महेन्द्रनगर । एघार वर्षअघि डडेल्धुराको परशुराम नगरपालिका–७ सादनीका नरेन्द्र चुनारा परिवारसहित व्यापार/व्यवसाय गरेर जीविका चलाउने सपना बोकेर कञ्चनपुरको महेन्द्रनगर झर्नुभयो ।
दुई छोरा, एक छोरी र श्रीमतीसहित महेन्द्रनगरमा डेरा गरी बसेका नरेन्द्रले अहिले पनि सामान्य व्यापार गरेर जीविका चलाइरहनुभएको छ । घर छाडेर बसाइँ सरेको दशक नपुग्दै जेठा छोरा सुरेश चुनाराले खेल क्षेत्रमा फड्को मार्दा परिवारमा खुसीको सीमा नै छन् ।
सादनी जोगबुढाको सबै भन्दा विकट गाउँ हो । जहाँ अहिले पनि सडक पूर्वाधारलगायत कुनै पनि सुविधा पुग्न सकेको छैन । “अन्धकार गाउँमा बसेर छोराछोरीको भविष्य कस्तो होला सोचेर महेन्द्रनगर आएको थिए”, रासससित कुरा गर्दै नरेन्द्रले भन्नुभयो, “छोरा सुरेश सुदूरपश्चिमबाट पहिलो पटक कुस्तीमा वल्र्ड च्याम्पियनसिप खेल्ने खबर सुन्दा हर्षित छौं ।”
कुस्तीमा आठ वर्षदेखि सक्रिय भएर लागेका २१ वर्षीय सुरेश मुलुकको प्रतिनिधत्व गर्दै आगामी अक्टोबरमा नर्वेमा हुने वल्र्ड च्याम्पियनसिपमा प्रतिस्पर्धीका रुपमा सहभागी हुदैछन् । हाल काठमाडौँको त्रिभुवन आर्मी क्लबमा आवद्ध सुरेशले ७४ किलो तौल समूहमा वल्र्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने बताउनुभयो ।
“पहिलो चरणमा दुई खेलाडी क्वालिफाइट भएका छौं”, उहाँले भन्नुभयो, “साग खेलपछि पनि नियमित प्रशिक्षणमा रहेकाले नतिजा राम्रै आउनेमा आशावादी छु ।” मेहनती खेलाडीका रुपमा परिचित सुरेशले १३औंँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा काष्य पदक जित्नुभएको थियो ।
उहाँले कुस्तीमा ३४ वर्षपछि नेपाल वल्र्ड च्याम्पियनसिपमा सहभागी हुन थालेको बताउनुभयो । “अरु देशका खेलाडी पनि हामी जस्तै हुन्, उनीहरुको प्रशिक्षणस्तरीय होला आफ्नो ठाउँमा छ”, उहाँले भन्नुभयो, “हामीले पनि आफूलाई कहिल्यै कमजोर सोच्नु हुन्न ।”
आफ्नो उमेर समूहमा राष्ट्रियस्तरका प्रतियोगितामा चार स्वर्ण जितिसकेका सुरेशले खेल जगतबाटै नाम र दाम कमाउन सकिने बताउनुभयो । “बुबाले महेन्द्रनगरमा डेरा गरी जीविका चलाउने गरेकाले परिश्रमलाई खेर जान नदिने अठोटका साथ खेल क्षेत्र रोजेको हुँ”, उहाँले भन्नुभयो, “अझ बाह्य प्रशिक्षण भए अन्तर्राष्ट्रियस्तरबाट पदक ल्याउन कुनै ठूलो कुरा छैन ।
स्कुल पढ्दादेखि नै यहाँस्थित कवर्डहलमा कुस्ती खेल्न थालेका उहाँ खेल प्रदर्शनले नै आर्मी क्लबमा आवद्ध हुनुभएको हो । सुरेशसँगै उहाँकी बहिनी शिवानी पनि तेक्वान्दो खेलकी जुनियरतर्फकी खेलाडी हुनुहुन्छ । “क्लबमा आवद्ध भएर मैले पनि सेनालाई खेलेर राष्ट्रियमा स्वर्ण र सागमा काष्य पदक दिए”, उहाँले भन्नुभयो, “खेलाडी उत्पादन गाउँमुखी हुनुपर्छ ।” उहाँले दीर्घकालीन योजना बनाएर खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने खालका प्याकेज ल्याउनुपर्ने बताउनुभयो ।
“एक महिना बन्द प्रशिक्षणका भरमा खेलाडीबाट पदकको आश गर्नु बेठिक कुरो हो”, उहाँले भन्नुभयो, “खेल क्षेत्रमा लागेकाको दैनिकी चल्ने रोजगारीको पनि ग्यारेन्टी भए यो क्षेत्र झन् फष्टाउने थियो ।” केही वर्षयता मुलुकमै अब्बल देखिएको कञ्चनपुरका कुस्ती खेलाडी राष्ट्रियस्तरमा आफ्नो वर्चश्व जमाउन थालेका छन् । साग खेलकूद प्रतियोगितामा ऐतिहासिक स्वर्ण पदक दिलाउने खेलाडी सङ्गीता धामी पनि कञ्चनपुरकै हुनुहुन्छ ।