१० असार २०८१, सोमबार

सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित


सन्दीप लामिछाने

काठमाडौँ । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उहाँ आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ । अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिनुभएको हो ।

टस जितेर ब्याटिङ गरेको पर्थले २० ओभरमा आठ विकेट गुमाएर १७९ रन बनायो । होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो । होबार्टका लागि लामिछानेले चार ओभरमा २७ रन खर्चिनुभयो ।

उहाँले यसक्रममा एक छक्का र एक चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिनुभयो । लामिछानेले पर्थका ब्याट्सम्यान लियाम लिभिङस्टोनलाई २६ रनमा तथा मिचेल मार्सलाई सात रनमा पेभेलियन फर्काउनुभयो ।

यसअघिका दुई खेलमा उहाँ लगातार विकेटविहीन बन्नुभएको थियो । उहाँले बिग बासमा हालसम्म छ खेलमा छ विकेट लिनुभएको छ । लामिछाने आबद्ध टोली होबार्ट हालसम्म २३ अङ्क जोड्दै लिगको छैटौँ स्थानमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !