१४ बैशाख २०८१, शुक्रबार

जातीय, भाषिक र सांस्कृतिक बहुलता नेपाली समाजको मौलिक पहिचान हो : राष्ट्रपति


मेलम्चीको पानी उदघाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उभौलीका शुभ अवसरमा आजै स्वदेश तथा विदेशका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

“जातीय, भाषिक र सांस्कृतिक बहुलता नेपाली समाजको मौलिक पहिचान हो । यो हाम्रो कमजोरी हैन, बरु शक्ति हो । यस प्रकारका चाडपर्वहरूले विविध जातजाति र समुदायबीच आपसी सद्‌भाव¸ सहिष्णुता र बन्धुत्वको भावनालाई अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थपसुदृढ बनाउन टेवा पुर्यातउने विश्वास लिएको छु ”, सन्देशमा भनिएको छ ।

उभौलीले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहयोग र सद्‌भाव अभिवृद्धि गरी सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि राष्ट्रपतिले गरेकी छन् ।

जाडो सकिएर गर्मी शुरु हुने बेला अर्थात् वसन्त ऋतुको आगमनसँगै मानिस, जीवजन्तु तथा पशुपक्षी बेँसीबाट लेकतिर बसाइँ सर्ने समयमा पितृ र प्रकृतिपूजक किराँत समुदायले वैशाखेपूर्णेको दिन उभौली पर्व मनाउँछन् ।

यो समय बालीनाली लगाउने बेलासमेत भएकाले लगाइएको अन्नबाली सप्रियोस्, रोगव्याधि नलागोस्, खडेरी, बाढीपहिरो जस्ता प्राकृतिक विपत्ति नआऊन् भनी भूमिपूजा र पितृपूजा गर्ने परम्परा छ । विशेषगरी पूर्वी पहाड र तराईका जिल्लाका साथै काठमाडौंँ उपत्यकामा बसोबास गर्दैआएका किराँत समुदायले यो पर्वलाई भव्यताका साथ मनाउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !