७ माघ २०८१, सोमबार

क्रिकेट खेलाडी भण्डारीको शल्यक्रिया


ललितसिंह भण्डारी

काठमाडौँ, १ असोज । सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डा चक्रराज पाण्डेको टोलीले शल्यक्रिया गरेको हो । हाल उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । शल्यक्रियापछि पनि उहाँलाई केही समय अस्पतामै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । भण्डारी खेलमा फर्किन भने लामो समय लाग्नेछ ।

उहाँ गत आइतबार राति कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परि घाइते हुनुभएको थियो । उहाँको कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि सोमबार काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको हो । दुर्घटनामा उहाँको दायाँ खुट्टा र दायाँ हात भाँचिएको थियो । धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको मिनिट्रकले भण्डारीले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटना लगत्तै झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि भण्डारीलाई थप उपचारका लागि धनगढी लगिएको थियो । उहाँलाई राति नै बाँकेको कोहलपुर मेडिकल कलेज पु¥याइएको थियो ।

भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर हुनुहुन्छ । पछिल्लो समय उहाँ नेपाल पुलिस क्लवबाट घरेलु क्रिकेट खेल्दै आउनुभएको थियो । भण्डारी फ्रेन्चाइज लिगका पनि नियमित खेलाडी हुनुहुन्छ । उहाँले सन् २०१७ मा आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरव इमिरेटस् (यूएई) विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गर्नुभएको थियो । भण्डारीले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेल खेल्नुभएको थियो । त्यसअघि उहाँले नपालका लागि विभिन्न उमेर समूहका प्रतियोगिता खेलिसक्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !