोलको बराबरीमा

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : नेपालविरुद्ध भारतले पनि गर्यो १ गोल

भारतविरुद्ध नेपालले गर्यो १ गोल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !