काठमाडौँ, २२ भदौ । ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत आइतबार राति भएको खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले किफायती बलिङ गर्नुभयो । सेन्ट लुसिया जोउक्ससितको खेलमा उहाँले उत्कृष्ट खेल प्रदर्शन गर्दै एक विकेट लिनुभयो । यद्यपि समूह चरणको अन्तिम खेलमा सन्दीप आबद्ध जमैका तलावाज भने सेन्ट लुसियासित ११ रनले पराजित भएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको सेन्ट लुसियाले ६ विकेट गुमाएर १४५ रन बनाएको थियो । एक सय ४६ रनको लक्ष्य पछ्याएको जमैकाले भने ९ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । जमैकाका लागि प्रारम्भिक ब्याट्सम्यान ग्लेन फिलिप्सले ४९ रन बनाए पनि अरुको खेल प्रदर्शन निराशाजनक रह्यो । जेमेन ब्ल्याकवुडले २५ तथा निकोलास किटोनले पनि २५ रनको योगदान दिनुभयो । यस्तै चाडविक वाल्टनले १० रन जोड्नुभयो । बलिङतर्फ जाहिर खान र जेवलिन ग्लेनले तीनतीन तथा केसरिक विलियम्सले एक विकेट लिनुभयो ।
यसअघि प्रारम्भमा ब्याटिङ गर्न पुगेको सेन्ट लुसियाका लागि नजिबुल्लाह जादरानले ३५, रहकेस कार्नवालले ३२, रोस्टोन चेसले ३२ तथा मार्क दयालले १३ रन बनाउनुभयो ।
बलिङतर्फ जमैकाका लागि सन्दीप लामिछानेले रखिम कर्नवेलको विकेट लिनुभएको हो । सन्दीपले सो खेलमा चार ओभर बलिङ गर्दै एक मेडन राखेर मात्र २० रन खर्चिनुभयो । सन्दीपले हालसम्म १० खेलमा १२ विकेट लिनुभएको छ । यस्तै जमैकाका लागि सेन्ट लुसियासितको खेलमा मुजिव उर रहमानले २, फिडेल इडवार्ड, भिरासम्मी प्रेमउल, कार्लोस ब्रेथवाइटले एकएक विकेट लिनुभयो ।
जमैकाले अब सेमिफाइनल खेल मङ्गलबार ट्रिबागो नाइट राइडर्ससित खेल्नेछ ।